काठमाडौं । डेढ दशक लामो समयदेखि निरन्तर भिडियो छायांकनमा व्यस्त रहेका अजय रेग्मी नेपाली म्युजिक भिडियो क्षेत्रमा रोजाइका स्थापित छायाकार बन्न पुगेका छन् ।
दाङको तुल्सीपुर उपमहानगरपालिका— १८ का स्थायी बासिन्दा रेग्मीले काठमाडौंमा आएर संघर्ष गर्न थालेको १५ वर्ष बिताइसकेका छन् । दाङमै रहँदै लोभी दुनियाँ भन्ने चलचित्र खिचेका उनले अरूले खिचेको हेरेरै सिकेका हुन् । काठमाडौं आएर सिनेमा खिच्ने सपना बोकेका उनले सुरुका सात वर्ष गीतकार प्रकाश सुवेदीको क्रियटिभ मनकामना नामक प्रोडक्सन कम्पनीमा क्यामेरा टेकरको रूपमा काम गरेपछि पहिलो भिडियो छायांकन गर्ने मौका पाए जस्लाई निर्देशन गरेका थिए वसन्त रेग्मीले । त्यसपछि विस्तारै अजयले आफ्नो कामको गतिलाई अगाडि बढाउने मौका पाए ।
उनले छायांकन गरेको अर्को गीत निर्देशनसमेत गरेका गीतकार लोकराज अधिकारीको शब्द अञ्जु पन्तको स्वरमा रहेको गीत मर्छु बरु छटपटीमा तिम्रो सामु पर्दिन म बोलको गीत चर्चित भएपछि त अजय धेरै मेकर निर्देशकको नजरमा परे । त्यसयता अजयले फर्केर हेर्नु परेन । हालसम्म दुई हजारभन्दा बढी गीत छायांकन गरेका रेग्मीका दर्जनौं गीत हिट छन् भने दर्जनौ युट्युबको करोड क्लबमा छन् । उनका करोड क्लबमा परेका दस गीतहरूमध्ये, हामी पनि नाच्नु पर्छ बीच बीचमा, छोरी, मायालु आजैलाई, माया हाँसेको, साराङकोटको डाँडैमा, माझी दाइ, कल्ले बोलायो, सान्नानी, राखी (बेहुला २), सोल्टी बजारमा जस्ता रहेका छन् ।
नेपालमा हुने अवार्डहरूमा हालसम्म उत्कृष्ट छायाँकारका रूपमा उनले दर्जनभन्दा बढी अवार्ड जितेका छन् । कुनै अवार्डमा लगातार दुई वर्ष त कुनै अवार्डमा त्यस वर्ष गरी उनले लोकदोहोरी अवार्ड, राप्ती म्युजिक अवार्ड, छायाँछवि तीज म्युजिक अवार्ड, संगीत उद्योग संघको नेसनल म्युजिक अवार्ड, एपिक अवार्डलगायत १४ वटा ट्रफी उचालिसकेका छन् ।
मीठो क्रियसनमार्फत गीतसंगीत र भिडियो उत्पादनमा समेत लागेका अजयलाई भिडियो निर्माणमा मोडलसमेत रहेकी नम्रता अर्यालले सघाउँदै आएकी छन् । रेग्मीले आफूले खिचेको भिडियोमा नयाँ पुराना सबैलाई फ्रेममा कैद गरेको बताएका छन् । महानायक राजेश हमालदेखि, वरिष्ठ कलाकार नीर शाह, अभिनेताहरू सरोज खनाल, आर्यन सिग्देल, पल शाह, त्यसैगरी अभिनेत्री गौरी मल्ल, प्रियंका कार्की, रमा थपलिया, चर्चित हास्य कलाकार सागर लम्साल बले, आफूलाई इन्टरटेनर भनेर चिनाउने दुर्गेश थापालगायत अहिलेका म्युजिक भिडियोका चल्तीका सबैलाई उनले छायांकनका क्रममा आफ्नो क्यामेराको फ्रेममा कैद गरेका छन् । प्रविधिमा नयाँनयाँ परिवर्तन आइरहेकोले आफूले त्यसबारेमा पनि अध्ययन गर्दै अपडेट हँुदै गरेको रेग्मीले देशान्तरलाई बताए ।
प्रतिक्रिया