गजल काव्य साहित्यको सुकोमल, हार्दिक र गेय भेद हो । अरबबाट उर्दू, हिन्दी हुँदै नेपाली साहित्यमा आदिकवि मोतीराम भट्टले प्रवेश गराएको गजलले आजसम्म आइपुग्दा नेपाली साहित्यमै सवा सय वर्षभन्दा लामो यात्रा तय गरिसकेको छ ।
सुरुआतमा उर्दू, हिन्दी गजल परम्परालाई आत्मसात् गरेर नेपाली साहित्यमा भित्रिएको गजल विशेषगरी विक्रमको २००० को दशकमा उपेन्द्रबहादुर ‘जिगर’को
एक सय एक गजल’ कृतिबाट केही विचलित बन्यो । गजलको परम्परागत शास्त्रीयताबाट अलग भयो । तथापि, उक्त पुस्तकको लेखकीय मन्तव्यमा जिगरले प्रस्ट भनेका छन्– गजल शास्त्रीय बहरमै लेखिन्छ, मैले त्यसको पालना गर्न सकिनँ ।
तीन दशक जति सुस्ताएको गजद २०३० को अन्त्यतिर ’मुक्तक माहोल’सँगै पुनर्जागृत भयो तर गजलको परम्परागत शास्त्रीयतालाई छाडेर । यो क्रम करिब साढे दुई दशक चल्यो । २०६० को दशकमा आएर गजलमा शास्त्रीयताको खोजी सुरु भयो । यही खोजीका क्रममा सामूहिक÷संस्थागत थजललेखन, वाचन, प्रशिक्षण, गोष्ठी, महोत्सव सुरु भए । ‘अनाममण्डली’ यसको अगुवा संस्थाका रूपमा रह्यो ।
अनाममण्डलीले ‘गजल परिष्कार अभियान’ नै चलायो करिब १० वर्ष । सामान्य लयबाट समेत विचलित नेपाली गजलमा लयको अनिवार्यतासँगै शास्त्रीय बहरको अत्यावश्यकताको बोध गराउन अनाममण्डली सफल भयो । यस अर्थमा अनाममण्डलीलाई नेपाली गजल परिष्कार अभियानको कोशेढुंगा मानिँदै आएको छ ।
२०७० को दशकमा अन्तर्राष्ट्रिय नेपाली गजल मञ्चलगायत सामाजिक सञ्जालका विविध समूह, पेज र पाठशालासँगै गजललेखन र प्रशिक्षण अनि परिष्कार अभियानमा व्यापकता आयो । यसको परिणाम धेरै हदसम्म गजल परिष्कारको बाटोमा हिँड्न थाल्यो ।
यसबीचमा त्रिभुवन विश्वविद्यालयलगायत अन्य विश्वविद्यालयबाट गजलबारे प्राज्ञिक अध्ययनको क्रम तीव्र बन्यो । गजल भनेर लेखिएका केही रचना विश्वविद्यालयका पाठ्यक्रममा समावेश भए र गजलबारे अल्पअध्यापन सुरु भयो ।
गजलमै आधा दर्जन विद्यावारिधि सम्पन्न भए । तर, दुःखको कुरा– गजलका नाममा विद्यावारिधि गरपए÷गराइए पनि गजलको शास्त्रीयताबारे शोध गराइएको पाइँदैन । सिर्जनाका अन्य पक्षहरू जस्तैः परम्परा, प्रवृत्ति, रस, भाव आदिबारे शोध गराइएको छ । ती शोधमा गजलको शास्त्रीय पक्ष अत्यन्त कम र कमजोर रूपमा आएका छन् । यसको प्रमुख कारण विश्वविद्यालयमा गजलको शास्त्रीयता बुझेका प्राध्यापकहरू नहुनु र शोधकर्तालाई ‘डा.’ उपाधि लिए पुग्ने मानसिकता हुनु हो ।
अहिले गजलको शास्त्रीयता खोजीको क्रम बढिरहेका बेला हालसम्म शोध गरिएका÷गराइएका शोधपत्रहरूमाथि नै प्रश्न उठ्ने देखिन्छ । किनभने, ती शोधहरूमा समेटिएका धेरैजसो कृति÷रचना शास्त्रीयताका आधारमा गजलको मान्यताभित्र नपर्ने रहेछन् । गजल भनेर शास्त्रीयता बाहिरका रचनामा विद्यावारिधिसम्म गराउने विश्वविद्यालय र प्राध्यापकहरूमाथि पनि स्वाभाविक रूपमै प्रश्न उठ्छ । यस कारण यतातिर अब विश्वविद्यालय तथा प्राध्यापकहरूले सोच्न आवश्यक देखिन्छ ।
