देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

अबदेखि राष्ट्रिय गौरवका आयोजनामा अख्तियारको निगरानी गर्ने

देशान्तर

काठमाडौं । अख्तियार दुरूपयोग अनुसन्धान आयोगले राष्ट्रिय गौरवका आयोजनामाथि निगरानी बढाएको छ । जिम्मा लिएर तोकिएको समयमा काम नसक्ने ठेकेदार र सरकारी अधिकारीमाथि अख्तियारले सूक्ष्म अनुसन्धान थालेको हो ।

अर्बौं लगानीका आयोजना सम्पन्न गर्न पटकपटक समय थप्दा पनि अलपत्र परेका कारण छानबिन थालिएको अख्तियारका सहायक प्रवक्ता मदन कोइरालाले जानकारी दिए ।

आयोजना प्रमुखकै गैरजिम्मेवारीका कारण काम ढिलासुस्ती भएको प्रारम्भिक निष्कर्षमा अख्तियार पुगेको छ । उसले राष्ट्रिय आयोजनाका ठेकेदार, कर्मचारीदेखि आयोजना प्रमुखसम्म निगरानी बढाएको हो। पप्पु कन्स्ट्रक्सनविरुद्ध बर्दियाको जब्दीघाटको पुल ठेक्कामा भएको अनियमिततामा विस्तृत छानबिनपछि अख्तियारले विशेष अदालतमा मुद्दा दायर गरिसकेको छ ।

सहप्रवक्ता कोइरालाले अख्तियारले राष्ट्रिय गौरवका आयोजनामा विशेष निगरानी राखेको र छानबिन तीव्र्र रूपमा अगाडि बढाइएको देशान्तरलाई बताए । अधिकांश राष्ट्रिय गौरवका आयोजनामा बेथिति देखिएको अख्तियारले जनाएको छ । त्यस्ता कुनै पनि आयोजना समयमै पूरा भएका छैनन् । निर्माण सामाग्री कमसल तथा गुणस्तरहीन प्रयोग गरिएको छ । अनुगमनसमेत छैन ।

२०५९÷६० मा सुरु भएर २०७१÷७२ मा निर्माणसम्म गर्ने लक्ष्य रहेको सिक्टा सिचाइँ आयोजना अहिलेसम्म पूरा भएको छैन । महालेखा प्रतिवेदनले सिक्टाको अवधि र लगत दुवै वृद्धि भएको किटान गरेको छ । प्रतिवेदनअनुसार निर्माण गरेको संरचनासमेत भत्किएको छ । मुख्य नहरको ठाउँठाउँमा बेड फुटेको, सर्भिस रोड भत्किएको, नहरको स्लोप फुटेको र भत्किएको छ ।

सिक्टाका साथै रानी जमरा कुलरिया सिँचाइ आयोजना, हुलाकी राजमार्ग आयोजना, मध्यपहाडी लोकमार्ग आयोजनालगायत राष्ट्रिय गौरवका कुनै पनि आयोजना समयमा सकिएका छैनन् । समयमा निर्माण सम्पन्न हुन नसक्दा आयोजना लागत बढिरहेको छ ।

सहप्रवक्ता कोइरालाले समयमा आयोजना नसक्ने, गुणस्तरीय काम नगर्ने, समय समयमा अनुगमन नगर्ने र पटकपटक म्याद थप्ने कार्य अख्तियारको दुरुपयोग रहेको बताए ।