देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

बालुवाटार छिर्‍यो कोरोना, प्रधानमन्त्रीको पिसिआर भने नेगेटिभ

देशान्तर

काठमाडौं । प्रधानमन्त्री सरकारी निवास बालुवाटारमा कोरोना संक्रमण फैलिएको छ । प्रधानमन्त्रीका राजनीतिक, परराष्ट्र मामिला र प्रेस सल्लाहकारलाई कोरोना संक्रमण पुष्टि भएको हो ।

स्रोतका अनुसार प्रधानमन्त्रीको सचिवालयमा कार्यरत ६ जनामा कोरोना संक्रमण देखिएको छ तर, प्रधानमन्त्री केपी शर्मा ओलीको रिपोर्ट भने नेगेटिभ आएको छ । प्रधानमन्त्री ओलीसहित प्रधानमन्त्रीकी श्रीमती राधिका शाक्य, चालक धर्मराज पाण्डे, स्वकीय सचिव राजेश वज्राचार्य, दिपेन्द्र दाहालको पनि कोरोना रिपोर्ट नेगेटिभ आएको हो ।

शुक्रबार गरिएको परीक्षणमा प्रधानमन्त्रीका प्रमुख स्वकीय सचिव इन्द्र भण्डारी, प्रमुख राजनीतिक सल्लाहकार विष्णु रिमाल, प्रेस सल्लाहकार सूर्य थापा, परराष्ट्र मामिला सल्लाहकार राजन भट्टराई, फोटोग्राफर राजन काफ्ले र प्रेस विज्ञका एकजना चालकको रिपोर्ट पोजेटिभ आएको हो । प्रधानमन्त्री ओलीका प्रेस विज्ञ रामशरण बजगाईंको रिपोर्ट भने आउन बाँकी रहे पनि उनका चालकको रिपोर्ट भने पोजेटिभ आएको छ ।

बालुवाटारमा खटिएका ६३ सुरक्षाकर्मीमा कोरोना
यसैगरी बालुवाटारमा खटिने ६३ जना सुरक्षाकर्मीमा पनि कोरोना संक्रमण देखिएको छ । यो जनशक्ति नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीको हो । कोरोना संक्रमण देखिएकामध्ये सबभन्दा बढी २८ जना नेपाली सेनाका छन् ।

सैनिक जनसम्पर्क तथा निर्देशनालयका अनुसार दुई दिनको अवधिमा यी सुरक्षाकर्मीलाई कोरोना संक्रमण देखिएको हो । उनीहरूको सम्पर्कमा रहेका अन्यको क्रमशः कन्ट्याक्ट ट्रेसिङ भइरहेको छ । प्रधानमन्त्री निवासमा नेपाली सेनाको एक गुल्म खटिएको छ ।

नेपाल प्रहरीबाट खटिएका १७ जनामा कोरोना संक्रमण देखिएको छ । शुक्रबार र शनिबारको परीक्षण रिपोर्टमा यति जनामा कोरोना संक्रमण देखिएको प्रहरी प्रवक्ता कुबेर कडायतले बताए । प्रधानमन्त्री निवास सुरक्षामा प्रहरी नायब उपरीक्षकको नेतृत्वमा नेपाल प्रहरीको टोली खटिएको छ ।

यस्तै, सशस्त्र प्रहरीका १८ जनामा कोरोना संक्रमण देखिएको छ । शुक्रबारको परीक्षणमा यतिको संख्यामा सशस्त्र प्रहरीलाई कोरोना संक्रमण देखिएको प्रवक्ता सशस्त्र प्रहरी नायब महानिरीक्षक राजु अर्यालले बताए । प्रहरी निरीक्षकको नेतृत्वमा सशस्त्र प्रहरी प्रधानमन्त्री निवास सुरक्षामा छ ।

पछिल्लो समय उपत्यकामा कोरोना संक्रमण अत्यधिक बढ्दै जाँदा प्रधानमन्त्री ओली सहित सचिवालयका सदस्यहरूले शुक्रबार परीक्षणका लागि स्वाब दिएका थिए ।