देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

अत्यधिक तापक्रम बढेपछि जनजीवन प्रभावित, भैरहवाको तापक्रम ४३.३ डिग्री पुग्यो

देशान्तर

अत्यधिक गर्मीका कारण रुपन्देहीको जनजीवन प्रभावित भएको छ । विगत एक सातादेखि तापक्रम बढेपछि जनजीवन अस्तव्यस्त भएको हो । वायुमण्डलीय तापक्रममा वृद्धि भएसँगै सर्वसाधारण घरबाहिर निस्किन छाडेकाले बजारमा चहलपहल कम देखिएको छ । गर्मीका कारण अधिकांश शैक्षिक संस्था बन्द भएका छन् भने कर्र्मचारी र मजदुरसमेत प्रभावित भएका छन् ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार शनिबार भैरहवाको तापक्रम यो वर्षकै धेरै ४३.३ डिग्री मापन गरिएको थियो । आइतबार ४१.७ र सोमबार सोही हाराहारीमै तापक्रम रहेको मौसमविद् मञ्जु बासीले जानकारी दिनुभयो । पश्चिमी वायु नजिकिएका कारण तापक्रम केही घटेको उहाँको भनाइ छ । देशका केही भू–भागमा छिटपुट वर्षा भए पनि यस क्षेत्रमा बुधबारदेखि मात्रै वर्षाको सम्भावना रहेको मौसमविद् बासीले बताउनुभयो ।

गर्मी बढेपछि रुपन्देहीका स्थानीय तहका निजी तथा सामुदायिक विद्यालय बन्द छन् । सिद्धार्थनगर, तिलोत्तमा, सैनामैनालगायतका नगरपालिकाले सूचना जारी गरी एक साताका लागि विद्यालय बन्द भएको जानकारी गराएका हुन् । बुटवल उपमहानगरपालिकाभित्रका विद्यालय पनि चार दिनका लागि बन्द भएका छन् । उपसचिव मित्रमणि खनालले सूचना जारी गरी सोमबारदेखि चार दिनसम्मका लागि विद्यालय बन्द गरिएको जानकारी गराउनुभएको छ । गर्मीले विद्यालयमा बालबालिका बेहोस हुन थालेपछि बन्द गर्ने निर्णय गरेको जनाइएको छ ।

गर्मी बढेसँगै अस्पतालमा बिरामीको सङ्ख्या पनि बढेको छ । लुम्बिनी प्रादेशिक अस्पतालका सामाजिक एकाइ प्रमुख दयासागर पन्थीका अनुसार अस्पतालमा बिरामीको सङ्ख्या बढेको छ । भाइरल ज्वरो, झाडापखाला, रुघाखोकी, जलवियोजनलगायतका बिरामीको सङ्ख्या बढ्दै गएको उहाँले बताउनुभयो । बुटवलका निजी अस्पतालमा समेत बिरामीको भीड छ । गर्मी बढी भएका कारण पानीको मात्रा कम हुने समस्या भएकाले सजग रहन अस्पतालले अनुरोध गरेको छ । शरीरमा घमौरा आउने तथा विभिन्न छालाजन्य रोग लाग्ने भएकाले सकेसम्म घरबाहिर ननिस्कन चिकित्सकले सुझाव दिएका छन् ।