देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

कोरोनाविरुद्ध अन्तर्राष्ट्रिय सहकार्यका लागि विश्‍वका १९३ पार्टीको संयुक्त अपिल

देशान्तर

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का वरिष्ठ नेता माधवकुमार नेपालसहित १९३ मुलुकका प्रमुख राजनीतिक दलका नेताबाट कोभिड-१९ विरुद्ध अन्तर्राष्ट्रिय सहकार्य गर्न संयुक्त अपिल गरेका छन् ।

कोरोना भाइरसका कारण मानवीय स्वास्थ्य तथा विश्वशान्ति र विकासका लागि गम्भीर चुनौती बनेकाले यस परिस्थितिको सामना गर्दै जनताको हितको सुरक्षा, राष्ट्रिय विकासको प्रवद्र्धन तथा विश्व शान्ति र स्थायित्वको गहन जिम्मेवारी बहन गर्न सो १० बुँदे अपिल जारी भएको हो ।

अपिलमा चिनियाँ नेताको पनि सहभागिता छ । अपिलमा भााइरसबाट पीडित, जीवन जोखिममा परेका तथा शोकसन्तप्त परिवारजनप्रति हार्दिक सहानुभूति र एकता प्रकट गर्दै सबै राष्ट्रलाई जनताको जीवन, सुरक्षा र स्वास्थ्यलाई सबैभन्दा माथि राख्न र कोभिड-१९ फैलिनबाट रोक्न ठोस तथा सशक्त कदम चाल्न आग्रह गरिएको छ ।

‘हामी राष्ट्रहरूलाई ती योजना र रणनीति तयार अवस्थामा राखी सहकार्यलाई सुदृढ गर्न सहयोग गर्नेछौँ, अपिलमा भनिएको छ, साथै, समान जोड दिएर यसको रोकथाम र बिरामी उपचार गर्न प्रोत्साहित गर्दछौँ ।’ अपिलमा विश्‍वका सबै देशले कोरोना रोकथामका उपायको अनुपालन गर्न भनिएको छ । ‘हामी सबै राष्ट्रका नागरिकलाई सामाजिक जिम्मेवारीको भाव बुझेर रोकथामका उपायको अनुपालन गरी राष्ट्रलाई उक्त क्षमताको लाभ लिएर सम्पूर्ण सामाजिक क्षेत्रको शक्ति उपयोग गर्नका लागि प्रोत्साहित गर्दछौँ’ अपिलमा अगाडि भनिएको छ ।

विश्‍व वित्तीय बजार र आपूर्ति स्थिर राख्नुपर्ने आवश्यकता भएकाले आर्थिक नीतिको अन्तर्राष्ट्रिय समन्वयतिर कदम चाल्नुपर्ने, विश्वव्यापी रूपमा स्रोत र शक्तिको परिचालन गर्नुपर्नेमा पनि अपिलमा नेताहरुले जोड दिएका छन् ।

चीन र अन्य मुलुकले भाइरसविरुद्ध गरेको प्रगतिको प्रशंसा, जी-२० नेताहरूको असाधारण शिखर सम्मेलन वक्तव्यको स्वागत, कुनै पनि राष्ट्र, क्षेत्र वा जातीय समूहमाथि हुने भेदभावपूर्ण टिप्पणी र अभ्यासमा लाग्न नहुने विषय पनि अपिलमा समावेश गरिएको छ । नेता नेपाल नेकपाका विदेश मामिला विभाग प्रमुख पनि हुन् ।