काठमाडौँ । भारत र पाकिस्तानमा जारी तनावबीच पाकिस्तानले भारतको दुई लडाकू विमानलाई खसालेको र दुई पाइलटलाई पक्राउ गरेको दाबी गरेको छ । पाकिस्तानको यो दाबीमा भारतले मिग–२१ लडाकू विमान खसेको र एक पाइलट गायब भएको कुरा स्विकारेको छ ।
यसैबीच पाकिस्तानका प्रधानमन्त्री इमरान खानले राष्ट्रको नाममा सम्बोधन गर्दै उनको सेनाले बाध्यतामा जवाफ दिनु परेको बताएका छन् । इमरान खानले दुई मुलुकसँग जुन हतियार छ ती हतियारसहित युद्धमा होमिने हो भने नतिजा कस्तो हुनेछ त्यसको अनुमान लगाउन नसकिने बताएका छन् ।
इमरान खानले मेरा पाकिस्तानीहरु…. हिजोदेखि जुन माहौल बनेको छ त्यसबारे मलाई केही भन्नु छ । पुलवामा पछि मैले हिन्दुस्तानलाई अनुसन्धानमा सहयोग गर्न अफर गरेको थिएँ । मलाई थाहा छ यस्तो हमलामा पीडित परिवारलाई के हुन्छ । त्यसकारण हामीले सिधा अफर गरेका थियौं ।’
उनले थपे, ‘हामीले प्रतिक्रिया दिनैपर्ने बाध्यता थियो । कुनै पनि सार्वभौमसत्ता सम्पन्न देश यसरी चुप बस्न सक्दैन । हामी चुप बसेर आफूलाई अपराधी बनाउन सक्दैनौं । हामीले बुधबार जवाफ दियौं र हाम्रो देशमा आउन सक्छौ भने हामी पनि तिम्रो देशमा आउन सक्छौं भनेर देखायौं ।’
इमरान खान भन्छन, ‘जो यो संसारबाट गए र जो घाइते भए उनीहरुको घर परिवारमाथि के बितिरहेको छ भनेर हामी बुझ्न सक्छौं । त्यसकारण भारतले चाहेकोजस्तो अनुसन्धान गर्न पाकिस्तान तयार भएकाले यसमा सहयोग गर्न अफर गरेका थियौं ।
पुलवामाका लागि हामी अनुसन्धानका लागि तयार थियौं । यदि अनुसन्धानका लाािग तपाईंहरुले प्रमाण दिएको भए हामीले बाध्यतामा त्यसको जवाफ दिनुपर्दथ्यो । तर जब तपाईंले क्रिया गर्नुहुन्छ भने त्यसको प्रतिक्रिया त दिनैपर्यो ।’
पाकिस्तानी प्रधानमन्त्रीले थपे, ‘मलाई लागिरहेको थियो कि हिन्दुस्तानमा चुनावको तयारी चलिरहेका बेला कुनै कारवाही हुनेछैन । हामीले तत्काल यसकारण कारवाही गरेनौं किनभने हामीलाई कति क्षती भएको थियो त्यसबारे थाहा थिएन । त्यसकारण हामीले प्रतिक्षा गर्यौं र त्यसको जवाफ दियौं ।’
उनले थपे, ‘पाकिस्तानको कारवाहीको जवाफ दिने हिन्दुस्तानका दुई मिग पाकिस्तान सीमा छिरे । तिनीहरुलाई खसालियो । पाइलट हामीसँग छन् । म हिन्दुस्तानलाई भन्न चाहन्छु कि हामी थोरै दिमागको प्रयोग गरौं ।’
‘संसारमा युद्ध भएको छ । कसैले पनि सोचेको छैन कि युद्धले कतातिर लैजान्छ । पहिलो विश्वयुद्ध ६ महिनामा समाप्त हुनुथियो तर यसलाई ६ वर्ष लाग्यो,’ उनले भने ।
इमरान भन्छन्, ‘दोस्रो विश्वयुद्धमा हिटलरले रुसलाई जित्ने आँट गरेका थिए । उनले कहिले पनि सोचेनन् कि रुसको चिसो उनको विनासको कारण बन्नेछ । वार अन टेररमा १७ वर्ष बित्यो । के अमेरिकाले यसमा यति समय लाग्ला भनेर सोचेका थिए । भियतनामा युद्धमा यति समय लाग्ला भनेर कसले सोचेको थियो । युद्धको आँकलन गलत हुन्छ ।’
खान थप्छन्, ‘यो लडाईंले हामीलाई कहाँ लैजानेछ भनेर के अहिले हामीले सोच्ने बेला आएको छैन । न मेरो न नरेन्द्र मोदीको नियन्त्रणमा हुन्छ । हामीले बसेर छलफल गरेर यो मामला हल गर्नुपर्छ ।’
प्रतिक्रिया