देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

राजपा-समाजवादीको संविधान संशोधन विधेयक दर्ता

देशान्तर

काठमाडौं । राष्ट्रिय जनता पार्टी र समाजवादी पार्टीको नेपालको संविधान (दोस्रो संशोधन) विधेयक आज संघीय संसद सचिवालयमा दर्ता भएको छ ।

यो विधेयक गैरसरकारी विधेयकको रूपमा दर्ता भएको हो । संविधान संशोधनको प्रस्तुतकर्ता राजपाका लक्ष्मणलाल कर्ण र समाजवादीका राजेन्द्रप्रसाद श्रेष्ठ रहेको संघीय संसद विधेयक शाखा प्रमुख नारायणप्रसाद ढकालले जानकारी दिएका छन् ।

संविधान संशोधन विधेयक दर्ता गर्नका लागि राजपाका अध्यक्ष मण्डलका सदस्य महिन्द्रराय यादव लगायत नेताहरू आज संसद सचिवालय सिंहदरबार पुगेका थिए ।

राजपा–समाजवादी पार्टीले एकता घोषणा गरेर जनता समाजवादी पार्टी गठन गर्ने घोषणा गरेका छन् । त्यसले कानुनी मान्यता नपाइसकेकाले दुई दलका करूपमा उक्त विधेयक दर्ता भएको हो ।

यसअघि शुक्रबार राजपाले एकल रूपमा संविधान संशोधन विधेयक संसदमा दर्ता गराउन खोजेको थियो । उक्त विधेयक संसद सचिवालयले अध्ययन गर्ने भनेपछि राजपाले फिर्ता लिएर समाजवादीसँग मिलेर नयाँ विधेयक लिएको थियो ।

राजपाले दर्ता गराउन खोजेको विधेयकमा विदेशी महिलाले नेपाली नागरिकसँग विवाह गरे लगत्तै नेपालको अंगीकृत नागरिकता प्राप्त गर्ने व्यवस्था हुनुपर्ने थियो ।

त्यस्तै, राष्ट्रिय सभामा हरेक प्रदेशबाट ३–३ जनाको सिट संरक्षित गरेर अन्य सांसद जनसंख्याको आधारमा निर्वाचित हुनुपर्ने, नेपाली बाहेकका भाषालाई पनि संविधानको अनुसूचीमा राख्नुपर्ने, प्रदेशको सिमांकन र संघीयताबारे निर्णय लिनका लागि संवैधानिक संयन्त्र गठन गर्नुपर्ने राजपाको संविधान संशोधन विधेयकमा थियो ।