देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

कांग्रेसद्धारा पार्टीको नियमावली २०७६ परिमार्जन गर्न समितिलाई निर्देशन

देशान्तर

काठमाडौं । नेपाली कांग्रेसले केन्द्रीय कार्यसमितिमा पेश भएको ‘नेपाली कांग्रेसको नियमावली २०७६’ लाई परिमार्जन गर्ने अधिकार नियमावली संशोधन मस्यौदा समितिलाई नै दिएको छ । आइतबार बसेको केन्द्रीय कार्यसमिति बैठकले नियमावलीमाथिको छलफलका क्रममा उठेका विषयवस्तुहरु समेटेर सहमतिमा परिमार्जन गर्न मस्यौदा समितिलाई अधिकार प्रत्याभूत गरेको हो ।

बैठकले मस्यौदा समितिले सहमतिमा परिमार्जन गर्ने गरी नियमावली पारित गरेको कांग्रेसले जनाएको छ । पार्टीको महासमिति बैठकले केन्द्रीय कार्यसमितिलाई विधान परिमार्जन गर्ने गरी अधिकार प्रत्याभूत गरेजस्तै आइतबार बसेको केन्द्रीय कार्यसमिति बैठकले मस्यौदा समितिलाई नियमावली परिमार्जन गर्ने अधिकार प्रदान गरेको कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिए ।

“महासमितिले पार्टीको प्रस्तावित विधान पास गर्ने बेलामा केन्द्रीय समितिलाई आफ्नो अधिकार ‘ह्यान्डओभर’ गरेर केन्द्रीय समितिले परिमार्जन गर्ने गरी भनेर दिएको थियो,” देशान्तरसँगको टेलिफोन कुराकानीमा उनले भने, “त्यसरी नै केन्द्रीय कार्यसमिति बैठकले नियमावली संशोधन समितिलाई सहमतिपूर्वक अहिले आएको सल्लाह सुझावहरु समेटेर परिमार्जन गर्ने गरी नियमावली पारित गरेको हो ।”

केन्द्रीय सदस्य रमेश लेखकको संयोजकत्वमा गठित मस्यौदा समितिले असार २२ बसेको केन्द्रीय कार्यसमिति बैठकमा संशोधित नियमावलीको मस्यौदा पेश गरेको थियो । उक्त समितिमा केन्द्रीय सदस्यहरु प्रदीप पौडेल, मीन विश्वकर्मा, जीवन परियार र ईश्वरी न्यौपाने सदस्य रहेका छन् । प्रवक्ता शर्माका अनुसार मस्यौदा समितिले केन्द्रीय कार्यसमिति बैठकमा उठेका विषयवस्तुहरु समेटेर सहमतिमा नियमावली परिमार्जन गर्नेछ ।

“बैठकमा नियमावलीमाथिको छलफलका क्रममा लेवी, भ्रातृ तथा शुभेच्छुक संस्थालगायत दर्जनौं कुराहरु आएका छन् । ती सबैको हामीसँग अडियो रेकर्ड सुरक्षित छ । अब मस्यौदा समितिले त्यसैको आधारमा सहमतिपूर्वक नियमावलीलाई परिमार्जन गर्छ,” उनले भने ।

नियमावली माथिको छलफलका क्रममा संस्थापन इतर समूहका नेताहरुले सदस्यता शुल्क वृद्धि गरेको, भ्रातृ तथा शुभेच्छुक संस्थामाथि पार्टीले हस्तक्षेप बढाउने गरी नियमावली बनाएको भन्दै असन्तुष्टि व्यक्त गरेका थिए ।

कांग्रेसको संशोधित नियमावलीमा पार्टीको नयाँ सदस्यका लागि ५० रुपैयाँ शुल्क तोकिएको छ । विधानको धारा (४) १ बमोजिमको योग्यता पुगेको नेपाली नागरिकले अनुसूची–१ बमोजिमको सदस्यताको आवेदन फारम भरी ५० रुपैयाँ शुल्कसहित बुझाएमा सदस्यताको आवेदन फारम बुझ्ने निकायले यथाशिघ्र सदस्यता प्रदान गरी माथिल्लो निकायमा विवरण पठाउनेछ । कांग्रेसको सदस्यता नवीकरण गर्न चाहने सदस्यले वडा कार्यसमितिमा ५० रुपैयाँ शुल्क बुझाउनुपर्नेछ ।

