देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

संकटमा जिम्मेवारीबाट पन्छिदै बीरगंजका मेयर

देशान्तर

वीरगंज । कोभिडको यो महामारीलाई वीरगंज महानगरपालिकाका नगरप्रमुख बिजय कुमार सरावगीले पैसा कमाउने अवसरको रुपमा लिएको खुलासा भएको छ ।

हिजो पोखरिया नगरपालिकाको वडा नं. ६ मा १ र वडा नं. ९ मा ३ गरी भारतको हरियाणा र दिल्लीबाट आएका मध्ये ४ जना व्यक्तिमा कोरोना संक्रमित भएको पुष्टि भएपछि मेयर बिजय कुमार सरावगीले बिहिबार पोखरिया नगरपालिकाका मेयर दिपनारायण रौनियारलाई फोन गरी धम्काएका छन् ।

मेयर सरावगीले हिजो बेलुका पोखरिया नगरपालिकाका मेयर दिपनारायण रौनियारलाई फोन गरी अब म आफ्नो महानगरपालिकाको मान्छेलाई मात्र राख्छु सबैलाई पाल्न सक्दिन् भने । मेयर सरावगीले ७५ जना डाक्टरलाई खान बस्ने व्यवस्था मैले नै गरेको छु । प्रत्येक दिन १ लाख ५० हजारको खर्च छ । प्रत्येक महिना ४५ लाख डाक्टरमा कोभिड अस्पताल संचालनमा २५ लाख र हाबीजाबीमा १०–२० लाख खर्च भइरहेको छ । महिनाको टोटल ८० देखि ९० लाखको खर्च छ । म सधै भिख मागेर पाल्न सक्दिन् । गण्डक अस्पतालमा बनेको अस्थायी कोभिड अस्पताल तथा सिद्धार्थ स्कूलको क्वारेन्टाइनको सम्पूर्ण खर्च मैले नै व्यवहोरी राखेको छु । छिपहरमाई र जगरनाथपुर लगायत ६ गाउँपालिकाको मान्छेलाई पालेर पठाएकै छु । म पहिला पनि टाउनहलमा मिटिङ्ग गरेर, चिठ्ठी पठाएर र व्यक्तिगत रुपमा पनि फोन गरेर भनेकै थिए, कसैले पनि लेनदेन गरेन । ६५ दिनदेखि मैले सबैलाई पालेको थिए । अब पाल्न नसक्ने भन्दै जुन–जुन गाउँपालिकाले सहयोग गर्छ त्यहाँको मान्छे यहाँ बस्छन्, नभए म यहाँ राख्दिन् । तपाई आफ्नो मान्छे लिन शुक्रबार एम्बुलेन्स पठाउनु होला, नभए सेनाको एम्बुलेन्समा म हालेर पठाइदिन्छु ।

पोखरिया नगरपालिकाका मेयर रौनियारले कुन–कुन गाउँपालिकाले सहयोग गर्‍यो भनेर प्रतिप्रश्न गर्दा मेरो मान्छे गोबिन्द देवकोटालाई थाहा छ, उनले नै डिल गरिरहेका छन् । दुईवटा गाउँपालिकाबाट २५/२५ लाख रुपैयाँ दिने सहमति भएको मेयर सरावगीले बताए ।

यस सन्दर्भमा नारायणी अस्थायी कोभिड अस्पतालका प्रमुख डा. उदयनारायण सिंहसँग बुझ्दा उनले नागरिक–नागरिक बीच आफुहरुले विभेद नगर्ने भन्दै हामी रोगीसँग समान व्यवहार गर्ने बताए । उनले अहिले हाम्रो अस्पतालमा जुम्लाका नागरिकलाई पनि राखेर उपचार गरिरहेको बताउँदै हिजो बेलुका मेयर बिजय सरावगीले आफूलाई पनि फोन गरी पोखरियाका संक्रमितहरुलाई नराख्न दबाब दिएको बताए ।

मेयर हुनुभन्दा अगाडि बाबा रामदेवको बाराको प्रसौनीमा पतंजलीको उद्योग उद्घाटन गर्ने कार्यक्रम तय भएको थियो । सोही मौका छोपी सरावगीले वीरगंजमा योग शिविर संचालनको नाउँमा व्यापक चन्दा उठाए । यसैगरी मेयर भइसकेपछि अश्वमेध यज्ञको आयोजना गरे । ति दुवै कार्यक्रमको हिसाब–किताब आजसम्म वीरगंजाबासी समक्ष आएको छैन । यो महामारीलाई जित्न सबै मिलेर एकजुट हुने बेलामा अब आगो लाग्यो भने कसैले दमकल लिएर आगो निभाउन नआउने मेयर सरावगीको भनाई कति उचित छ यसको मुल्यांकन नगरबासीहरुले गर्ने नै छन् । स्मरण रहोस सरावगीले आफ्नो राजनीतिको शुरुवात पोखरियामा आयोजित कार्यक्रमबाट नै गरेका थिए ।