देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

वाममोर्चालाई ब्युँताएर नेकपा माले आन्दोलनमा

देशान्तर

काठमाडौं । नेकपा मालेले सरकारविरुद्ध आन्दोलन गर्ने भएको छ । काठमाडौंमा उपलव्ध केन्द्रीय सदस्यहरुको पार्टी कार्यालय रातोपुलमा बसेको बैठकले वर्तमान सरकारले जनजीविकाका सवालमा काम गर्न नसेकेको भन्दै सरकारविरुद्ध आन्दोलनमा जाने निर्णय गरेको हो ।

मालेले नौ वटा वामघटकसँग मिलेर आन्दोलन गर्ने निर्णय गरेको एक केन्द्रीय सदस्यले देशान्तरलाई जानकारी दिए । संयुक्त आन्दोलनलाई अघि बढाउदै लैजान बिगतमा झै जनवाद पक्षधरहरु बीच पुनः साझा एजेन्डामा छलफल गर्ने र आन्दोलनलाई अघि बढाउन नेकपा माओवादी क्रान्तिकारी, जन गणतान्त्रिक मोर्चा सिपि गजुरेल, ऋषि कट्टेल नेतृत्वको नेकपालगायतसँग सहकार्य गरेर आन्दोलन गर्ने निर्णय गरिएको छ ।

स्थायी कमिटि सदस्य डम्बर श्रेष्ठको अध्यक्षतामा बसेको बैठकमा महासचिव सिपी मैनालीले पछिल्लो राजनीतिक घटनाक्रम, कोरोना पिडीत जनताको समस्या र महामारीमा समेत सरकार भ्रष्टाचारमा लिप्त रहेको धारणा राखेका थिए ।

राष्ट्रभक्त प्रगतिशिलहरुलाई समेत समेटेर लोकतान्त्रिक प्रगतिशील आन्दोलन समेत आवश्यक रहेको र त्यो आन्दोलन नेपालमुखी र जनमुखी आन्दोलन गर्ने र त्यसबाट निकास निष्कने मालेका महासचिव मैनालीले बैठकमा बताएका थिए ।

सरकार गलत क्रियाकलापमा अघि बढेको निष्कर्ष निकाल्दै मालेले भण्डाफोर अभियान शुरु गर्ने निर्णय गरेको हो । यसैगरी एमसीसी राष्ट्रघाति भएको भन्दै यसकाविरुद्ध पनि अभियान शुरु गर्ने केन्द्रीय सदस्य शंकर पाेखरेलले बताए ।

आवरणमा कम्युनिष्टको सरकार देखिए पनि अन्तर्यमा सामन्त र विदेशी दलालहरुकै पक्ष पाेषक भएकाे र पछिल्ला दिनहरुमा सरकारले गरेका कामले यसलाई पुष्टि गरेकाे पनि केन्द्रीय सदस्य पाेखरेलले बताए ।

बैठकले कोरोना र बाढी पहिरो तथा सवारी दुर्घटनाका कारण मृत्यु भएकाहरुलाई श्रद्धाञ्जली पनि व्यक्त गरेको छ । बैठकमा केन्द्रीय कार्यालय सचिव महेन्द्र शाह, पार्टी प्रवक्त कुमार वेलवासे, केन्द्रीय सदस्य पोखरेल र मजदुर नेता केदार गिरीले धारणा राखेका थिए ।