देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

कृषि अनुदानमा भएको दुरुपयोग छानविन हुन्छः अर्थमन्त्री खतिवडा

देशान्तर

काठमाडौँ । सरकारले कृषि क्षेत्रमा जाने अनुदानमा पुनःमूल्याङ्कन गर्ने भएको छ । व्यक्तिगतरूपमा दिँदा अनुदानको दुरुपयोग भएकाले पुनःमूल्याङ्कन गरेर सहकारीमार्फत जाने तयारी सरकारले गरेको अर्थमन्त्री डा युवराज खतिवडाले जानकारी दिएका छन ।

उनले राज्यबाट कृषिमा जाने अनुदानबारे पुनःमूल्याङ्कन भइरहेको र व्यक्तिले लगेको अनुदान दुरुपयोग भएको बताए । आजदेखि काठमाडौँमा शुरु सहकारी उद्यम प्रवद्र्धन राष्ट्रिय कार्यशालामा मन्त्री खतिवडाले यस्तो रकम डुब्न नदिने प्रतिबद्धता पनि जनाएका छन ।

सहकारी संस्थामार्फत कृषि अनुदान गयो भने दुरुपयोग नभई प्रयोग हुनसक्ने र राज्यको लगानीको प्रतिफल आउनसक्ने निष्कर्ष सरकारको छ । यसका लागि कृषि र सहकारीमन्त्रीसँग छलफल गर्ने तयारीमा अर्थमन्त्रालय लागेको छ ।

रासायनिक मल, यन्त्र उपकरण, अन्य शीतभण्डार वा अन्य प्रशोधनका लागि दिइने अनुदान सहकारीको माध्यमबाट जानुपर्ने र आधुनिकीकरणसहितको कृषि उद्यममा सरकारले सहयोग गर्ने अर्थमन्त्रीले बताए ।

उत्पादन सँगसँगै प्रशोधनतर्फ पनि सहकारी माध्यम उपयुक्त हुनेमा उनको जोड थियो । अहिले नै तरकारी, फलफूल, जडीबुटी, दूध कुनै पनि प्रशोधनमा २५ प्रतिशत पूँजीगत अनुदान दिने व्यवस्था छ । सम्बन्धित मन्त्रालयबाट अर्थमन्त्रालयले रकमको निकासी गर्नेपनि मन्त्री खतिवडाले बताए ।

बजेटको रकम खर्च हुन सकेन भनेर सानो रकम अर्थमन्त्रालयमा छुट्याएर राखेकाले त्यो पैसा लिन कागज धाए पुग्ने, मान्छे धाउन नपर्नेमा उनले आश्वस्त पारे ।

‘मिल्क होलीडे’ हटाउन अहिले सरकारले दूध पाउडर कारखानाका लागि खुलारूपमा पूँजीगत अनुदान दिन लागेको अर्थमन्त्रीको भनाइ छ । यस्तै मासु प्रशोधन र निर्यात गर्ने गरी आउने उद्यमीलाई समेत अनुदानको व्यवस्था सरकारले गर्ने जनाएको छ ।

कानून संशोधन हुने तयारीमा रहेको र नियमावली आइसकेकाले जडीबुटी प्रशोधनमा सहकारीमार्फत अगाडि बढाउने व्यवस्था मिलाइसकेको भन्दै मन्त्री खतिवडाले जडीबुटी उद्यमको उत्पादन, प्रशोधन, भण्डारण र निर्यातका काममा लाग्न सहकारीकर्मीलाई आग्रह गरे ।

काठबाहेक वनजन्य उत्पादनमा आधारित उद्यम व्यवसायमा सहकारीको मोडलबाट आउने हो भने सरकारले सहयोग गर्ने अर्थमन्त्री खतिवडाले बताए।

घरेलु र साना उद्योग स्थानीय तहमा गर्न सकिने सम्भावना रहेको उल्लेख गर्दै मन्त्री खतिवडालेले घरेलु उत्पादित वस्तु १५ प्रतिशतसम्म महँगो भयो भने पनि अनिवार्यरूपमा किन्ने गरी विनियमावली मन्त्रिपरिषद्मा लैजान लागेको जानकारी दिए ।

उनले भने, “‘उत्पादित वस्तु १५ प्रतिशतसम्म महँगो भए पनि आन्तरिकरूपमै किन्नुपर्नेछ’ भनी सार्वजनिक खरीद ऐनमा भएको पुरानो व्यवस्थालाई प्रभावकारी गराउँदै अनिवार्य किन्नुपर्ने छ भनेर त्यो विनियमावली मन्त्रिपरिषद्मा जाँदै छ, त्यसैको छलफल आज हुने छ ।”

संरक्षणको आडमा अत्यधिक मुनाफा कमाउने र गुणस्तर नबढाउने काम भने कसैले गर्न नहुनेमा उनले जोड दिए । अर्थमन्त्री खतिवडाले घरबासलाई सहकारी ढाँचाबाट चलाउने हो भने सरकारले अनुदान दिनेसमेत बताए । सन् २०२० मा २० लाख पर्यटक भित्र्याउने लक्ष्य लिइरहेका बेला पोखरा र भैरहवामा जहाज चलेपछि पर्यटक बढ्ने भन्दै उनले सबै पर्यटक पाँचतारे होटलमा नबस्ने जिकिर गरे ।

पर्यटक काठमाडौँबाहेक भित्री नेपालको वातावरण, प्राकृतिक, सामाजिक, सांस्कृतिक विविधता हेर्न चाहने भन्दै उनले यसका लागि होमस्टे (घरबास) उत्तम ठाउँ भएको बताए । होमस्टेलाई सहकारी ढाँचामा लगेमा सरकारले सहयोग गर्ने उनको भनाइ छ ।

एकाधिकार हटे पनि अवशेष बाँकी रहेको उल्लेख गर्दै उनले यातायात क्षेत्रमा पनि सहकारी ढाँचाबाट जानुपर्ने आवश्यकता औँल्याए । मन्त्री खतिवडाले उद्यमलाई बीमासँग जोड्न सकियो भने जोखिम कम हुने उल्लेख गरे ।

यही सरकार आएपछि २५ प्रतिशतले कम्पनी दर्ता बढेको जानकारी दिँदै उनले सहकारीकर्मीले निजीभन्दा भिन्न छ भनेर प्रस्तुत हुन सक्यो भने सरकारको सहुलियत पाउने बताए ।