देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

स्वास्थ्यमन्त्रीले गरे स्वास्थ्य क्षेत्रमा परिवर्तन ल्याउने प्राथमिकता र कार्ययोजना सार्बजनिक

देशान्तर

काठमाडौ । स्वास्थ्यमन्त्री प्रदीप पौडेलले स्वास्थ्य क्षेत्रमा परिवर्तन ल्याउन प्राथमिकता र कार्ययोजना सार्बजनिक गरेका छन्। पौडेलले मन्त्रालयको प्राथमिकता र वार्षिक कार्ययोजना सार्वजनिक गर्दै आइतबार शहिद गंगालाल राष्ट्रिय हृदय केन्द्रमा सबै राष्ट्रिय खेलाडीको वार्षिक स्वास्थ्य परीक्षण निःशुल्क गरिने घोषणा गरे । यस्तै शिक्षक र स्थानीय तहका कर्मचारीलाई बानेश्वरस्थित निजामति कर्मचारी अस्पतालमा समान स्तरको सुविधा उपलब्ध गराउन पहल गर्ने प्रतिबद्धता जनाए ।सबै प्रकारका स्वास्थ्य संस्थामा २४ घन्टा इमर्जेन्सी, ओपिडी, अन्तरंग, भिडियो एक्सरे, फार्मेसी, ल्याब, प्रसुति सेवा सञ्चालनमा ल्याइने पत्रकार सम्मेलनमा मन्त्री पौडेलले जानकारी दिए ।
पौडेलले स्थानीय तह र प्रदेश सरकारहरूसँगको समन्वयमा पूर्वाधार, जनशक्ति र उपकरणको व्यवस्थापन गर्न एकीकृत स्वास्थ्य पूर्वाधार विकास परियोजना लागू गरिने बताए । मन्त्री पौडेलले विगतमा भएका अध्ययनलाई पुनरावलोकन गरी शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय र चिकित्सा शिक्षा आयोगसँगको समन्वयमा १ सय सय्यभन्दा माथिका सरकारी अस्पतालहरुमा नर्सिङ र ३ सय सय्याभन्दा माथिका सरकारी अस्पतालहरुमा स्नातक र स्नातकोत्तर तहका विषयहरु अध्ययन अध्यापन गराउने विषयमा अघि बढिने जानकारी उनले दिए
स्वास्थ्य जनशक्तिको हालको अवस्था विश्लेषण गरी आवश्यकता र कार्यदक्षताअनुसार विद्यमान जनशक्तिको समुचित व्यवस्थान र पुनर्वितरण गरिने उनको भनाइ थियो ।

नेपालबाहिर विभिन्न देशमा विज्ञता र अनुभव हासिल गरिरहेका स्वास्थ्य जनशक्तिको सीप र दक्षतालाई नेपालको स्वास्थ्य सेवा प्रणालीसँग आवद्ध गर्ने प्रबन्ध मिलाइने योजना पनि उनले अघि सारेका छन् ।