देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

भरतपुर १९ मा पुन: मतदान गर्न सर्वोच्चको आदेश

देशान्तर

काठमाडौं । सर्वोच्च अदालतले चितवनको भरतपुर महानगरपालिका वडा नम्बर १९ मा पुनः मतदान गराउन आदेश दिएको छ । न्यायाधीशद्वय ओमप्रकाश मिश्र र पुरुषोत्तम भण्डारीको इजलासले पुनः मतदान गराउन आइतबार आदेश दिएको हो ।

भरतपुर महानगरपालिकाको वडा नम्बर १९ को मतगणना भइरहेको बेला गत जेठ १५ गते मध्यराति माओवादी कार्यकर्ताहरुले मतपत्र च्यातेपछि गणना रोकिएको थियो । मेयरमा एमाले उम्मेदवार देबि ज्ञवाली र माओवादी उम्मेदवार रेणु दाहालबीच प्रतिस्पर्धा भइरहेको बेला ९१ वटा मतपत्र च्यातिएको थियो ।

निर्वाचन आयोगले पुनः मतदान गराउने निर्णय गरे पनि त्यसविरुद्ध वडा नम्बर १९ का एमाले उम्मेदवार गुन्जमान विक र अधिवक्ता तुलसी पाण्डेले सर्बोच्चमा रिट दायर गरेका थिए । सो रिटमा फैसला गर्दै सर्वोच्चले यसअघि निर्वाचन आयोगले गरेको निर्णय सदर गरेको हो । फैसलामा च्यातिएका मतपत्र रद्द गर्दै बाँकी मतपत्र पुनः गणना गर्नुपर्ने माग कानुन विपरित नभएको उल्लेख छ ।

मतपत्र च्यातिने जस्ता घटना दोहोरिन नदिन गणनास्थलमा आवश्यक सुरक्षा व्यवस्था मिलाउन पनि सर्वोच्चले निर्वाचन आयोगलाई निर्देशन समेत दिएको छ । वाईसीएल जिल्ला अध्यक्ष मधु न्यौपाने र प्रतिनिधि द्रोण सिवाकोटीले मतपत्र च्यातेका एमाले नेताहरूले आरोप लगाएका छन् । माओवादी नेताहरुले भने रेणु दाहालले देबी ज्ञवालीसँगको मत अन्तर घटाइरहेको देखेर आत्तिएका एमाले कार्यकर्ताहरुले मतपत्र च्यातेको दाबी गरेका छन् ।