काठमाडौं । जारी विश्वकपको तेस्रो खेलमा आज समुह डी अन्तर्गत नेदरल्याण्डस र दक्षिण अफ्रिका खेल्दै छन् । न्यूयोर्कस्थित नसाउ काउन्टी स्टेडियममा हुने यो खेल नेपाली समय अनुसार राती ८; १५ बजेदेखि शुरु हुने छ । नेदरल्याण्डस र दक्षिण अफ्रिकाले आ–आफ्ना पहिलो खेलमा जित हासिल गरेर २–२ अंक बटुलेका छन् । नेदरल्याण्डसले नेपाललाई पराजित गरेको थियो भने दक्षिण अफ्रिकाले श्रीलंकालाई पराजित गरेको थियो । दक्षिण अफ्रिका र नेदरल्याण्डसबीच अहिलेसम्म २ टी–२० खेल भएका छन्, जसमा दुवैले एक एक खेल जितेका छन् । नेदरल्याण्डसले पछिल्लो २०२२ मा सम्पन्न टी–२० विश्वकपमा दक्षिण अफ्रिकालाई १३ रनले पराजित गरेर स्तब्ध बनाइदिएको थियो । त्यसैगरी आज चौथो खेल समुह बी अन्तर्गत अस्ट्रेलिया र इङल्याण्डबीच हुदै छ । बार्बाडोसस्थित केन्सिंगटन ओभल स्टेडियममा हुने यो खेल नेपाली समय अनुसार राति १०ः ४५ बजेदेखि हुने छ । जारी विश्वकपमा आफ्नो पहिलो खेलमा अस्ट्रेलियाले ओमानलाई पराजित गरेर २ अंक हासिल गरेको छ भने इङल्याण्डले भने स्कटल्याण्डविरुद्धको खेल बर्षाले रद्ध भएपछि एक अंक हासिल गरेको छ ।
अस्ट्रेलिया र इङल्याण्डबीच अहिलेसम्म २३ टी–२० अन्तर्राष्ट्रिय खेल भएका छन् । जसमा इङल्याण्डले ११ खेल जितेको छ भने अस्ट्रेलियाले १० खेल जितेको छ । त्यस्तै २ खेलको नतिजा आएको छैन । यस अघि आज बिहान भएको बंगलादेश र श्रीलंकाबीचको खेलमा श्रीलंकाले हार ब्यहोरेको थियो । बंगलादेशले श्रीलंकामाथि २ विकेटको रोमान्चक जित हासिल गरेको हो ।
श्रीलंकाले दिएको १२५ रनको लक्ष्य पछाएको बंगलादेशले १९ ओभरमा ८ विकेट गुमाउदै लक्ष्य पुरा गरेको थियो । यसअघि पहिला ब्याटिंग गरेको श्रीलंकाले २० ओभरमा ९ विकेट गुमाउदै १२४ रन बनाएको थियो । यो बंगलादेशको यस विश्वकपमा पहिलो खेल हो । यो जितपछि बंगलादेशले समुह डी मा महत्वपूर्ण २ अंक हासिल गरेको छ । त्यस्तै श्रीलंकाले भने लगातार दोस्रो हार बेहोरेको छ । श्रीलंकाले पहिलो खेलमा दक्षिण अफ्रिकासँग हार बेहोरेको थियो । अब बंगलादेशले अर्को खेल सोमबार दक्षिण अफ्रिकासँग खेल्ने तालिका रहेको छ भने श्रीलंकाले बुधबार बिहान नेपालसँग खेल्ने तालिका रहेको छ । यसैगरी आजै अफगानिस्तानले न्यूजील्याण्डलाई हराएको थियो । शनिबार बिहानसम्पन्न खेलमा अफगानिस्तानले न्यूजील्याण्डलाई ८४ रनको फराकिलो अन्तरले परजित गरेको हो । अस्गानिस्तानले दिएको १६० रनको लक्ष्य पछाएको न्यूजील्याण्ड १५.२ ओभरमा ७५ रनमा अल आउट भएको थियो ।
न्यूजील्याण्डका लागि ग्लेन फिलिपले १८ र माट हेनरीले १२ रन बनाएका थिए भने अन्य ब्याट्सम्यानले दोहोरो अंकमा रन बनाउन असफल भएका थिए । त्यस्तै अफगानिस्तानका बलर राशिद खान र फाजलहक फारुकीले ४–४ विकेट लिएका थिए भने मोहमद नावीले २ विकेट लिएका छन् । यसअघि टस हारेर पहिला ब्याटिंग गरेको अफगानिस्तानले २० ओभरमा ६ विकेट गुमाएर १५९ रन बनाएको थियो । अफगानिस्तानका लागि रह्मतुल्लाह गुरबाजले सर्बाधिक ८० रन बनाए भने इब्राहिम जर्दानले ४४ र अजमातुल्लाह ओमरजाईले २२ रन बनाएका थिए । यो अफगानिस्तानको न्यूजील्याण्डविरुद्ध टी–२० अन्तर्राष्ट्रिय खेलमा अहिलेसम्मकै पहिलो खेल हो । समुह सी मा रहेको अफगानिस्तानले लगातार दोस्रो जित हासिल गर्दै ४ अंक हासिल गरेको छ र शिर्ष स्थानमा रहेको छ । यस अघि पहिलो खेलमा अफगानिस्तानले युगाण्डालाई पराजित गरेको थियो । अब न्यूजील्याण्डले अर्को खेल जुन १३ मा वेस्ट इन्डिजसँग खेल्ने छ भने अफगानिस्तानले जुन १४ मा पिएनजीबिरुद्ध खेल्ने तालिका रहेको छ ।
प्रतिक्रिया