काठमाडौं । नेपालमा केबुलकार भित्र्याउने उद्यमी लक्ष्मणबाबु श्रेष्ठको पुस्तक गत शुक्रबार राजधानीमा विमोचन गरिएको छ । लक्ष्मणबाबु श्रेष्ठ स्मृति कोषले आयोजना गरेको कार्यक्रममा वरिष्ठ राजनीतिज्ञ विश्वबन्धु थापाले ‘नेपालमा केबुलकारका स्रष्टा लक्ष्मणबाबु श्रेष्ठ’ नामको पुस्तक विमोचन गरेका हुन् ।
लक्ष्मणका गुरुसमेत रहेका थापाले चेलाका सम्बन्धमा भने, ‘केही मानिस स्पष्ट बाटो हिँड्छन् र गन्तव्यमा पनि पुग्छन् । लक्ष्मणबाबु यस्तै मानिस थिए । अगाडि बढ्नु छ भने उनीजस्तै उद्देश्य राखेर झुट नबोली अडानका साथ काम गर्नुपर्छ ।’ आफूलाई लक्ष्मणलाई जागिर लगाइदिन आग्रह गर्ने क्रममा भेट हुँदा पढ्न सुझाव दिएको उनले स्मरण गरे । उनले भने, ‘उसलाई नेपाली होइन, अंग्रेजी पढ्नुप¥यो रे भनेपछि मैले साँझतिर मेरामा पढ्न पठाइदिनू, उसलाई अंग्रेजी म पढाइदिन्छु भनें । पछि त उनी साथीजस्तै भए । पत्नीलाई दिदी मानेर भाइटीका लगाउन थालेपछि पारिवारिक सम्बन्ध गाँसियो ।’
उपप्रधान एवं परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठले लक्ष्मणबाबुका तीन कुरा प्रेरणादायी रहेको बताए । ‘उनी साहस र संकल्प गर्ने व्यक्तित्व हुन् । दोस्रो, उनी सिर्जनात्मक व्यक्तित्व पनि हुन्’, उनले भने, ‘तेस्रो, कामप्रति निष्ठापूर्वक लाग्ने जुन समर्पणसहितको हुन्थ्यो ।’ राष्ट्र निर्माणमा कसरी योगदान दिने भनेर सधैं चिन्तित हुने कर्मवीर र निडर लक्ष्मणबाबुले धेरैलाई देश विकासमा योगदान गर्न प्रोत्साहित गरेको उनको भनाइ छ । उनले भने, ‘सामाजिक–आर्थिक रूपान्तरणमा दूरदृष्टि भएका उनी हाम्रा लागि आर्थिक समृद्धिमा प्रेरणा प्रदान गर्ने व्यक्ति पनि हुन् ।’
अनुसन्धानकर्ता, संकलक एवं लेखक प्रा.डा. जयराज आचार्यले असम्भव जस्तै लाग्ने केबुलकार नेपाल भित्र्याउनु चानचुने कुरो नभएको समय २०५५ सालमा हिम्मत बटुलेर मनकामना मन्दिरसम्म लाखौं भक्तजनलाई जोड्न लक्ष्मणबाबु सफल भएको बताए । उनले भने, ‘उहाँको यो साहस, चितवनमा एक अर्ब लगानी गरेर चितवन मिल्क खोलेको र जलविद्युत्का योजना सुरु गर्ने व्यक्तित्व भएकाले यो किताब लेख्ने काम गरें ।’ लक्ष्मणबाबुले पैसाभन्दा मित्र कमाउनु पर्छ भन्ने सन्देश दिएको सुनाउँदै उनले थपे, ‘धोका दिनेसँग पनि नरिसाई मुस्कुराउन सिकाउनु भएको छ । उहाँ कहिल्यै रिसाएको देखिनँ पनि ।’
पुस्तकका अर्को अनुसन्धानकर्ता, संकलक एवं लेखक विवेक गौतमले लक्ष्मणबाबु व्यवस्थापनका इन्साइक्लोपेडिया भएको बताए । उनले भने, ‘समस्याहरूसँग जुध्न सक्ने क्षमता लक्ष्मणबाबुमा अद्भुत पाएँ । व्यवस्थापनमा पनि आवश्यकताअनुसार परिमार्जन गर्दै व्यावहारिक ढंगबाट काम गर्ने खुबी प्रशंसनीय छ ।’ पूर्वराजदूत एवं सहपाठी सूर्यप्रसाद श्रेष्ठले नेपालमा प्रविधि भित्र्याउन लक्ष्मणबाबुको ठूलो हात रहेको बताए । ‘त्यो बेला जतिबेला संकट थियो, उनले केबुलकारजस्तो प्रविधि भित्र्याए । यस्ता उद्योगधन्दाले देश विकासमा टेवा पु¥याउँछ’, उनले भने, ‘उहाँले देखाएको परिवर्तनको बाटोले समाजलाई अगाडि बढाएको छ ।’ नयाँनयाँ प्रविधि के, कुन, कसरी, कहिले ल्याउने र कसरी प्रयोग गर्ने विवेक लक्ष्मणबाबुमा भएको उनको भनाइ थियो ।
श्रेष्ठका कान्छो छोरा राजेशबाबु श्रेष्ठले पुस्तकमा १६ वटा शीर्षकमा बाल्यकाल, विद्यार्थी काल, व्यावसायिक जिम्मेवारी र अन्तर्वार्ताहरू समेटिएको बताए ।
१० वर्षअघि दिवंगत लक्ष्मणबाबुबारेको यो पुस्तक न्यु नेपाल प्रेसले प्रकाशन गरेको हो भने किताब जात्रा अनलाइनबाट विश्वभर पु¥याउने व्यवस्था गरेको छ । किताब बिक्रीबाट हुने आम्दानी ट्रस्टमार्फत समाजसेवामा खर्च गरिने कार्यक्रममा जानकारी दिइएको थियो ।
प्रतिक्रिया