देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

मुख्यमन्त्री शंकर पोखरेल सवार गाडी लक्षित गरि ढुंगा प्रहार

देशान्तर

बुटवल । प्रदेश ५ का मुख्यमन्त्री शंकर पोखरेल सवार गाडीलाई लक्षित गरेर ढुंगा प्रहार भएको छ । भैरहवाबाट बुटवल आउँदै गरेका मुख्यमन्त्री पोखरेल सवार गाडीमा मणिग्राम, कोटिहवा र शंकरनगर क्षेत्रमा कालो झण्डा प्रदर्शन भएको थियो ।

कडा सुरक्षाबीच भैरहवाबाट बुटवल आएका मुख्यमन्त्री सवार गाडीमा बुटवलको राजमार्ग चौराहानजिक ढुंगा प्रहार भएको हो । मुख्यमन्त्री सवार गाडी र मुख्यमन्त्रीको स्कर्टिङ गर्ने २ वटा गाडीमा क्षति भएको छ । प्रहरीले ढुंगा प्रहार गर्ने केही व्यक्तिलाई पक्राउ गरेको छ ।

प्रदेश ५ सरकारले स्थायी राजधानी सार्ने प्रस्ताव प्रदेश सभामा दर्ता गरेपछि अहिले रुपन्देहीमा आन्दोलन चर्किएको छ । मुख्यमन्त्री पोखरेल शनिबारको बैठकपछि काठमाडौ गएका थिए । काठमाडौँ पुगेर मुख्यमन्त्री पोखरेलले नेकपाका दुवै अध्यक्षसहित महासचिव विष्णु पौडेल र स्थायी कमिटी सदस्य जनार्दन शर्मासँग छलफल गरेका थिए । छलफलमा महासचिव पौडेलले राजधानी दाङ सार्ने पार्टी निर्णयको विरोध गरेको बताइएको छ ।

तर मुख्यमन्त्री पोखरेलले दुवै अध्यक्षको सहमतिपछि राजधानी दाङ सार्ने प्रस्ताव प्रदेश संसदमा दर्ता गरेको बताइएको छ । प्रदेश ५ को राजधानी दाङ सार्ने निर्णयमा रुपन्देही, नवलपरासी, पाल्पा र कपिलवस्तुका सांसदहरुले विरोध गरेका छन् । सरकारले दर्ता गरेको प्रस्तावमाथि असोज १९ गते सोमबार छलफल हुने तालिका रहेको छ ।