कांग्रेसको क्रियाशील वितरण र नवीकरण रोकियो


काठमाडौं । नेपाली कांग्रेसले प्राणघातक कोरोना भाइरसको जोखिमलाई मध्यनजर गर्दै क्रियाशील सदस्यता नवीकरण र वितरण एवं बाँकी समायोजनको कार्यलाई चैत मसान्तसम्मको लागि स्थगित गरेको छ । शनिबार कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले विज्ञप्तिमार्फत क्रियाशील सदस्यता वितरण तथा नवीकरणको कार्य स्थगित गरिएको जानकारी दिएका हुन् ।

कांग्रेसले कोरोना भाइरसको जोखिम दृष्टिगत गरेर ठूला भेला र सम्मेलनहरू यसअघि नै स्थगित गरिसकेको छ । तर चौधौं महाधिवेशन तयारीसँग सम्बन्धित (क्रियाशील सदस्यता नवीकरण र वितरण एवं बाँकी समायोजन) कार्य भने जारी राखेको थियो ।

‘पछिल्लो समयमा अझ बढेको जोखिमबाट थप सतर्कताका लागि चैत्र ९ देखि लागू हुने गरी ती कार्य २०७६ चैत्र मसान्तसम्मका लागि स्थगित गरिएका छन्’, विज्ञप्तिमा भनिएको छ । यसैगरी कांग्रेसले सहरदेखि गाउँसम्म, गाउँको टोल हुँदै घरघरसम्म कोरोना सचेतना अभियानमा पार्टी पंक्तिको क्रियाशीलता भने सतर्कतापूर्वक विविध ढंगले जारी रहने जनाइएको छ ।

‘जिल्ला, क्षेत्र, गाउँ, नगर हुँदै टोल तहसम्म जोखिम सामना गर्ने राष्ट्रिय दायित्व निर्वाहमा नेपाली कांग्रेसको सम्बन्धित तहका साथीहरूले विभिन्न दल, समुदाय र स्वास्थकर्मीहरूसँग आवश्यक समन्वय, सहयोग र स्वयम्सेविकाको भूमिका निभाउनु हुनेछ’, विज्ञप्तिमा भनिएको छ ।

कांग्रेसले कोरोना भाइरस सचेतना अभियानमा सञ्चारका विविध माध्यमको प्रयोगमा तीव्रता दिइने, स्थलगत सांगठनिक गतिविधि रोकिएको यो अवधिमा पनि मूलतः कोरोना सचेतना अभियानको आवश्यकता अनुसार नेपाली कांग्रेस केन्द्रीय कार्यालय खुला रहने जनाएको छ ।


Facebook Comments