देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

कांग्रेसले भन्यो- ‘नेकपाको विवाद नजिकबाट नियालेका छौं, भूमिका खोज्न संस्कारले दिंदैन’

देशान्तर

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) भित्रको विवादलाई नजिकबाट नियालिरहेको प्रतिक्रिया दिएको छ । आइतबार पार्टी कार्यालय सानेपामा बसेको पार्टी केन्द्रीय कार्य समितिको बैठकका बारेमा जानकारी गराउँदै कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले नेकपा भित्रको विवादलाई नजिकबाट नियालिरहे पनि आफ्नो संस्कारले सरकारमा भूमिका खोज्न नमिल्ने प्रतिक्रिया दिए ।

प्रतिपक्षी दलको नाताले सत्तारुढ दलभित्रका गतिविधिहरु नियाल्ने कर्तव्य भएपनि कुनैपनि प्रकारको भूमिका खोज्न जिम्मेवारी र संस्कारले नदिने प्रवत्तन शर्माको भनाई छ । ‘पार्टी एकता गर्ने, पार्टी विभाजन गर्ने, प्रधानमन्त्रीलाई निरन्तरता दिने, प्रधानमन्त्रीलाई विस्थापन गर्ने उहाँहरुको घरायसी कुरा हो । हामी यो विषयसँग निरपेक्ष छौं । तर यसलाई नजिकबाट हेर्ने जिम्मेवार दलको कर्तव्य हुन्छ । यो विषयमा भूमिका खोज्न भने हाम्रो संस्कारले, जिम्मेवारीले दिंदैन । त्यो कुरामा अहिले छैनौं,’ प्रवक्ता शर्माले भने ।

पार्टी सभापति शेरबहादुर देउवाले प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेटघाट गरेको प्रसंगमा प्रवक्ता शर्माले त्यो स्वाभाविक भएको बताए । भेटमा प्रधानमन्त्रीले संसदमा भएका विषयवस्तुको चर्चा गरेको र विधेयकहरूको विषयमा आफ्नो धारणा राखेको जानकारी उनले गराए । पार्टी कार्यालय सानेपामा बसिरहेको केन्द्रीय कार्य समितिको बैठकमा महाधिवेशनको कार्यतालिकालाई अन्तिम रुप दिने, नेकपाभित्रको विवाद र सभापति देउवासँग प्रधानमन्त्रीको भेटघाट लगायतका विषयमा छफफल भइरहेको छ ।

देउवाको ब्रिफिङ
सभापति शेरबहादुर देउवा र नेकपा अध्यक्ष केपी शर्मा ओलीबीच वार्ताबारे केन्द्रीय समितिको बैठकमा ब्रिफिङ भएको छ । सभापति शेरबहादुर देउवाले प्रधानमन्त्री ओली र नेकपा संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङसँग भएको छलफल भएको स्वीकार्दै यसबारे सदस्यहरुलाई ब्रिफिङ गरेका हुन् ।

उनले नेकपाको आन्तरिक विवादमा कांग्रेसलाई खासै रुचि नभएको स्पस्ट पार्दै नेकपाको कुनै पक्षसँग मिलेर सरकार बनाउने बारे कुनै डिल नभएको बताए । आइतबारको काँग्रेस केन्द्रीय समिति बैठकमा वरिष्ठ नेता रामचन्द्र पौडेलले ओलीसँगको भेट र सत्ता सहकार्यबारे बाहिर भएको चर्चाबारे स्पस्ट पार्न देउवालाई आग्रह गरेका थिए ।

स्रोतका अनुसार असार १७ गते प्रधानमन्त्री ओली र देउवाबीचको भेट वार्ताको वातावरण केन्द्रीय सदस्य डा. मिनेन्द्र रिजालले मिलाएका थिए । आइतबार बिहान पनि देउवासँग छलफल गर्न ओलीले संसदीय दलका उपनेता सुवास नेम्वाङलाई पठाएका थिए । ओलीले सहकार्य र सहयोगका लागि अनौपचारिक प्रस्ताव पठाएको खुलासा बैठकमा रिजालले गरेका थिए ।

सभापति देउवाले नेकपा नेम्वाङसँग आइतबार संवैधानिक अंगका रिक्त पद, एमसीसी, नागरिकता विधेयकलगायतका समसामयिक मुद्दामा छलफल भएको पनि जानकारी बैठकलाई दिएका छन् । बैठकमा केन्द्रीय सदस्य डा. रिजालले उपनेता नेम्वाङसँग भएको भेटवार्ता बारेमा थप स्पस्ट पारेका थिए ।