तर, अहिले नेपाली साहित्यमा धेरै लोकप्रिय भइसकेको गजलका बारे व्यापक खोजी, अध्ययन र बहस जारी छन् । यसले पक्कै नेपाली गजललाई परिष्कृत गर्नेछ । यद्यपि, गजलबारेका अन्योल र भ्रम उत्तिकै देखिन्छन् ।
नेपाली गजल स्पष्टतः उर्दू, हिन्दी गजल परम्पराबाट विकसित हो । यसर्थ, गजल भन्नेबित्तिकै हामी पहिला उर्दू, हिन्दी परम्परामा पुग्छौँ÷पुग्नै पर्छ । यसको मतलब उर्दू, हिन्दी गजल परम्पराबाट नेपाली गजलले संरचनात्मक शास्त्रीय प्रविधि लिएको छ । त्यही प्रविधिभित्र रहेर गजल सिर्जना गरिनुपर्ने एउटा मत छ भने अर्को मत ती आयातीत प्रविधिबाट केही मुक्त रहेर रचना गरिनुपर्ने देखिन्छ ।
यस्तो मत विशेषगरी गजलको लयमा बढी विवादित छ । गजल गेय विधा भएकाले यसका लागि शास्त्रीय छन्द (बहर) बनाइएका छन् फारसीमा, जसलाई उर्दू, हिन्दीमा समेत अंगीकार गरिएको छ । त्यही लय विधान अर्थात् शास्त्रीय बहरमै नेपाली गजल लेखिनुपर्ने मत अहिले तीव्र बनेको छ ।
२०७६ माघमा नेपाल प्रज्ञा प्रतिष्ठानले आयोजना गरेको ‘राष्ट्रिय गजल महोत्सव’का सन्दर्भमा अग्रज गजल स्रष्टा, विज्ञ, समालोचक, प्राध्यापक, अभियन्तासमेतको संलग्नतामा गरिएको घोषणामा समेत गजल बहरमै लेखिने विधा भएको प्रस्ट उल्लेख गरिऐको छ । यद्यपि, अभ्यास भने बहरइतर पनि भइरहेका छन् ।
अर्कातर्फ, अहिले बहरमा लेखन रहर र लहडका रूपमा अघि बढिरहेको छ । रहरले त अध्ययन र परिष्कारसमेत गराउला तर लहडले अराजकतातर्फ हुत्याउँछ । केही स्रष्टाहरू व्यापक र गहन अध्ययनसहित अभ्यासमा देखिन्छन् तर धेरैजसो स्रष्टाले स्वयं अध्ययन नगरी अग्रज र समकालीनका बुझाइ तथा मान्यता र अभ्यासका आधारमा लेखिरहेका छन् । यसमा गजलकै क्षेत्रमा समर्पित, उच्च प्राज्ञिक प्रमाणपत्र लिइसकेकाहरू समेत छन्, जसले गलत ‘स्कुलिङ’ दिइरहेका छन् ।
यसको कारण गजलका उर्दू, हिन्दीमा प्रचलित संरचनात्मक वा प्राविधिक मान्यता मात्र लिइनुपर्नेमा भाषिक संरचनालाई पनि उर्दू, हिन्दीकै समकक्षतामा प्रयोग गरिनु हो । हरेक भाषाका आ–आफ्नै संरचना, स्वरूप, उच्चारण हुन्छन्, ती सबै भाषामा उस्तै हुँदैनन् । देवनागरी लिपिमै लेखिने भए पनि संस्कृत, उर्दू, हिन्दी र नेपाली भाषाका संरचना, स्वरूप र उच्चारण भिन्न छन् । यसलाई सर्जकले नबुझ्नाले तथा ‘गुरु’हरूले नबुझाइदिनाले पनि यस्तो भएको हो ।
सँगै, पिंगल छन्द र फारसी बहर एकै होइनन् भन्ने बुझाइले पनि भ्रम सिर्जना गरिरहेको छ । बहर छन्दबाटै निःसृत हो भन्ने बुझ्न÷बुझाउन नसक्नुको परिणाम पनि शो यो । केहीले यस्तो धारणा बनाइदिए कि छन्दभन्दा बहर सजिलो छ, खुकुलो छ, स्वतन्त्र छ । यो सरासर गलत र भ्रामक कुरा हो । बहरमा अपनाइने ‘छुट’ वा ‘लचकता’को सुविधालाई लिएर यसो भनिएको हो तर छुट वा लचकता सिद्धान्त होइन, जसको प्रयोग जहाँतहाँ र अनिवार्य गरियोस् । छुट वा लचकताको प्रयोगका नियम छन्दमा लेख्दाका भन्दा धेरै गाह्रा र जटिल छन् भन्ने पनि बुझ्न÷बुझाउन सकिएको छैन ।
यसर्थ, गजल रहर र लहडमा मात्र लेखिँदैन, निरन्तरको अध्यया, साधना र अभ्यास गजल लेखनका प्राथमिक सर्तहरू हुन् ।
प्रतिक्रिया