देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

प्रधानमन्त्रीलाई ढाँटेपछि मुख्यसचिव रेग्मीका दिनगन्ती सुरु

देशान्तर

काठमाडौँ । सुरुदेखि नै प्रधानमन्त्रीको नजरमा नपरेका मुख्यसचिव लोकदर्शन रेग्मीलाई सरकारले हटाउने तयारी थालेको छ । मुख्यसचिव परिवर्तनका लागि बहाना खोजिरहेका प्रधानमन्त्री ओलीले उनलाई ६ महिना अगाडि नै हटाउने प्रयास गरेका थिए ।

मुख्यसचिवको लाइनमा रहेका सचिवहरूको सरुवाको जिम्मासमेत आफैंले लिएर सरुवा तथा पदस्थापन गरेका ओलीले तत्कालीन समयमा रेग्मीलाई हटाउने उपयुक्त कारण नपाएकाले पछि हटेका थिए । प्रधानमन्त्रीमा नियुक्त भएदेखि नै ओलीले गृहसचिव प्रेमकुमार राईलाई मुख्य सचिव बनाउन चाहेका थिए ।

पछि राईलाई राजदूत वा अख्तियारमा पठाउने चर्चा सुरु भएपछि ओलीले मुख्यसचिव परिवर्तन गर्ने नीति तत्कालका लागि स्थगित गरेका थिए । तत्कालीन देउवा नेतृत्वको सरकारको समयमा देउवा पत्नी डा. आरजु राणाको पहलमा मुख्य सचिव भएका रेग्मीले सरकार परिवर्तन हुने समयमा देउवालाई समेत धोका दिएर कर्मचारीलाई स्वैच्छिक अवकाशमा पठाउने देउवा सरकारको निर्णयमा असहयोग गरेका थिए ।

देउवा सरकारले अन्य प्रतिस्पर्धीहरूलाई पन्छाउँदै रेग्मीलाई २०७४ कात्तिक ६ गते मुख्यसचिवमा नियुक्त गरेको थियो । अहिले तरकारीको विषादी परीक्षणको विषयमा सम्बन्धित निकायले जानकारी नदिएको र यसमा मुख्यसचिवले पनि असहयोग गरेको भन्दै सरकारले मुख्यसचिव परिवर्तन गर्न चाहेको हो ।

मुख्यसचिव फेर्ने विषयमा सत्तारूढ नेकपाभित्र पनि छलफल भएको छ । नेकपाका नेताहरूले सिनियर र जेष्ठताका आधारमा भन्दा पनि योग्यता र कार्यक्षमताका आधारमा मुख्यसचिव छान्न प्रधानमन्त्रीलाई सल्लाह दिएका छन् ।

तत्कालीन प्रधानमन्त्री डा. बाबुराम भट्टराईले पनि मुख्यसचिव बन्न रोलक्रमको १३आंै वरीयतामा रहेका लीलामणि पौड्याललाई मुख्यसचिव बनाएका थिए । अहिले पनि प्रतिस्पर्धामा रहेका भन्दा तलबाट कार्यक्षमताको आधारमा मुख्यसचिव बनाउने तयारी भइरहेको छ ।

तीन वर्षका लागि मुख्यसचिवमा नियुक्त भएका रेग्मीको कार्यकाल अझै बाँकी रहेको र प्रधानमन्त्रीले चाहेका गृहसचिव प्रेमकुमार राईको पनि समय धेरै बाँकी नभएकाले कनिष्ट तर, कार्यक्षमता र पार्टीप्रति निष्ठावान् मुख्यसचिवको खोजी भइरहेको छ । प्रधानमन्त्री ओलीले मुख्यसचिव लोकदर्शन रेग्मीलाई समेत यसबारे जानकारी दिइसकेको बताइएको छ ।

पछिल्लो समयमा आफू सचिवहरूका कारण सरकार विवादमा परेको भन्दै मुख्यसचिव रेग्मीलाई बाटो खुला गर्न भनिएको छ । तरकारीको विषादीमा भारतीय दूतावासको पत्रबाट आफूलाई बचाउन पनि ओलीले मुख्यसचिवलाई बलीको बोको बनाउने निश्चित छ ।

ओलीले मुख्यसचिव भएर पनि सचिवहरूलाई आवश्यक निर्देशन नदिएको र कर्मचारीमा अनावश्यक गुटबन्दी गरेको भन्दै मुख्य प्रशासकले प्रशासनको समन्वय, निर्देशन र कार्यान्वयन गराउने कुरामा गम्भीरतापूर्वक ध्यान नदिएको बताएका छन् । उनले मुख्यसचिव रेग्मीलाई पछिल्लो समयमा मन्त्री र सचिवबीच परस्पर बाझिने कुरा बाहिर ल्याउने काम गरेको आरोप पनि लगाएका छन् ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको आयोजनामा सिंहदरबारमा भएको वार्षिक समीक्षामा प्रधानमन्त्रीले मन्त्री र सचिवलाई समन्वय गरेर काम गराउन मुख्य सचिव रेग्मीले नसकेको बताएका छन् । सरकारका सदस्य वा उच्च पदाधिकारीको परस्परमा बाझिएका धारणा सार्वजनिक हुन भनेको मुख्य सचिवको कमजोरी भएको प्रधानमन्त्रीको भनाइ छ ।

ओलीले मुख्यसचिव रेग्मीप्रति अविश्वास गर्दै तत्कालीन समयमा नै अन्य सचिवहरूको जिम्मेवारी पनि हेरफेर गरेका थिए । मुख्य सचिव फेर्ने अन्तिम निष्कर्षमा प्रधानमन्त्री पुगे पनि अहिलेसम्म नयाँ मुख्य सचिवमा कस्ले बाजी मार्ने हो भन्ने यकिन भने भएको छैन ।