काठमाडौं । एनआईसी एशिया बैंकले आफ्ना ग्राहकहरूलाई आफ्नो खातामा स्थायी लेखा नम्बर (प्यान) अध्यावधिक गर्न आग्रह गरेको छ । ग्राहकहरूको खाताबाट गरिएको करकट्टीको विवरण ‘आयकर ऐन २०५८’ बमोजिम स्थायी लेखा नम्बर प्रणालीमा आबद्ध गर्नुपर्ने भएकाले स्थायी लेखा नम्बर अद्यावधिक गर्न बैंकले आग्रह गरेको हो ।
बैंकका अनुसार, ग्राहकहरूले बैंकको पोर्टल panupdate.nicasiabank.com वा मोबाइल बैंकिङ एपमा रहेको ‘प्यान अपडेट’ विकल्पमा ट्याब गरी आफ्नो प्यान यथाशीघ्र अद्यावधिक गर्न सकिनेछ । साथै, ग्राहकहरूले आफूलाई पायक पर्ने यस बैंकको जुनसुकै शाखा कार्यालयबाट समेत आफ्नो खातामा प्यान अध्यावधिक गर्न आवेदन दिन सक्ने प्रबन्धसमेत मिलाइएको बैंकले जनाएको छ ।
साथै, यसअघि बैंकलाई प्यान उपलब्ध गराएर पनि करकट्टीको विवरण समावेश नभएको खण्डमा बैंकको नजिकैको शाखा कार्यालय वा ग्राहक सम्पर्क केन्द्रका फोन नम्बरहरूमा सम्पर्क गरी सेवा लिन पनि बैंकले आग्रह गरेको छ ।
यस बैंकबाट निक्षेपकर्ताको ब्याज भुक्तानीबापत काटिएको करलाई ई–टीडीएस रेकर्डमा जनाउनका लागि प्यान अत्यावश्यक हुन्छ । उक्त प्यान अद्यावधिक भएपश्चात् करकट्टीको विवरण (ई–टीडीएस) सो प्यानमा प्रविष्ट गरिने हुँदा आयकरको प्रणालीले स्वचालित रूपमा अनुसूची १० मा करकट्टीको विवरण मिलान गर्ने गर्छ । यसले गर्दाहरूलाई करकट्टी प्रमाणपत्र र कर चुक्ता प्रमाणपत्र प्राप्त गर्न सहज हुनुका साथै प्रमाणपत्र लिन बैंकसम्म धाउन पनि पर्दैन ।
एनआईसी एशिया बैंक मुलुकमा सबैभन्दा धेरै बैंकिङ सञ्जालहरू भएका बैंकहरूमध्येको बैंक हो । यस बैंकले मुलुकभर ३६० शाखा कार्यालयहरू, ६७० एटीएम, ११६ वटा विस्तारित काउन्टर एवं ५१ वटा शाखारहित शाखा सञ्जालमार्फत गुणस्तरीय बैंकिङ सेवा प्रदान गर्दै आइरहेको छ । यस बैंकले हालसम्म प्रत्यक्ष र अप्रत्यक्ष गरी कुल २३ अर्ब ७ करोडभन्दा बढी राजस्व नेपाल सरकारलाई भुक्तानी गरिसकेको छ भने गत आर्थिक वर्षमा मात्र ३ अर्ब ६१ करोडभन्दा बढी राजस्व नेपाल सरकारलाई दाखिला गरेको छ ।
प्रतिक्रिया