सदस्यताको प्रमाणपत्र हराएमा ५० रुपैयाँ तिरेर प्रतिलिपि निकाल्नुपर्ने व्यवस्था नियमावलीमा गरिएको छ । यसअघि कांग्रेसले पाँच रुपैयाँ शुल्क तोकेर सदस्यता वितरण गर्दै आएको थियो । यस्तै नियमावलीमा क्रियाशील सदस्यको लेवी पनि बढाइएको छ । क्रियाशील सदस्यता एक सय रुपैयाँ लिइँदै आएकोमा बढाएर पाँच सय तोकिएको छ । क्रियाशील सदस्यताको नवीकरणका लागि तीन सय ६५ रुपैयाँ लेवी लाग्नेप्रस्ताव छ । यसअघि कांग्रेसमा नयाँ क्रियाशील सदस्यता लिँदा र नवीकरण गर्दा एक सय रुपैयाँ तिर्नुपर्ने प्रावधान थियो ।

गत शुक्रबार बसेको केन्द्रीय कार्यसमिति बैठकमा वरिष्ठ नेता रामचन्द्र पौडेल, केन्द्रीय सदस्यहरु प्रकाशमान सिंह, डा. रामशरण महत, डा. शेखर कोइराला, डा. मीनेन्द्र रिजाल, गगन थापा, नवीन्द्रराज जोशी, जीवन परियारले तोकिएको लेवीप्रति आपत्ति जनाएका थिए । परिवर्तित नियमावलीले सदस्यता वितरण प्रक्रियामा समस्या उत्पन्न हुने उनीहरुको भनाइ थियो । वृद्धि गरिएको लेवीले ‘मास बेस्ड’ कांग्रेसलाई ‘क्याडर बेस्ड’ पार्टी बनाएको भन्दै संस्थापन इतर समूहका नेताहरुले आपत्ति जनाएका थिए ।

तर, कांग्रेसको संस्थापन पक्षले लेवी शुल्क वृद्धि गर्दैमा पार्टी ‘मास बेस्ड’ बाट ‘क्याडर बेस्ड’ नहुने तर्क गरिरहेको छ । कांग्रेस प्रवक्ता शर्माले क्रियाशील सदस्यहरुबाट यसअघि पनि निश्चित रकम लिने गरिएको र अहिले केही मात्रामा वृद्धि गर्दैमा पार्टीलाई ‘क्याडर बेस्ड’ भन्न नमिल्ने प्रतिक्रिया दिए ।

“०१५ सालमा बीपी कोइरालाको पालामा चौवन्नी (चारआनी) सदस्य भन्ने थियो । त्यो बेलामै २५ पैसा तिरेर सदस्यता लिने प्रावधान थियो । आजभन्दा ६१ वर्ष अगाडिको २५ पैसाको भ्यालु अहिले कति हुन्छ ? त्यो बेला चौवन्नी सदस्यता लिँदै गर्दा ‘क्याडर बेस्ड’ भएन, अहिले कसरी क्याडर बेस्ड ?” उनले प्रतिप्रश्न गरे ।

निश्चित ‘क्याडर’ लाई तलबी कार्यकर्ता बनाएर ती कार्यकर्ताहरुले सबै काम छोडेर ‘होल टाइम’ काम गर्ने प्रावधान भएको पार्टीलाई ‘क्याडर बेस्ड’ पार्टी भनिन्छ । कांग्रेस अहिलेको अवस्थामा ‘क्याडर’ र ‘मास बेस्ड’ दुबैमा आधारित रहेको प्रवक्ता शर्माको भनाइ छ ।

“क्याडर बेस्ड कसरी भने कांग्रेसको नेतृत्व जोसुकैले चयन गर्न पाउँदैन । क्रियाशील भएको क्याडरले मात्रै चयन गर्न पाउने भएकाले कांग्रेस क्याडर बेस्ड हो,” उनले पार्टीको अहिलेको अवस्था प्रष्ट्याउँदै भने, “मासबाट आएका धारणालाई नेतृत्व गर्ने, मासको भावना बमोजिम पार्टी परिचालित हुँदै आएकाले कांग्रेस मास बेस्ड पार्टी हो ।”

शुल्क लिनेबित्तिकै ‘क्याडर बेस्ड’ र शुल्क नलिँदा ‘मास बेस्ड’ नहुने शर्माको तर्क छ । “पैसा कांग्रेसले पहिले पनि लिने गर्थ्यो । थोरै मान्छेले दिने करोडौं रुपैयाँले पार्टी सञ्चालन गर्ने कि धेरै कार्यकर्ताले दिने एक–एक पैसालाई गाँसेर पार्टी बलियो बनाउने ?,” उनको प्रश्न छ ।