देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

कांग्रेसको उर्दीः सार्वजनिक पदमा पुगेका सवैले २० प्रतिशत रकम बुझाउनुपर्यो

देशान्तर

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले आफ्ना सबै तहका नेता कार्यकर्ताबाट लिइने दैनिक ‘लेबी’मा कडाइ गर्ने भएको छ । कांग्रेसले पार्टीको आर्थिक अवस्था सुधार गर्न र स्थानीयस्तरका नेतादेखि आमकार्यकर्तासम्मलाई पार्टीप्रति उत्तरदायी बनाउन दैनिक रूपमा लिइने ‘लेबी’मा पार्टीको नियमावलीबाटै कडाइ गर्ने भएको हो ।

कांग्रेसले पार्टीको नियमावलीमा नै सो किसिमको व्यवस्था गरेर आमनेताकार्यकर्ता र शुभेच्छुकहरूलाई जिम्मेवार बनाउने लक्ष्य लिएको छ । यसरी रकम बुझाउँदा स्थानीय तहमा रहेका बैंकमार्फत नै पार्टीको खातामा रकम जम्मा गर्नुपर्ने गरी व्यवस्था गर्न लागिएको छ ।

नियमावली मस्यौदा समितिका संयोजकसमेत रहेका कांग्रेस नेता रमेश लेखकले पार्टीप्रति आमनेताकार्यकर्तालाई जिम्मेवार बनाउन नियमावलीबाट नै कडाइ गर्नेगरी लेबीको रकम तोकिएको बताए । उनले पार्टीका तर्फबाट उम्मेदवार भएर सार्वजनिक लाभको पदमा बसेकाहरूलाई समेत सो व्यवस्था लागू गरिने जनाए ।

‘नियमावलीमा लेबीमा केही कडाइ गर्ने विषय राखिएको छ, पार्टीका तर्फबाट उम्मेदवार भएर सार्वजनिक लाभको पदमा बसेकाहरूले समेत प्राप्त पारिश्रमिकबाट पार्टीलाई गर्नुपर्ने सहयोग तोकिएको छ,’ नियमावली मस्यौदा समितिका संयोजक लेखकले राजधानीसँग भने । कांग्रेसको आइतबारको केन्द्रीय समिति बैठकले पार्टीको नियमावलीलाई सहमतिमा परिमार्जन गर्नेगरी सर्वसम्मत रूपमा पारित गरिसकेको छ ।

संयोजक लेखकले केही विषयलाई पछि छलफल गरेर सम्बोधन गर्ने गरी सर्वसम्मत रूपमा नियमावली पारित गरिएको र आगामी बैठकबाट उठेका विषयलाई सम्बोधन गरिनेसमेत जनाए । लेखकको संयोजकत्वमा गठन भएको नियमावली संशोधन मस्यौदा समितिले पेस गरेको ‘नेपाली कांग्रेसको नियमावली २०७६’ माथि बैठकमा आइतबारसम्म छलफल भएको थियो ।

नियमावलीमा उल्लेख भएअनुसार अब केन्द्रीय कार्यसमितिका पदाधिकारीले दैनिक रूपमा २० रुपैयाँ, केन्द्रीय सदस्य र प्रदेश कार्यसमितिका पदाधिकारीले १० रुपैयाँ, प्रदेश कार्यसमितिका सदस्य, केन्द्रीय महाधिवेशन प्रतिनिधि, जिल्ला कार्यसमिति, प्रतिनिधिसभा क्षेत्रीय कार्यसमिति, प्रदेशसभा क्षेत्रीय कार्यसमितिका पदाधिकारीले ५ रुपैयाँ छ ।

