देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

मरेको भन्दै घाट लगिएकी महिलालाई अस्पताल भर्ना गरियो

देशान्तर

काठमाडौँ । अन्तिम संस्कारका लागि घाटमा लगिएकी एक महिलाको फेरि उपचार सुरु भएको छ । अन्तिम संस्कारका लागि भनदै घाट लगिएकी रैनादेवी गाँउपालिका–१, सिद्धेश्वरकी ३६ वर्षीया नर्मता ज्ञवालीको अहिले लुम्बिनी मेडिकल कलेज, प्रभासमा उपचार भैरहेको छ ।

 

ज्ञवालीको तानसेनकै युनाइटेड मिशन अस्पतालमा १० दिनसम्म उपचार भएको थियो । आफन्तकै आग्रहमा अस्पतालले सोमबार दिउँसो अक्सिजन लगाएर बिरामीलाई डिस्चार्ज गरेको थियो ।

वडाध्यक्ष सोमबहादुर दर्लामीका अनुसार अक्सिजन निकालेको आधा घण्टापछि बिरामीको ज्यान गएको हल्ला चलेको थियो । त्यसपछि बिरामीका आफन्तले नर्मतालाई सिधै रिँडी घाट पुर्याएका थिए ।

आधा शरीर पानीमा डुबाएको केही समयपछि बिरामी चल्न र कराउन थालेपछि तत्कालै गुल्मीको रिँडी प्राथमिक स्वास्थ्य केन्द्र र्पुयाइएको थियो । स्वास्थ्यकर्मीले धड्कन र नाडी चलेकाले थप उपचारका लागि अस्पताल लान सुझाव दिए । त्यसपछि सोमबार बेलुकी लुम्बिनी मेडिकल कलेज प्रभासमा भर्ना गरी नर्मताको उपचार भैरहेको छ ।

झाडापखालाकी बिरामी ज्ञवालीलाई मुटुको समस्या देखिएको थियो । मुटुको बिरामी भएको थाहा भएपछि ‘पैसाको अभाव छ’ भन्दै आफन्तले बिरामीलाई डिस्चार्ज गर्न दबाब दिएको मिशन अस्पताल तानसेनले जनाएको छ ।

अस्पतालकै एम्बुलेन्समा अक्सिजन लगाएर बिरामीलाई घर पठाएको अस्पतालको प्रतिक्रिया छ । मिशन अस्पतालका अनुसार उनका श्रीमान सूर्यचन्द्र कँडेल, छिमेकी भानुभक्त भट्टराई, ओम पौडेल र थानेश्वर कँडेलले अस्पतालबाट बिरामी बुझेका हुन् ।

युनाइटेड मिशन अस्पतालमा १० दिनसम्म उपचार गर्दा ७३ हजार ६ सय ७८ रुपैयाँ खर्च भएको र खर्चमध्ये ५६ हजार ९ सय ६३ रुपैयाँ स्वास्थ्य बीमाबाट काटिएको अस्पतालले जनाएको छ ।