देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

साझा समस्या सामूहिकरुपमा समाधान गरौं : अर्थमन्त्री खतिवडा

देशान्तर

काठमाडौं । अर्थ एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री डा युवराज खतिवडाले कोरोना रोगको सङ्क्रमण रोकथाम सरकारको मात्र नभई सबैको साझा दायित्व भएको बताउनुभएको छ ।

कोरोना रोगको सङ्क्रमण रोकथाम गर्न चालेका कदमले अर्थतन्त्रमा पारेको प्रभाव तथा आगामी दिनमा चाल्नुपर्ने कदम सम्बन्धमा राष्ट्रिय योजना आयोगका उपाध्यक्ष तथा सदस्य, पूर्वउपाध्यक्ष र स्वास्थ्यविज्ञसँग आज अर्थमन्त्रालयमा भएको छलफल मन्त्री डा. खतिवडाले सो कुरा बतउनुभएको हो ।

सो अवसरमा उहाँले साझा समस्यालाई साझारुपमै समाधान गर्नुपर्ने समय आएकाले सबैले आआफ्नो क्षेत्रमा जिम्मेवार भएर काम गर्नुपर्ने बताउनुभयो । उहाँले राष्ट्रिय सोच र दृष्टिकोणलाई एकताबद्ध गर्दै सङ्घीय सरकारले सबै राजनीतिक दल, सबै तहका सरकार र निजी क्षेत्रसँग छलफल र समन्वय गरिरहेको र कोरोनाको सङ्क्रमण रोकथाम तथा लक्षित वर्गसम्म राहत पु¥याउने कामलाई प्राथमिकतामा राखिएको उल्लेख गर्नुभयो ।

सरकारले समयमा नै चालेको कदमबाट हालसम्म सङ्क्रमित व्यक्तिको सङ्ख्या सानो रहेको र यसलाई अन्तर्राष्ट्रिय क्षेत्रबाट पनि सराहना गरिएको सन्दर्भ उल्लेख गर्दै मन्त्री डा. खतिवडाले जनप्रतिनिधिको उपस्थितिले कोरोना जोखिम न्यूनीकरण गर्ने कार्य सहज भएको स्पष्ट पार्नुभयो । उहाँले स्थानीय तहलाई सङ्क्रमण रोकथाम र राहत वितरणमा जिम्मेवार र सक्रियरुपमा परिचालित गरिएकोसमेत जानकारी दिनुभयो ।

अन्तर्राष्ट्रिय सीमानाकाबाट थप जोखिम हुन नदिन सीमा बन्द गरिएको जानकारी दिनु हुँदै उहाँले नेपालमा भएका विदेशी नागरिकलाई नेपालले सुरक्षा दिने र विदेशमा रहेका नेपाली नागरिकलाई ती देशले सुरक्षाका साथ बस्ने व्यवस्था मिलाउन कूटनीतिक तहमा पहल भएकोे स्पष्ट पार्नुभयो । अहिले कोरोना सङ्क्रमण रोक्न जो जहाँ छौँ त्यही बस्ने नै सबैभन्दा उत्तम उपाय भएको उहाँले उल्लेख गर्नुभयो ।

कोरोना सङ्क्रमण रोकथामका लागि अरु मुलुकले चालेका कदमको सूक्ष्म विश्लेषण गर्ने र नेपालले अपनाउनुपर्ने थप सावधानी तथा कोरोना जोखिम समाप्तिपछि अर्थतन्त्रलाई चलायमान बनाउन राष्ट्रिय योजना आयोगका उपाध्यक्षको अध्यक्षतामा प्राविधिकविज्ञसमेत संलग्न गरी अध्ययन समिति गठन गरिनेसमेत सो अवसरमा जानकारी दिनुभयो । छलफलमा सहभागीले सरकारले कोरोना सङ्क्रमण नियन्त्रणका लागि थालेका प्रयास र उचित निर्णयले मुलुकलाई थप जोखिमबाट बचाउन सहज बनेको धारणा राख्नुभयो ।