देशान्तर विशेष संवाददाता
काठमाडौं । चौतर्फी रूपमा सरकारको आलोचना बढिरहँदा, प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड स्वयम्समेतले सरकारको कार्यशैलीबाट सन्तुष्ट हुन सकेको छैन भनी सार्वजनिक रूपमै स्वीकार्दा मन्त्रिमण्डल पुनर्गठन गरी कार्यशैली सुधार्ने सोचमा रहेका उनी नेतृत्व परिवर्तनकै कुरा उठ्न थालेपछि हच्किएका छन्, विशेषतः सरकारमा सहभागी सबैभन्दा ठूलो दल नेपाली कांग्रेसमा सरकारले ‘डेलीभरी’ दिन सकेन भनेर चर्को असन्तुष्टि बढिरहेको र प्रधानमन्त्रीको आफ्नै दल माओवादीमा समेत पुनर्गठनले झन् विवाद बढ्ने देखिएपछि आफ्नो कुर्सी टिकाउन प्रधानमन्त्री पछि हटेको उनी निकट सूत्रले देशान्तरलाई बताएको छ । आलोपालोको कारण ‘वेटिङ’मा बसेका नेपाली कांग्रेसका सभापतिको मौनताले पनि पुनर्गठन रोक्नलाई सहयोग गरेको स्पष्ट छ । यद्यपि कांग्रेसभित्र सरकारको कार्यशैली र अन्य राष्ट्रिय मुद्दाहरूलाई लिएर केन्द्रीय समिति र संसदीय दलको बैठक गर्नुपर्ने माग चर्को रूपमा उठेको छ । तर, सभापति शेरबहादुर देउवा मौन बस्नाले प्रचण्डलाई सहयोग पुगेको छ ।
वर्तमान सत्ता गठबन्धनले सुशासन, सेवाप्रवाह, रोजगारी सिर्जना, अर्थतन्त्र सुधार, विकास निर्माणलाई तीव्रतालगायत ११ बुँदे प्रतिबद्धता सार्वजनिक गरे पनि आफ्नै प्रतिबद्धताको कार्यान्वयन हुन नसकेपछि दलहरूकै बीचमा सरकारको कार्यशैली र अकर्मण्यतालाई असन्तुष्टि चुलिएको छ भने केही मन्त्रीका कारण सरकार बदनामसमेत भइरहेको छ ।
विशेषगरी उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठ, अर्थमन्त्री प्रकाशशरण महत, भौतिक पूर्वाधारमन्त्री प्रकाश ज्वाला, पर्यटनमन्त्री सुदन किरातीलगायत मन्त्रीहरूका कारण गठबन्धनभित्रै विवाद बढेको छ । कांग्रेस नारायणकाजीलाई जसरी पनि गृहमन्त्रीबाट हटाउन चाहन्छ भने महतका कारण अर्थतन्त्र सुधार हुन नसकेको माओवादीको निष्कर्ष छ । ठूलो बजेट भएर पनि ज्वालाले विकास निर्माणका कामलाई अघि बढाउन नसकेको आरोप लागेको छ । गठबन्धन दलले आशा गरेर सरकारमा पठाएका नेतृत्वका विश्वासपात्र भनिएकै मन्त्रीहरूका काम राम्रो नदेखिएपछि सरकार त आलोचित भएको छ नै, गठबन्धनका दलहरूबीच पनि मनमुटाव भुसको आगोसरी सल्कँदै गएको राजनीतिक विश्लेषकहरू बताउँछन् ।
