देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

रात्रिकालीन सम्पदा यात्रालाई विस्तार गरिने

देशान्तर

काठमाडौं । सरकारले भक्तपुरबाट थालनी गरिएको रात्रिकालीन सम्पदा यात्रालाई उपत्यकाको अन्य शहरमा विस्तार गर्ने भएको छ । काठमाडौँको मौलिक संस्कृति र सम्पदाको जगेर्ना गर्दै पर्यटन प्रवद्र्धन गर्न उपत्यकाको अन्य शहरमा यसरी रात्रिकालीन सम्पदा यात्रा विस्तार गर्न लागिएको हो ।

सङ्घीय संसद्को संयुक्त बैठकमा आज आगामी आवको बजेट प्रस्तुत गर्दै अर्थमन्त्री डा युवराज खतिवडाले राष्ट्रिय संस्कृति सङ्ग्रहालय कीर्तिपुरको निर्माण कार्य अघि बढाइने बताएका छन् । उनका अनुसार सरकारले उपयुक्त स्थानमा राष्ट्रियस्तरका बृहत् शहीद पार्क निर्माण शुरु गर्ने तथा विश्वसम्पदा सूचीमा परेको सम्पदाको संरक्षण र सम्वद्र्धन गर्नेछ ।

सरकारले बृहत्तर लुम्बिनी क्षेत्रको गुरुयोजना तथा रामग्राम गुरुयोजना कार्यान्वयनमा ल्याउने भएको छ । यस्तै आवमा लुम्बिनीमा निर्माणाधीन पाँच हजार क्षमताको ध्यान केन्द्र तथा सभाहलको निर्माण सम्पन्न गरिने उनले बजेटमा उल्लेख गरेका छन् ।

सरकारले आगामी वर्ष तिलौराकोटलाई विश्व सम्पदा सूचीमा समावेश गर्ने प्रक्रिया अघि बढाउने भएको छ । जानकी मन्दिर क्षेत्र र मिथिला संस्कृतिको संरक्षण र विकासका लागि गुरुयोजना तर्जुमा गरी कार्यान्वयन गरिने जनाइएको छ ।

देवघाट, पाथीभरा, रुरु, खप्तड क्षेत्र, बराह क्षेत्र, काँक्रेविहार, हलेसी गौरीशङ्कर लगायतको धार्मिक क्षेत्रको विकासका लागि आवश्यक रकम विनियोजन गरिएको अर्थमन्त्री डा खतिवडाले बताए । रामायण परिपथ निर्माणको काम शुरुआत गर्न तथा अमूर्त सांस्कृतिक सम्पदाको जगेर्नाका लागि राष्ट्रिय अभिलेख पुस्तिका तयार गर्नसमेत बजेट व्यवस्था गरिएको छ ।

साहित्य कला, सङ्गीत क्षेत्रको उत्थान तथा विकासका साथै सबै समुदायको परम्परागत सीप र सांस्कृतिक मूल्यमान्यताको संरक्षण तथा सम्वद्र्धन गर्ने कार्यको सञ्चालनका लागि नेपाल प्रज्ञा– प्रतिष्ठान, नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठान तथा नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा–प्रतिष्ठानका लागि आवश्यक बजेट व्यवस्था गरिएको बजेटमा उल्लेख गरिएको छ ।