देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

विदेशमा आठ नेपालीको कोरोनाबाट मृत्यु, १ सय बढी संक्रमित

देशान्तर

काठमाडौं । रोजगारी तथा अध्ययनका लागि विभिन्न देशमा पुगेका एक सय भन्दा बढी नेपालीमा कोरोना संक्रमण देखिएको छ । हालसम्म विदेशमा रहेका ८ जना नेपालीको कोरोनाका कारण ज्यान गएको छ ।

युएईमा १, बेलायतमा २ र अमेरिकामा ५ नेपालीको ज्यान गएको छ । नेपाली दूतावासहरुले दिएको जानकारीअनुसार विभिन्न १४ देशमा रहेका संक्रमित नेपालीको संख्या एक सय नाघेको हो । सबैभन्दा धेरै नेपाली अमेरिकामा संक्रमित भएका छन् । त्यहाँस्थित नेपाली दूतावासको जानकारीअनुसार मंगलबारसम्ममा ३२ जना नेपालीमा संक्रमण देखिएको छ ।

तर बिरामीको जानकारी गोप्य राख्ने अमेरिकाको नीतिका कारण धेरै नेपालीको संख्या छुटेको दूतावासको अनुमान छ । यो संख्या नेपाली दूतावासले पत्ता लगाएका संक्रमितको मात्रै हो । संक्रमितको विभिन्न अस्पतालमा र कतिपयको घरमै उपचार भइरहेको छ । अमेरिकामा हालसम्म संक्रमितको संख्या ४ लाख नाघेको छ । मृतकको संख्या बुधबार बिहानसम्ममा १२ हजार ८ सय ५७ पुगेको छ ।

अमेरिकापछि बहराइनमा नेपाली संक्रमितको संख्या धेरै छ । त्यहाँ मंगलबारसम्ममा १२ जना नेपालीमा कोरोना संक्रमण देखिएको छ । युएई र पोर्चुगलमा ११–११ जना नेपाली संक्रमित छन् । बेलायतमा १० र अस्ट्रेलियामा रहेका ८ नेपालीमा कोरोना संक्रमण पुष्टि भएको छ । स्विट्जरल्याण्डमा ५ र साउदी अरबमा ४ जना नेपालीमा कोरोना देखिएको छ ।

कुवेतमा पनि दुई जनामा कोराना संक्रमण देखिएको छ । हङकङ, जापान, मलेसिया र इजरायलमा पनि एक एक जना नेपालीमा कोरोना देखिएको छ । चार लाख बढी कार्यरत रहेको कतारले भने कोरोना संक्रमितको संख्या देशगत उपलब्ध नगराएको दूतावासले जनाएको छ ।