देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

एआईजी ज्ञवालीलाई गम्भीर कारबाहीको सम्भावना

देशान्तर

काठमाडौं । राजनीतिक नेतृत्वले आफू अनुकूल प्रहरी महानिरीक्षक बनाउने खेल बेलाबेलामा देखिने गरेको भए पनि नेपालमा पहिलो पटक प्रहरीभित्रैबाट महानिरीक्षक फेरबदलको प्रयास भएको र यो प्रयासको नेतृत्व नेपाल प्रहरीका अतिरिक्त महानिरीक्षक –एआईजी), केन्द्रीय अनुसन्धान ब्युरो सीआईबीका प्रमुख श्यामलाल ज्ञवालीले गरेको खुलासा भएको छ, जुन प्रहरी प्रधान कार्यालयले ज्ञवालीमाथि छानबिन गर्न अर्का एआईजी टेकप्रसाद राईको नेतृत्वमा समिति गठन गरेपछि सार्वजनिक भएको छ । निर्वतमान गृहमन्त्री रवि लामिछानेको आडमा उनले संगठनको ‘चेन अफ कमान्ड’ उल्लंघन गर्ने कार्यहरू गरेकोले उनीमाथि गम्भीर कारबाहीको तयारी भइरहेको प्रहरीको उच्च स्रोतले देशान्तरलाई बताएको छ । 

 ज्ञवालीविरुद्ध आईजीपी वसन्त कुँवरको सचिवालयमा परेका विभिन्न उजुरी परेको र ती उजुरीमाथि छानबिन गर्न समिति बनाइएको भनिए पनि भित्री कुरो भने ज्ञवालीले कुँवरलाई प्रहरी महानिरीक्षकबाट हटाई आफू प्रहरी महानिरीक्षक षड्यन्त्र रचेको र तत्कालीन गृहमन्त्री रवि लामिछानेलाई त्यसतर्फ अग्रसर गराएको गम्भीर आरोप ज्ञवालीमाथि लागेको हो । 

प्रहरीका कुनै पनि अधिकारीमाथि आफ्नै हाकिमलाई ‘कू’ गर्न खोजेको आरोप लागेको यो पहिलो पटक हो । आगामी भदौ २६ मा अवकाशमा जान लागेका ज्ञवालीले त्यसअगावै आफू आईजीपी बन्न रविले जे भन्छन् त्यही गर्नेमात्रै होइन, चेन अफ कमान्ड नै उल्लंघनसम्मका हर्कत पनि उनले गरेका छन् । 

त्यसो त तत्कालीन गृहमन्त्री रवि लामिछाने वसन्त कुँवरलाई कुनै पनि बहानामा आईजीपीबाट हटाउन चाहन्थे र ज्ञवालीलाई आईजीपी बनाउन चाहन्थे । जेठ अन्तिम साता नै लामिछानेले आईजीपी हटाउन प्रधानमन्त्री पुष्पकमल दाहाललाई पटकपटक दबाब दिएका थिए । कारण थियो, सहकारी प्रकरणमा प्रहरीले उनीमाथि गरिरहेको अनुसन्धान । सीआईबीले गरेको अनुसन्धान र पोखरामा प्रहरीले अनुसन्धानबाट रुष्ट लामिछानेले कुँवरलाई स्याक गरेर ज्ञवालीलाई आईजीपी बनाउन चाहेका थिए । तर, प्रधानमन्त्रीको अनिच्छाले उनको चाहना पूरा भएन । त्यसपछि लामिछानेले प्रहरीबाट हुने नियमित ब्रिफिङ कुँवरबाट लिनै छाडेका थिए । ज्ञवालीले यही मौकाको सदुपयोग गरे । 

गृहमन्त्रीलाई नियमित ब्रिफिङ गरिरहेका ज्ञवालीले गत असार दोस्रो साता आफू आईजीपी बन्ने प्रपञ्च रचे, जतिबेला आईजीपी कुँवर, सशस्त्र प्रहरीका आईजीपी राजु अर्याल र गृहसचिव एकनारायण अर्याल अमेरिकामा थिए । उनीहरू अमेरिकाबाट नफर्किँदै ज्ञवालीलाई आईजीपी बनाउने खेल भएको थियो । तर यो खेल अमेरिकामै रहेका कुँवरले थाहा पाए र बीचमा नै ब्रेक गर्न सफल भएको प्रहरी सूत्र बताउँछ । 

