देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

लकडाउनको पालना गरौं, सामाजिक दूरी कायम राखौं : सभापति देउवा

देशान्तर

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सरकारले घोषणा गरेको लकडाउनको पालना गर्न र सामाजिक दूरी कायम गर्न अपिल गरेका छन् ।

विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरस (कोभिड-१९) को संक्रमणबाट जोगिन सरकारले लागू गरेका आदेशहरूको पालना गर्न र सामाजिक दूरी कायम गर्न सम्पूर्ण नेपालीलाई अपिल गरेका हुन् ।

न्युज एजेन्सी नेपालसँगको कुराकानीमा सभापति देउवाले सीमापारि अलपत्र नेपालीको उद्धार गरी क्वारेन्टाइनमा राख्न सरकारलाई आग्रह पनि गरेका छन् । सरकारलाई पारदर्शी रूपमा स्वास्थ्य सामग्रीको खरिद गर्न र कति दिन लकडाउन गर्नुपर्ने हो त्यसको अध्ययन गरी अगाडि बढ्न पनि देउवाले आग्रह गरेका छन् । सरकारले आशंका लागेका सबै नागरिकको परीक्षण गर्ने व्यवस्था मिलाउन तत्काल काम गर्नुपर्नेमा देउवाको जोड थियो ।

स्वास्थ्यकर्मी, सुरक्षाकर्मी र सञ्चारकर्मीहरूलाई समेत उच्च सतर्कता अपनाएर काम गर्न उनले आग्रह गरे । यस्तै नेपाली कांग्रेसका सम्पूर्ण सदस्य एवं कार्यकर्तालाई उच्च सतर्कताका साथ प्रचार–प्रसारमा लाग्न र जनतामा सचेतना फैलाउन निर्देशन पनि दिए ।

उनले विदेशमा रहेका नेपाली नागरिकलाई उच्च सतर्कताका साथ स्वास्थ्यको ख्याल गर्नसमेत अपिल गरेका छन् । सभापति देउवाले विदेशमा कोरोना संक्रमणबाट भएको नेपालीहरूको मृत्युप्रति दुःख व्यक्त गर्दै मृतकका परिवारजनमा हार्दिक समवेदना प्रकट गरेका छन् ।