देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

सेनाले खरिद गर्दा छानविन हुँदैन भन्‍ने मानसिकता सरकारमा देखियो : वरिष्ठ नेता पौडेल

देशान्तर

काठमाडौं । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले कोरोना भाइरसको संक्रमण रोकथाम तथा उपचारका लागि स्वास्थ्य सामाग्री खरिदमा भएको अनियमितताको छानविनको माग गरेका छन् । नेता पौडेलले शुक्रबार बिहान सामाजिक सञ्जाल फेसबुक लाईभमार्फत भ्रष्टाचारमा जो सुकै भएपनि तत्काल छानबिन गरी कारवाहीको माग गरेका हुन् ।

नेता पौडेलले स्वास्थ्य सामाग्री खरिदमा अहिले पनि सरकार द्विविधामा रहेको भन्दै असन्तुष्टि जनाए। उनले स्वास्थ्य सामाग्री खरिदमा सरकारमा रहेका मन्त्रीहरु जी टु जीमार्फत खरिद सम्भव नहुने बताउने तर मन्त्रीपरिषद्ले त्यही निर्णय गरेर आम मान्छेमा द्विविधा बनाएको बताए। उनले यो सबै द्विविधा कतै स्वास्थ्य सामग्री खरिदमा भएको भ्रष्टाचार ढाकछोपका लागि त होइन भन्ने शंका व्यक्त गरे।

उनले भने, ‘सेनाले खरिद गर्दा अख्तियारले छानबिन गर्दैन भन्ने मानसिकतामा सरकार देखिएको भन्दै सबै कुरा सेनालाई दिनुपर्ने भन्दै अन्य क्षेत्र प्रति किन अविश्वास सृजना गरिदै छ ? सेनालाई पनि उन्मुक्ति हुँदैन। सेनामाथि पनि छानबिन हुनुपर्छ यदि संलग्‍न देखिएमा।’ संकटको बेलामा स्वास्थ्य सामाग्री खरिदमा भ्रष्टाचार हुनु दुर्भाग्यपूर्ण भन्दै पौडेलले चीनमा कोरोनाको संक्रमण देखिएकै अवस्थाबाट किन सरकारले पर्याप्त तयारीमा नलागेको प्रति आक्रोश व्यक्त गरे। भ्रष्टाचारका कारण सरकारमा जनताप्रतिको सेवाभाव हराएको बताउदै पौडेलले भ्रष्टाचारबाट पैसा जम्मा गरेर त्यही पैसाका भरमा चुनाव कब्जा गर्ने मनोवृति देखिएको धारणा राखे।

संघीयताको औचित्य पुष्टि
वरिष्ठ नेता पौडेलले कोरोनाको संक्रमणले संघीयताको औचित्य पुष्टि भएको बताए। उनले स्थानीय तहले संकटका बेलामा देखाएको कामले संघीयता र स्थानीय तहको अधिकार आवश्यक थियो भन्ने पुष्टि भएको बताए। उनले स्थानीय तहले क्वारेन्टाईन बनाउनेदेखि गरिब विपन्नलाई राहत दिने जस्ता काम स्थानीय तहले गरेकोमा प्रशंसा गरे। पौडेलले भने, ‘स्थानीय तहमा जनप्रतिनिधिलाई प्रशिक्षित बनाउन सकेको भए संकटका बेलामा अझै क्षमता देखाउन सक्थे।’ उनले राज्यले केहि राम्रा काम गरेको भएपनि पर्याप्त काम गर्न नसकेको धारणा राखे।

पौडेलले कोरोना भाइरसको संक्रमणबाट नेपालमा आतिनुपर्ने अवस्था नभएको भन्दै संयमित भएर आत्मविश्वास बढाएर सरकारले जारी गरेको लकडाउनलाई विवेकपूर्ण उपयोग गर्न आम नागरिकलाई आपिल गरे। उनले अब विश्वले विकासको मोडेल पनि परिवर्तन गर्नुपर्ने बताए। पौडेलले भने, ‘विकासको मोडेल परिवर्तन गरी प्रकृति मैत्री विकासको मोडेललाई अगाडि बढाउन विश्व लाग्नुपर्छ।’

नेता पौडेलले संक्रमण फैलिएका मुलुकबाट आएका नागरिकको पहिचान गर्न नसकेको कारण आम नागरिकमा त्रास फैलिएको बताए। उनले नेपाली कांग्रेसका कार्यकर्ताहरुलाई स्थानीय स्तरमा आफैँ निर्वाचित जनप्रतिनिधि जस्तो भएर आफू र आफ्नो समाज जोगाउने काम लाग्नसमेत निर्देशन दिए।