नक्कली भुटानी शरणार्थी प्रकरणका मुख्य योजनाकार भनिएका बेचन झाको पक्राउ पनि यसैसँग जोडिएको छ । बेचनलाई पक्राउ गर्न ज्ञवालीले विशेष ब्युरो प्रमुख मनोज केसीलाई प्रयोग गरे । मनोज केसीले बेचन पक्राउ परेको एक सातासम्म यो प्रकरण गोप्य राखे । जसका बारेमा केसी र ज्ञवालीलाई मात्रै जानकारी थियो । स्रोत भन्छ, यसबारे जानकारी पाउने तेस्रो व्यक्ति सशस्त्र प्रहरीका एआईजी नारायणदत्त पौडेल हुन् र उनले बेचनलाई भारतसँगको सीमा नाका कञ्चनपुरको गड्डाचौकीदेखि काठमाडौंसम्म गोप्य रूपमा ल्याउन सहयोग गरे । तर, पौडेलले भने त्यसमा आफ्नो कुनै संलग्नता नरहेको दाबी गर्दै आएका छन् ।

स्रोतका अनुसार बेचनलाई भारतीय प्रहरीको सहयोगमा असार ७ गते साँझ दिल्लीमा पक्राउ गरिएको थियो र ८ गते साँझ गड्डाचौकीमा ल्याइएको थियो । सिमानामा सशस्त्र प्रहरीले बुझेर उनलाई स्थलमार्ग हुँदै ९ गते साँझ धादिङ ल्याइएको थियो । ९ गते नै धादिङमा बयान लिएर १० गते काठमाडौं ल्याइयो । तर, प्रहरीले असार १३ गते मात्रै उनलाई पक्राउ गरिएको भनेर सार्वजनिक गरियो, त्यो पनि ज्ञवाली नै प्रमुख रहेको सीआईबीबाट, जबकि नक्कली भुटानी शरणार्थी प्रकरणको मुद्दा काठमाडौं प्रहरीले चलाएको थियो । बेचनलाई काठमाडौंं प्रहरीमा किन बुझाइएन भन्ने प्रश्न पनि प्रहरीमा अहिले पेचिलो बनेको छ । प्रलोभन देखाएर बेचनको बयान लिने र अन्य राजनीतिक दलका नेताहरूमाथि हिट गर्ने प्रहरीको योजना थियो, जब बेचनले इन्कारी बयान दिए, सबै योजना चौपट भयो । 

योसँगै ज्ञवालीमाथि लागेको अर्को आरोप हो, चेन अफ कमान्डको उल्लंघन । प्रहरी प्रमुखलाई जानकारी नै नदिई गृहमन्त्रीलाई ब्रिफिङ गर्ने, प्रहरी प्रमुखले मागेको सूचना उपलब्ध नगराउने र मागेको विवरण पनि उपलब्ध नगराउने गरेको आरोप पनि ज्ञवालीमाथि लागेको छ । पछिल्लो पटक तत्कालीन सेन्चुरी बैंकको कर्जा हिनामिना प्रकरणमा आरोपीसँग साँठगाँठ गरेको, ६० किलो सुन तस्करी प्रकरणका आरोपी जीवन चलाउनेसँग मोलमोलाइ गरेकोलगायत विषयमा पनि अहिले ज्ञवालीमाथि छानबिन भइरहेको छ । 

स्रोतका अनुसार प्रहरी महानिरीक्षक कुँवरले अमेरिका उड्नुअघि सीआईबीले अनुसन्धान गरिरहेको एउटा मुद्दाको सक्कलै मिसिल ज्ञवालीसँग मागेका थिए । तर, उनले असार ९ मा विशेष सरकारी वकिलको कार्यालयलाई बोधार्थ दिँदै आईजीपीको सचिवालयमा मिसिल पठाइदिए, जसलाई प्रहरी प्रधान कार्यालयले ज्ञवालीले गरेको गम्भीर अवज्ञाको रूपमा बुझेको छ । 

एकपछि अर्को घटना थपिँदै जाँदा प्रहरी प्रधान कार्यालयले उनीमाथि छानबिन थालेको हो, प्रधान कार्यालय स्रोत भन्छ । 

कुनै पनि एआईजीमाथि यसरी गरिएको छानबिन यो पहिलो हो र यदि छानबिनमा दोषी पाइए ज्ञवाली जेल जान सक्ने प्रहरी अधिकारीहरू नै बताउँछन् । आर्मीमा यस्तो भएको भए पहिले नै कोर्टमार्सल भइसक्थ्यो, प्रहरीमा त्यो व्यवस्था नभएर मात्र हो, एक प्रहरी अधिकारीले भने ।  (देशान्तर साप्ताहिकबाट)