देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

लकडाउन उल्लंघन रोक्न खोज्दा कांग्रेस नेतामाथि छुरा प्रहार

देशान्तर

विराटनगर । लकडाउन’ उलंघन रोक्न खोज्दा मोरङको पथरीशनिश्चरे नगरपालिका–१ मा नेपाली कांग्रेसका स्थानीय नेतामाथि छुरा प्रहार भएको छ ।

कांग्रेसका पूर्व क्षेत्रीय सदस्य ६५ वर्षीय दिलिप तामाङमाथि शुक्रबार साँझ ७ बजेतिर छुरा प्रहार भएको इलाका प्रहरी कार्यालय पथरीका डीएसपी दिलिप गिरीले बताए । विश्वभर महामारीको रुप लिएको कोरोना भाइरसको संक्रमण फैलन नदिन नेपाल सरकारले गरेको लकडाउन उल्लंघन हुने क्रम बढेपछि स्थानीयस्तरमा तामाङले त्यसलाई रोक्ने काम गरेका थिए ।

डीएसपी गिरीका अनुसार लकडाउनको समयमा सवारी साधन कुदाउने, हिंडडुल गर्ने क्रम बढेपछि तामाङले सडकमा बाँस तेस्र्याएर त्यसलाई रोक्ने प्रयास गरेको पाइएको छ । त्यही विषयलाई लिएर स्थानीय २८ वर्षीय विजय लिम्बूसँग उनको विवाद भएको थियो । मादक पदार्थ सेवन गरेका लिम्बूले विवादकै क्रममा छुरा प्रहार गरेर तामाङलाई घाइते बनाएको जानकारी डीएसपी गिरीले दिए ।

छुरा प्रहारबाट तामाङको बायाँ छात्तीमा गहिरो चोट लागेको छ । उनको विराटनगरको नोबेल शिक्षण अस्पतालमा उपचार भइरहेको छ । उनको अवस्था खतरामुक्त रहेको जानकारी चिकित्सकले गराएको प्रहरीले जनाएको छ । छुरा प्रहार गर्ने लिम्बूलाई भने भाग्दै गर्दा घटनास्थल नजिकैबाट पक्राउ गरेर घटनाका बारेमा अनुसन्धान गर्ने काम भइरहेको डीएसपी गिरीले जानकारी दिए । प्रहरीका अनुसार छुरा प्रहार गर्ने युवा र घाइते दुवै जना चिनजानकै हुन् । अन्नपूर्ण पोष्टबाट