देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

निर्वाचन आयोगले उपनिर्वाचनका लागि माग्यो ३९ करोड

देशान्तर

काठमाडौँ । निर्वाचन आयोगले मंसिर १४ गते हुने उपनिर्वाचनका लागि ३८ करोड ९० लाख रुपैयाँ सरकारसँग माग गरेको छ । प्रतिनिधिसभा, प्रदेशसभा र स्थानीय तहका रिक्त पदमा एकसाथ उपनिर्वाचन हुन लागेको हो । आयोग प्रवक्ता शंकरप्रसाद खरेलले निर्वाचनको विभिन्न व्यवस्थापकीय खर्चका लागि प्रारम्भिक अनुमानका आधारमा उक्त बजेट माग गरिएको बताए ।

प्रतिनिधिसभा सदस्य–१, प्रदेशसभा सदस्य–३, नगरपालिका प्रमुख– १, गाउँपालिका अध्यक्ष–३, गाउँपालिका उपाध्यक्ष–१ र वडाध्यक्ष–४१ पद रिक्त छन् । तीनै तहको निर्वाचन २०७४ मा भएको थियो । प्रवक्ता खरेलका अनुसार मतदाता नामावली टुंग्याउने, निर्देशिका र कार्यविधिको तयारी, तालिम, निर्वाचन कार्यालय स्थापना गर्ने, निर्वाचन सामग्री व्यवस्थापन, कर्मचारी परिचालन, मतगणनालगायतका शीर्षकमा रकम खर्च हुने अयोगले जनाएको छ ।

सुरक्षा निकाय तथा सरकारका अन्य संयन्त्रबाट हुने खर्च भने आयोगले माग गरेको बजेटभित्र पर्दैन । तीनै तहका लागि ३६ जिल्लाका १ सय ५४ वटा वडामा मतदान हुनेछन् । ती सबै स्थानका करिब ५ लाख मतदाताका लागि ५ सय ५० वटा मतदान केन्द्र रहने छन् ।

जिल्ला–जिल्लामा निर्वाचन व्यवस्थापनका लागि ४६ वटा निर्वाचन अधिकृतको कार्यालय खोलिनेछ । एउटै जिल्लामा फरक–फरक स्थानीय तहमा निर्वाचन गर्नुपर्ने स्थानमा स्थानीय तहअनुसार कार्यालय खोलिने भएका छन् ।