देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

सरकारले क्यान्सर रोगीलाई दिदै आएको १ लाख सहयोग रोक्का

देशान्तर

काठमाडौँ । सरकारले विगत ५ महिनादेखि क्यान्सर रोगीहरुलाई दिँदै आएको एक लाख रुपैयाँ आर्थिक सहायता सरकारले रोकेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकी सचिव डा. पुष्पा चौधरीले बजेटको अभावमा ५ महिनादेखि क्यान्सर रोगीहरुलाई दिइँदै आएको १ लाख रुपैयाँआर्थिक सहायता रोक्का गर्नुपरेको प्रष्टयाएकी छन् ।

बजेटको अभाव भएकाले सरकारले हाललाई क्यान्सर रोगीहरुको सूचि तयार पार्ने काम पनि स्थगित गरेको सचिव चौधरीले बताइन् । आइतबार काठमाण्डौमा आयोजित ‘विश्व आँखा क्यान्सर सचेतना सप्ताह’ कार्यक्रममा उनले आँखाको क्यान्सर रोगको उपचारको लागि आगामी आर्थिक वर्षको बजेटमा आवश्यक व्यवस्था गर्ने विषयमा पनि अन्यौलत जनाएकी छन् ।

सचिव चौधरीले क्यान्सरजस्ता जटिल रोगहरुको उपचारका लागि सरकारले कम्तीमा पनि ५ लाख आर्थिक सहायता उपलब्ध गराउने प्रयास गरिरहेको पनि जानकारी दिइन । आँखाको प्लाष्टिक शल्य चिकित्सासम्बन्धी नेपाली चिकित्सक समाजले तिलगंगा आँखा अस्पतालसँग सहकार्य गरेर सुरु गरेको कार्यक्रममा आँखाको क्यान्सर र त्यसको रोकथामका विषयमा विस्तृत जानकारी दिइनेछ ।

कार्यक्रममा तिलगंगा अस्पतालका संस्थापक एवम् कार्यकारी निर्देशक डा. सन्दुक रुइतले आँखाको क्यान्सर र त्यसको रोकथामका लागि आवश्यक सबै खालको सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे । आँखाको रोगको क्षेत्रमा अनुसन्धान गरिरहेको आँखाको प्लाष्टिक शल्य चिकित्सासम्बन्धी नेपाली चिकित्सक समाजलाई त्यस रोगबारे विस्तृत जानकारी समेटिएको सूचना अनलाइन सेवामार्फत सर्वसाधारणले हेर्ने व्यवस्था गर्न पनि गम्भीर ध्यानाकर्षण गराए ।