देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

काँग्रेस जिल्ला सभापतिबाट पत्रकारलाई धम्की

देशान्तर

समाचार लेखेको विषयलाई लिएर नेपाली काँग्रेस खोटाङका सभापति नरेशकुमार श्रेष्ठले पत्रकारलाई धम्क्याएको प्रति नेपाल पत्रकार महासङ्घ, खोटाङ शाखाले आपत्ति जनाएको छ । क्वारेन्टाइनमा नागरिक राख्न काँग्रेस सभापति श्रेष्ठको असहयोगबारे समाचार प्रकाशन भएको विषयमा श्रेष्ठले पत्रकार उत्तम चौलागाईंलाई ज्यान मार्ने धम्की दिएको शाखाले जनाएको छ ।

समाचारप्रति चित्त नबुझे खण्डन गर्ने वा त्यसको कानूनी उपचार खोज्ने वैधानिक विधि र पद्धति हुँदाहुँदै पत्रकार चौलागाईंलाई सभापति श्रेष्ठले धम्क्याएको शाखाले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । कोरोना भाइरसबाट बच्नुपर्ने यस्तो विषम परिस्थितिमा पनि ज्यानको पर्वाह नगरी समाचार लेख्ने पत्रकारलाई प्रोत्साहित गर्नुको सट्टा असुरक्षा महसुस हुने गरी धम्क्याउनु सिङ्गो पत्रकारिता जगत्का लागि दुखद् विषय भएको शाखाको ठहर छ ।

शाखाका अध्यक्ष दमन राईले जारी गरेको विज्ञप्तिमा भनिएको छ, “यो जिम्मेवार व्यक्तिबाट अपेक्षा गर्न सकिने व्यवहार पटक्कै होइन । तसर्थ संविधानले ग्यारेन्टी गरेको पूर्ण प्रेस स्वतन्त्रताको रक्षा गर्दै निर्वाध र स्वतन्त्रतापूर्वक पत्रकारिता गर्ने वातावरण बनाउन सरकार तथा सम्बद्ध पक्षको ध्यानाकर्षण गराउँछौँ । साथै पत्रकार चौलागार्इंको सुरक्षाका लागि सम्बन्धित पक्षसँग जोडदार माग गर्दछौँ ।”

सभापति श्रेष्ठले पत्रकार चौलागार्इंलाई समाचारको विषयलाई लिएर “ पैसामा बिकेर समाचार किन लेखेको रु होस् गर्नु ज्यान पनि जान सक्छ ।” भनी धम्क्याएको राईको विज्ञप्तिमा उल्लेख छ । सभापति श्रेष्ठले फोनमार्फत धम्क्याएको अडियो रेकर्ड आफूसँग सुरक्षित रहेको पत्रकार चौलागार्इंले बताउनुभयो ।

हलेसी तुवाचुङ नगरपालिका–५ दुर्छिम स्वास्थ्यचौकीको क्वारेन्टाइनमा कोरोना भाइरसको सङ्क्रमण भएको आशङ्का गरिएका व्यक्तिलाई राख्ने क्रममा सभापति श्रेष्ठले अवरोध गर्नुभएको थियो । श्रेष्ठको असहयोग र अभिव्यक्तिप्रति काँग्रेसकै भातृ सङ्गठनले समेत विरोध जनाएका छन् । बिरामीलाई क्वारेन्टाइनमा राख्न नदिन हलेसी तुवाचुङ नगरपालिकाका नगरप्रमुख इवन राईलाई दबाब दिएको भन्दै काँग्रेसकै १० भातृ सङ्गठनले सोमबार विज्ञप्तिमार्फत विरोध जनाएका थिए ।

पत्रकार चौलागाईं नेपाल प्रेस युनियन खोटाङका अध्यक्षसमेत हुन् । कान्तिपुर टेलिभिजनका खोटाङ संवाददाता चौलागाई प्रभाव न्यूज डटकमका प्रबन्धक÷सम्पादक पनि हुन् । सभापति श्रेष्ठले भने सो विषय पार्टीभित्रको आन्तरिक सवाल भएको र आफूलाई बदनाम गरिएको जनाए । सभापति श्रेष्ठले यसअघि दिक्तेलस्थित माउण्ट एभरेष्ट बोर्डिङ स्कूलमा क्वारेन्टाइन नबनाउन दबाब दिएका थिए ।