देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

राष्ट्रियसभा : यातायात सेवा प्रभावकारी बनाउन आग्रह

देशान्तर

काठमाडौ । राष्ट्रियसभाका सदस्यले कोभिड–१९ का कारण मुलुक तीन महिनादेखि बन्दाबन्दीको अवस्थामा रही जनजीवन प्रभावित हुँदै गएकाले आवश्यक सुरक्षा मापदण्ड अपनाई सेवा थप प्रभावकारी बनाउन सरकारको ध्यानाकर्षण गराएका छन् । बन्दाबन्दी खुकुलो भए पनि अझै यातायात सेवालाई थप व्यवस्थित गर्नुपर्ने आवश्यकता उनीहरुले औँल्याए । विशेष समयमा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का उदया शर्मा पौडेलले कोरोना रोग नियन्त्रणमा थप प्रभावकारी कदम चाल्न आग्रह गरे ।

उनले यातायात क्षेत्रमा पासकै कारण भएको झण्झट समाधान गर्नसमेत आग्रह गरे। राम्ररी यातायात नचल्दा सर्वसाधारणमाथि जोखिम बढिरहेको र मजदूरको रोजीरोटी गुम्ने खतरा आएको उनले बताए। बन्दाबन्दीले शिक्षा क्षेत्र नराम्ररी प्रभावित भएको अवस्थामा एउटा निकास दिनुपर्ने आवश्यकता उनले औँल्याए ।

नेकपाकै ठगेन्द्रप्रकाश पुरीले बन्दाबन्दीका कारण सर्वोच्च र मातहतका अदालतबाट सीमित सेवा प्रवाह भइरहेकाले फिरादपत्र दिन पाउनेलगायत आवश्यक सेवा सञ्चालन गर्न माग गरे। सोही पार्टीका पर्शुराम मेघी गुरुङले वर्तमान समयमा प्रमुख चुनौतीका रुपमा रहेको भ्रष्टाचार नियन्त्रण नगरे मुलुकको प्रगति र उन्नति सम्भव नहुने जिकिर गरे। उनले कानूनी शासन नै आधुनिक लोकतन्त्र भएकाले सदाचारयुक्त कानून निर्माण गर्ने प्रमुख दायित्व विधायकको हो भने।

नेकपाकै सुमनराज प्याकुरेलले नेकपाका कार्यकर्तामाथि शृङ्खलाबद्ध आक्रमण भइरहेको र त्यसविरुद्ध उजुरी गर्दा प्रहरीमा जाहेरी नलिने अवस्था सिर्जना भएको छ भन्दै सदनमार्फत गृह मन्त्रालयको ध्यानाकर्षण गराए ।

बलात्कार र विभेद अन्त्य गर्न माग

नेपाली काँग्रेसका जीतेन्द्रनारायण देवले जातीय छुवाछूतको अन्त्य गर्ने कुरा संविधानको मौलिक हकमा स्पष्ट व्यवस्था रहे पनि दलितको अधिकार सुनिश्चित हुन नसकेको तर्फ ध्यानाकर्षण गराए । उनले बलात्कारका घटना बढ्दो क्रममा रहेको र त्यसमा पनि दलित बढी पीडित बनेको उल्लेख गरे।

“दुई वर्षमा चार हजार ९४० महिलाविरुद्धका घटना भएका छन्, त्यसमा तीन हजार ५०० भन्दा बढी जबर्जस्ती करणीका घटना भए, २६ वटा घटना बलात्कारपछि हत्या भएको र त्यसमा ३५ प्रतिशत दलित परेका छन्”, सांसद देवले भने, “यस्तो कारुणिक र क्रुर किसिमको आक्रमण दलितमाथि भएको छ, यसप्रति गम्भीर हुनुपर्छ ।”

उनले दलितलाई आर्थिक रुपले मजबुत बनाउन तथा गरीब परिवारको आर्थिक अवस्था सुधार गर्नका लागि कार्यक्रम ल्याउनसमेत माग गरे । जनता समाजवादी पार्टीका मृगेन्द्रकुमारसिंह यादवले मधेशी तथा दलित समुदायमा शोषण हुनेक्रम नरोकिएकामा चिन्ता प्रकट गरे । सोही पार्टीका प्रमिला कुमारीले सत्याग्रहमा बसेको व्यक्तिको मागलाई सम्बोधन गरी तिनको जीवनको रक्षा गर्न आग्रह गरे ।