देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा चरम भ्रष्टाचार, पूर्वउपकुलपतिसहित आठ जनालाई १६ करोडको मुद्दा दायर

देशान्तर

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका पूर्वउपकुलपतिसहित आठ जनालाई १६ करोड १० लाख ७५ हजार ८२ रुपैयाँ भ्रष्टाचार गरेको आरोपमा मुद्दा दायर गरेको छ ।

अख्तियारले विशेष अदालतमा उनीहरूविरुद्ध भ्रष्टाचार निवारण ऐनअनुसार कैद, जरिवाना र बिगो रकम असुलको मागदाबीसहित मुद्दा दर्ता गरेको हो ।

प्रतिष्ठानका पदाधिकारी तथा कर्मचारीले ऐनविपरीत बदनियतपूर्वक गैरकानुनी रूपमा आर्थिक लाभ लिई सप्लायर्स तथा आफूलाई फाइदा र प्रतिष्ठानलाई हानिनोक्सानी पु(याएको भन्दै अख्तियारले उनीहरूविरुद्ध सोमबार विशेष अदालतमा मुद्दा दर्ता गरेको अख्तियारका प्रवक्ता प्र्रदीप कोइरालाले जानकारी दिए ।

अख्तियारले सबैभन्दा बढी पूर्वउपकुलपति बलभद्रप्रसाद दास (बीपी दास)ले ४ करोड ८ लाख ९८ हजार १९ रुपैयाँ भ्रष्टाचार गरेको आरोपपत्रमा उल्लेख गरेको छ । त्यसपछि अस्पतालका तत्कालीन निर्देशक अरविन्दकुमार सिन्हाले ३ करोड ७५ लाख ३० हजार ६१९, रजिस्ट्रार तुलबहादुर श्रेष्ठले ५६ लाख ७७ हजार ४०५, लेखा प्रमुख दिनेशराज दाहालले २ करोड ३४ लाख ८१ हजार ८१९, डेपुटी म्यानेजर अमित श्रीवास्तवले १ करोड ७४ लाख भ्रष्टाचार गरेको उल्लेख छ ।

बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका तत्कालीन उपकुलपति दास, अस्पतालका तत्कालीन निर्देशक अरविन्दकुमार सिन्हा, तत्कालीन रजिस्ट्रार नन्दकुमार थापा र रजिस्ट्रार तुलबहादुर श्रेष्ठले बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानबाट विभिन्न मितिमा भएका वस्तु तथा सेवाको खरिद गर्दा बोलपत्र बढी कबोल गर्नेसँग सम्झौता गरेको र भुक्तानी दिएर अनियमितता दिएको भेटिएको थियो ।

प्राविधिक स्पेसिफिकेसन र सोही कागजमा संलग्न खरिद सम्झौताका सर्तअनुरूप बोलपत्र सारभूत रूपमा प्रभावग्राही भए वा नभएको स्पष्ट खुलाउनुपर्ने व्यवस्था उल्लंघन गरी न्यून कबोल गर्ने बोलपत्रदाताको बोलपत्रको पर्याप्त आधार र तथ्यगत कुराहरुको विश्लेषण नगरी बढी कबोल गर्नेलाई बोलपत्र दिएको अभियोगमा उनीहरूविरुद्ध भ्रष्टाचार मुद्दा दर्ता गरेको छ ।

विशेष अदालतमा दर्ता भएको अभियोगपत्रमा भनिएको छ, ‘कम बोलपत्रको पत्र स्वीकृत नगरी बढी कबोल गर्ने बोलपत्रदाताको बोलपत्र स्वीकृति तथा सम्झौता गरी भुक्तानीसमेत दिई तत्कालीन उपकुलपति बलभद्रप्रसाद दासले ४ करोड ८ लाख ९८ हजार १९ रुपैयाँ ७१ पैसा र अस्पतालका तत्कालीन निर्देशक अरविन्दकुमार सिन्हाले ३ करोड ७५ लाख ३० हजार ६१९ रुपैयाँ ७१ पैसा र तत्कालीन रजिस्ट्रार नन्दकुमार थापाले १ करोड ९६ लाख ९ हजार ८८० रुपैयाँ र रजिस्टार तुलबहादुर श्रेष्ठले ५६ लाख ७७ हजार ४०५ रुपैयाँ अस्वाभाविक रूपमा बढी मूल्य तिरी खरिद गर्ने÷गराउने कार्य गरी प्रतिष्ठानलाई नोक्सानी पु(याएको उल्लेख छ ।

यस्तै, उपकरण सप्लायर्स कम्पनी प्रोसिजन मेडिकल प्रालि र बायोमेड इन्टरनेसनलका प्रोपाइटर चेतन अग्रवाल र उपकरण सप्लायर्स सर्विकेम डिस्ट्रिब्युटर्सका प्रोपाइटर उमेश अग्रवालले जनही १ करोड ४ लाख र ६० लाख ३७ हजार रुपैयाँ भ्रष्टाचार गरेको अख्तियारले जनाएको छ । अख्तियारले अग्रवालद्वयलाई रकम हिनामिना तथा भ्रष्टाचार गरी आफूलाई फाइदा र प्रतिष्ठानलाई नोक्सानी हुने कार्य गरी भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ८ को उपदफा (४)अन्तर्गतको कसुर गरेको सप्रमाण पुष्टि भएको आरोपपत्रमा उल्लेख गरेको छ ।

अनियमितता गरेको अनुसन्धानमा खुल्न आएकाले बायोमेड इन्टरनेसनलका प्रोपाइटर चेतन अग्रवाललाई बिगो १ करोड ४ लाख १६ हजार ७९७ र उमेश अग्रवाललाई बिगो ६० लाख ३६ हजार ३४३ कायम गरी उनीहरूलाई ऐनको सोही दफा ८ को उपदफा (४)बमोजिम जरिवाना तथा सजाय गरी निजहरूले हिनामिना गरेको बिगोसमेत असुल गरी पाउन माग दाबी लिई विशेष अदालतमा मुद्दा दर्ता गरेको छ ।