कोप-२८ मा सहभागी हुन दुबई जानुअघि नै पार्टीभित्र मन्त्रिपरिषद् फेरबदलबारे पार्टीभित्र र गठबन्धनका शीर्ष नेताहरूसँग छलफल गरेका प्रधानमन्त्री प्रचण्ड दुबईबाट फर्केपछि भने हच्किएका छन् । सरकारमा रहेका मन्त्रीहरूसँगै नेतृत्व अर्थात् प्रधानमन्त्रीको कार्यशैलीमाथि पनि प्रश्न सोझिने र मन्त्रीहरूको बहानामा प्रधानमन्त्री पनि फेर्ने गृहकार्य गठबन्धनभित्रै सुरु हुने सुइँको पाएर प्रचण्ड मन्त्रीहरूलाई यथावत् राख्ने मनस्थितिमा पुगेको सरकारकै एक मन्त्री बताउँछन् ।
विश्वस्त सूत्रबाट देशान्तरलाई प्राप्त जानकारीअनुसार यो काममा सबैभन्दा बढी अग्रसर गृहमन्त्री नारायणकाजी श्रेष्ठ देखिएका छन् । श्रेष्ठ तिनै पात्र हुन्, जसको कामप्रति गठबन्धनकै दुई दल कांग्रेस र एकीकृत समाजवादीको तीव्र असन्तुष्टि छ । हल्ला बढी गर्ने, काम नगर्ने र गठबन्धनकै नेताहरूलाई एकपछि अर्को आरोप लाग्ने काम मात्रै गरेको भनेर गठबन्धनका अन्य दलले श्रेष्ठलाई सरकारबाट निकाल्नुपर्ने वा मन्त्रालय फेर्नुपर्ने दबाब प्रधानमन्त्रीमाथि छ । श्रेष्ठलाई सरकारबाट निकाल्न प्रचण्ड तयार देखिँदैनन् र उनका लागि उपयुक्त अर्को मन्त्रालय पनि प्रचण्डले भेटेका छैनन् । परराष्ट्र मन्त्रालयमा लैजाने तयारी भए पनि हालका परराष्ट्रमन्त्री एनपी साउद, जो कांग्रेस सभापति शेरबहादुर देउवाका विश्वासपात्र हुन्, उनलाई कुन मन्त्रालयमा लैजाने भन्ने निश्चित हुन सकेको छैन । आफूलाई हटाउने वा मन्त्रालय सार्ने चाला बुझेका श्रेष्ठले नै प्रचण्डलाई तत्काल मन्त्री हेरफेर नगर्न र हेरफेर गर्न लागिए प्रधानमन्त्री पनि हेरफेर हुन सक्ने भनेपछि प्रधानमन्त्री मन्त्रिपरिषद् पुनर्गठनबाट हच्किएका हुन् ।
बालकोटको बार्दलीमा बनेको गठबन्धन राष्ट्रपति चुनावसँगै भत्किएपछि कांग्रेस, माओवादी र एकीकृत समाजवादीबीच पाँच वर्ष यही गठबन्धनले नै सत्ता चलाउने र नेताहरूबीच कार्यकाल बाँड्ने सहमति भएको थियो । सहमतिअनुसार सुरुका दुई वर्ष प्रचण्ड नै प्रधानमन्त्री बन्नेछन् । उनको कार्यकाल अझै एक वर्ष बाँकी नै छ । उनीपछि एक वर्ष एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल प्रधानमन्त्री बन्ने छन् । त्यसपछिका दुई वर्ष कांग्रेस सभापति शेरबहादुर देउवा प्रधानमन्त्री बन्नेछन् र उनले नै २०८४ को आम चुनाव गराउनेछन् ।
एमालेलाई सत्ताबाट निकाल्न प्रधानमन्त्रीको कार्यकाल नै बाँडेर सहमति गरे पनि सरकारको कार्यशैली र मुलुकको आवश्यकताबीच तालमेल नहुँदा यो सहमति कतिन्जेल टिक्ने हो भन्ने आशंका पनि सुरु भइसकेको छ । सत्ताका लागि जस्तो सम्झौता पनि गर्न तयार हुने प्रचण्डको स्वभाव र सत्ताका खेलाडी देउवाबीच शक्ति सन्तुलन हुन नसके यो सहमतिसँगै सरकार नै कुन बेला धरापमा पर्ने हो, यसै भन्न सकिँदैन ।
प्रतिक्रिया