देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

सिलवालको ‘सपना र यथार्थमा अमेरिका’ सार्वजनिक

देशान्तर


काठमाडौ । सानुबाबु सिलवालद्वारा लिखित ‘सपना र यथार्थमा अमेरिका’ पुस्तक शुक्रबार एक समारोहका बीच सार्वजनिक गरिएको छ । कार्यक्रमका प्रमुख अतिथि मन्त्रिपरिषद्का पूर्वअध्यक्ष खिलराज रेग्मीलगायतका व्यक्तित्वहरूको हातबाट पुस्तक सार्वजनिक गरिएको हो ।
पुस्तक विमोचन गर्दै अध्यक्ष रेग्मीले सत्कर्म, सत्प्रयास, सत्चरित्रबाट नै मानिस सफल हुने बताउँदै अमेरिकामा रहेर पनि नेपाल र नेपालीप्रति चिन्ता राख्ने, नेपालीको भलाइका लागि लागिपर्ने सिलवालको प्रशंसा गरे । उनले अमेरिकालगायत विश्वका जहाँ रहे पनि नेपालीहरूलाई आफ्नो मातृभूमिको माया रहेको कुरा सिलवालले नेपालमा आएर पुस्तक विमोचन गर्नुले पुष्टि गरेको बताए ।


२८३ पृष्ठको पुस्तकमा संयुक्त राज्य अमेरिकाको परिचय, अमेरिकामा नेपालीहरूको अवस्था, अमेरिकी जीवन प्रारम्भका लागि सुझावहरू, अमेरिकामा अवसर, अर्थ व्यवस्थापन, अमेरिकामा कर, कानुनसम्बन्धी कुराहरू, सडक सुरक्षा र नियम, नेपालसँग सन्तरसम्बन्धलगायतका विभिन्न विषयहरू समावेश गरिएको छ । गीता सिलवालले प्रकाशन गरेको पुस्तकको मूल्य पाँच सय रुपैयाँ रहेको छ ।
कार्यक्रममा पुस्तक विमोचन कार्यक्रमको आयोजक संस्था यूएस नेपाल चेम्बर अफ कमर्स अमेरिकाका उपाध्यक्ष, वरिष्ठ पत्रकार एवं एनआरएनए अभियन्ता वेदप्रसाद खरेलले पुस्तकले वास्तविक अमेरिकाको बारेमा जानकारी गराएको बताए ।
सो अवसरमा पुस्तकका लेखक सिलवालले हाल अमेरिकामा ५ लाख नेपाली रहेको र ती नेपालीहरूको आर्थिक समृद्धिका लागि बाटो देखाउने काममा आफू लागिरहेको बताए । उनले अमेरिकामा अप्ठेरोमा रहेका नेपालीलाई सहयोग गर्न आफू निरन्तर लागिपरेको बताउँदै आफूलाई राति, बिहान, दिउँसो र हरेक क्षण समस्यामा परेका नेपालीको फोन आउने गरेको र आफू समाधानका लागि निरन्तर लागिरहेको बताए ।


कार्यक्रममा पूर्वराजदूत जयराज आचार्य, नेपाली कांग्रेसका केन्द्रीय सदस्य दीपक गिरीलगायतले पुस्तक पठनीय कृतिका रूपमा आएको बताए ।पुस्तकको समीक्षा वरिष्ठ पत्रकार पुरुषोत्तम दाहाल, तारा बरालले गरेका थिए । कार्यक्रममा सहभागी विभिन्न क्षेत्रका व्यक्तित्व, वरिष्ठ पत्रकारहरूले सोचेको अमेरिका र भोगिने अमेरिका फरक रहेको विचार व्यक्त गरेका थिए ।