देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

काेराेना महामारी : विश्वभर १० लाख संक्रमित, २ लाख बढी निकाे भए ५३ हजारकाे मृत्यु

देशान्तर

विश्वका विभिन्न देशमा कोरोना भाइरस (कोभिड १९) को सङ्क्रमण फैलिँदा १० लाखभन्दा बढी सङ्क्रमित भएका छन् ।

सङ्क्रमितमध्ये दुई लाखभन्दा धेरै निको भएका छन् । अहिलेसम्म १० लाख १४ हजार दुई सय ९६ जनामा कोरोना पुष्टि भएकोमा दुई लाख १२ हजार १८ जना उपचारपछि निको भएका छन् । ७ लाख ४९ हजार २ सय ९६ जनाको उपचार भइरहेको छ । भाइरसको सङ्क्रमणबाट विश्वभर अहिलेसम्म ५२ हजार ९ सय ८२ जनाको मृत्यु भएकाे छ ।

गएको २४ घण्टामा सबैभन्दा धेरै फ्रान्समा एक हजार तीन सय ५५ जनाको मृत्यु भएकाे छ । योसँगै फ्रान्समा कोरोना सङ्क्रमणका कारण मृत्युहुनेकाे सङ्ख्या पाँच हजार तीन सय ८७ पुगेको छ ।

त्यसपछि स्पेनमा पछिल्लो २४ घण्टामा ९ सय ६१ जनाको मृत्यु भएकाे छ । स्पेनमा मात्रै याे सङ्ख्या १० हजार तीन सय ४८ पुगेको छ भने इटलीमा सबैभन्दा धेरै १३ हजार ९ सय १५ जनाको मृत्यु भएकाे छ । इटलीमा बिहीबार मात्रै सात सय ६० जनाको मृत्यु भएकाे छ ।

यसैगरी अमेरिकामा थप सात सय ८१ जनाको मृत्यु भएसँगै सङ्ख्या पाँच हजार आठ सय ८३ पुगेको छ । अमेरिकामा सङ्क्रमितको सङ्ख्या इटालीको भन्दा दोब्बरले बढी छ  । अमेरिकामा मात्रै दुई लाख ४४ हजार दुई सय ३० जनामा सङ्क्रमण पुष्टि भएको छ भने इटलीमा सङ्क्रमितको सङ्ख्या एक लाख १५ हजार दुई सय ४२ पुगेको छ ।

चीनमा भने मृत्युहुनेकाे सङ्ख्या तीन हजार तीन सय १८ जना छ । चीनमा पछिल्लो २४ घण्टामा ६ जनाको ज्यान गएको छ भने ३५ जना नयाँ बिरामी थपिएका छन् ।

यसैबीच कोरोनाको सङ्क्रमण विश्वका दुई सय चार देशमा फैलिएको छ । टिमोर लेस्टेमा पनि एक जनामा कोरोना पुष्टि भएपछि कोरोना सङ्क्रमण फैलिएको देशको सङ्ख्या दुई सय चार पुगेको हो । यस्तै दुई वटा अन्तर्राष्ट्रिय पानी जहाजमा पनि कोरोनाको सङ्क्रमण फैलिँदा सङ्क्रमितको सङ्ख्या १० लाख नाघेको हो ।