सदस्यहरूले २ रुपैयाँ, प्रदेश अधिवेशनका प्रतिनिधिले ३ रुपैयाँ र नगर–गाउँ कार्यसमितिका पदाधिकारीले २ रुपैयाँ तथा सदस्यहरूले १ रुपैयाँ दैनिक सहयोग रकम सम्बन्धित तहको कार्यालयमा वा बंैक खातामा त्रैमासिक, अर्धवार्षिक वा वार्षिक रूपमा बुझाउनुपर्ने उल्लेख छ ।

कांग्रेसले पार्टीका तर्फबाट उम्मेदवार भएर निर्वा्चित हुने अथवा मनोनीत वा नियुक्त हुने पार्टी सदस्यले पारिश्रमिकको २० प्रतिशित रकम उठाउने नियमावलीमा उल्लेख छ । तर, वडाध्यक्षलाई भने १५ प्रतिशत र सदस्यहरूलाई १० प्रतिशत तोकिएको छ । नियमावली हुबहु पारित भएमा कांग्रेसबाट उम्मेदवार भएर सार्वजनिक पदमा बसेका सबैै तहका प्रतिनिधिहरूले पार्टी केन्द्रीय कार्यालयको नाममा रहेको बैंक खातामा प्रत्येक महिनाको ७ गतेभित्र सहयोग रकम जम्मा गर्नुपर्नेछ ।

परिच्छेद ७ धारा २३ को उपधारा ५ मा ‘सार्वजनिक लाभको पदमा निर्वा्चित, मनोनीत वा नियुक्त भएका पार्टी सदस्यले प्राप्त गर्ने पारिश्रमिकको २० प्रतिशत रकम पार्टीलाई अनिवार्य बुझाउनुपर्नेछ’ भनिएको छ । यसैगरी कांग्रेसले विभिन्न मुलुकमा रहेका पार्टीका जनसम्पर्क समितिहरूमार्फत समेत सहयोगबापत रकम उठाउने भएको छ ।

जसअनुसार चीन, मलेसिया र सार्क मुलुकका जनसम्पर्क समितिका पदाधिकारीले दैनिक ५ रुपैयाँ र सदस्यका लागि लेबीबापत ३ रुपैयाँ सहयोग रकम निर्धारण गरेको छ । यस्तै, इजरायल, ओमन, जोर्डनलगायत मध्यपूर्व–खाडी मुलुक र अफ्रिकी देशहरूका जनसम्पर्क समिति कार्यसमितिका पदाधिकारीले ८ रुपैयाँ र सदस्यले ५ रुपैयाँ दैनिक सहयोग गर्नुपर्ने उल्लेख छ ।

युरोप, अमेरिका, क्यानडा, अस्ट्रेलिया, सिंगापुर, हङकङ, मकाउ, दक्षिण कोरिया, जापानलगायतका अन्य मुलुकका जनसम्पर्क समिति कार्यसमिति पदाधिकारीले १० रुपैयाँ र सदस्यले ८ रुपैयाँ दैनिक रूपमा आर्थिक सहयोग गर्नुपर्ने नियमावलीको परिच्छेद ७ धारा २३ को उपधारा ६ (घ) को ३ मा उल्लेख छ ।

जनसम्पर्क समिति कार्यसमितिहरूले दैनिक रूपमा गर्नुपर्ने आर्थिक सहयोग रकम अर्धवार्षिक वा वार्षिक क्रियाशील सदस्यता नवीकरण गर्दा एकमुष्ट केन्द्रमा बुझाउनुपर्ने नियमावलीमा लेखिएको छ ।

नियमावलीमा जिल्लास्तरीय राजनीतिक नियुक्ति पाएका सदस्यले सम्बन्धित जिल्ला कार्यसमितिमा, प्रदेशस्तरीय राजनीतिक नियुक्ति पाएका सदस्यले सम्बन्धित प्रदेश कार्यसमितिमा र केन्द्रस्तरमा राजनीतिक नियुक्ति पाएका सदस्यले केन्द्रीय कार्यसमितिमा सहयोग रकम बुझाउनुपर्ने उल्लेख छ ।