देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

युवाको ज्ञान, सीप र क्षमतालाई सरकारले उपयोग गर्छ : प्रधानमन्त्री

देशान्तर

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले रोजगारीका लागि युवा विदेशिनुपर्ने बाध्यताको अन्त्य गरिने बताएका छन् । राष्ट्रिय युवा परिषद्ले आज यहाँ अन्तर्राष्ट्रिय युवा दिवसका अवसरमा आयोजना गरेको भर्चुअल कार्यक्रमलाई सम्बोधन गर्दै उनले केही वर्षभित्र रोजगारीका लागि विदेशिनुपर्ने बाध्यताको अन्त्यका लागि सरकारले रणनीति बनाइरहेको बताए।

“छनोटका हिसाबले बाहिर जाने कुरा बैग्ले हो । देश निर्माण गर्ने शक्ति बाहिर जाने खुशीको कुरा होइन”, उनले भने, “तर बाध्यताका हिसाबले बाहिर जाने अन्त्य गर्ने रणनीतिका साथ काम गरिरहेका छौँ । चाँडै नै ठोस योजना ल्याउने छौँ ।” उनले सीप र जोसजाँगर भएको बेला रोजगारीका लागि विदेशिनुपर्ने बाध्यता रहेको उल्लेख गर्दै युवालाई स्वदेशमा नै पर्याप्त रोजगारीका अवसर सिर्जना गरिने बताए। उनले युवाको विकास, रोजगारीको अवसर, ज्ञान, सीप र क्षमता देशभित्र नै भरपुर प्रयोग गरेर मुलुकलाई अगाडि बढाउने बताए ।

उनले युवा देश विकासको सहयात्री भएकाले उनीहरुको जुन क्षेत्रमा रुचि र ज्ञान छ सोही क्षेत्रमा उपयोग गरिनेसमेत बताए । “नवप्रवर्तनकारी, ज्ञान, सीप भएको सिर्जनशील समयमा युवाले बाहिर गएर बिताउन नपरोस्”, उनले भने, “आफ्नै देशको विकासमा श्रम खर्च गर्न सकियोस् । अनिमात्र नेपाल आत्मनिर्भर, विकसित देश बन्नेछ ।”

प्रधानमन्त्री ओलीले देश विकासका आधारमा युवालाई प्रयोग गर्न नसकिएको उल्लेख गर्दै अब खोज अनुसन्धानमा नयाँ युवा पिँढीलाई अगाडि बढाइनेसमेत धारणा राखे । उनले युवालाई निराश नबनाई उनीहरुले देखेका सुन्दर सपना साकार पार्न सरकारले सहयोग गर्ने उल्लेख गरे । उनले कोभिड–१९ महामारीलाई पराजित गरी दिगो विकासको लक्ष्यलाई पूरा गर्न सरकार लागिपरेको पनि बताए । प्रधानमन्त्री ओलीले ‘समृद्ध नेपाल र सुखी नेपाली’ राष्ट्रिय आकाङ्क्षा पूरा गर्नका लागि युवा पिँढी नै आवश्यक रहेको बताए । उनले युवालाई कोभिड–१९ को रोकथाम र नियन्त्रण गर्न र सबैलाई स्वास्थ्यका मापदण्ड पालना गराउन आग्रह गरे ।

कार्यक्रममा युवा तथा खेलकूदमन्त्री जगतबहादुर विश्वकर्माले युवामा भएको ज्ञान र सीपलाई श्रमसँग जोडेर उत्पादनशील बनाइने बताए । उनले युवा उद्यमशीलता भएमात्र मुलुकको समृद्धि हुने भन्दै युवालाई स्वरोजगार र उद्यमीलता बनाउने अभियानमा सरकार रहेको बताए । उनले आफ्नो टोल छिमेकमा युवा सहभागी भएर कोभिड–१९ रोकथाम र नियन्त्रणमा भूमिका खेल्नुपर्ने बताए ।