काठमाडौं । कुनै समय थियो, नेपाली संगीतमा महिला गीतकारको संख्या अत्यन्त न्यून थियो । अझ भन्नुपर्दा उनीहरुलाई खोज्नै पर्ने अवस्था थियो । किनकी त्यो समय पुरुष गीतकारको वर्चस्व थियो । तर, अहिले त्यो अवस्था रहेन । पछिल्ला दशकलाई नियाल्ने हो भने महिला गीतकारको संख्या उल्लेख्य छ ।
त्यही संख्यामा पर्छिन्, गीतकार राधिका अधिकारी । राधिका ओखलढुंगामा जन्मिइन्, हुर्कदै गएपछि बाबुआमासँगै बसाई सरेर मकवानपुरको हेटौडा आइन् । उनलाई आफू जन्मिएको र हुर्किएको ओखलढुंगाको सम्झना हरक्षण आउँथ्यो । ‘त्यो समयमा ओखलढुंगा सम्झिएर नरोएको क्षण थिएन । किनकी त्यो मेरो जन्मभूमि थियो । अहिले सम्झँदा त्यो रुवाई र ओखलढुंगाको प्रेम मेरो कवि चेत रोएको रहेछ,’ राधिका भन्छिन् ।
आर्थिक रुपमा मध्यमवर्गीय परिवारमा जन्मिएकी राधिका घरकी जेठी छोरी थिइन् । बाल्यकालको धेरै समय घर, खेतीपातीको काममा बिताइन् । यति हुँदा हुँदै पनि उनमा लेखनको रुची ताजै थियो । ओखलढुंगा र हेटौडाका भीर, पहरा र फाँट उनलाई ‘सुन्दर कविता’ जस्ता लाग्थे । उनी वनको हरियालीमा घण्टौंसम्म एक्लै हराउँथिइन् ।
‘स्कुले जीवनबाटै गीत कविता लेख्न थाले । कविता प्रतियोगितामा थुप्रै पुरस्कार जितेकी छु । त्यो समय रेडियोको जमाना थियो । म रेडियोका सबै कार्यक्रम नबिराई सुन्थें । रेडियोमा गीत–कविता पठाउँने लेखन आदत जस्तै बनेको थियो’, राधिका सम्झिन्छिन् ।
त्यो समयमा देशभर साहित्यीक पत्रिका प्रकाशन हुन्थे । हुलाकमार्फत राधिकाको हातमा ती पत्रिका आइपुग्थे । आफ्नो रुची भएको विधाको पत्रिका हातमा परेपछि को नै खुशी नहोला र ? उनी पत्रिका आएकै ठेगानामा गीत, कविता, गजल लेखेर हुलाकमार्फत पठाउँथिइन् । पत्रिकाको नयाँ अंकमा उनको सिर्जना पनि छापिएर आउँदा राधिकालाई जीवनकै ठूलो खुशी र प्रेरणाको अनुभव हुन्थ्यो ।
राधिकाको रुची साहित्य भए पनि सपना भने मिडिया अर्थात् सञ्चारमाध्यमको देख्थिइन् । त्यही सपनालाई पुरा गर्न एसएलसी पास गरेपछि रेडियोमा काम गर्न सुरु गरिन् ।
‘अरुका गीत बजाउँदै गर्दा आफ्ना गीत पनि रेकर्ड भैदिए हुन्थ्यो भन्ने सपना देख्थिइन् । गीत रेकर्डको सपना मैले रेडियो यात्रा सुरु गरेपछि मात्रै देखेकी हुँ । तर त्यतिबेला हेटौंडामा गीत रेकर्डिङ स्टुडियो थिएनन् । गीत गाउन थालेपछि गायक, गायिका काठमाडौं नै बस्थे। कसैसँग भेटघाट हुँदैनथ्यो’, राधिका सम्झिन्छिन् ।
प्लस टु को पढाई सकेपछि उनी काठमाडौं आएर रेडियोमै काम गर्न थालिन् । काठमाडौं आएपछिमात्र उनी गीत रेकर्डको सपना पुरा हुनेमा ढुक्क भइन् । २०७० सालमा उनले मेरो पहिलो गीत ‘जिन्दगीले आफैंलाई छल्दा खेरी रोएँ’ बोलको गीत गायिका अन्जु पन्तको स्वरमा रेकर्ड गराइन् । सागर अधिकारीको संगीत रहेको उक्त गीत सुरुमा म्यूजिक नेपालबाट अपलोड भएको थियो ।
त्यसपछि उनको भेट बिन्ध्यबासिनी म्यूजिक कम्पनीका सञ्चालक सुवास रेग्मीसँग भयो । सुवासले एल्बम निकाल्ने प्रस्ताव गरेपछि २०७२ को फागनुमा बिन्धबासिनी म्यूजिकले ‘किनारा’ नामक एल्बम बजारमा ल्यायो । यो एल्बममा राधिकाका ६ वटा गीत छन् । एल्बमको ‘जति छाल आएपनि’ बोलको गीत त्यो वर्षको बिन्धबासिनी म्यूजिक अवार्ड र म्यूजिक खबर म्यूजिक अवार्डको उत्कृष्ट ५ मा परेको थियो । एल्बमले राम्रै रोयल्टी पनि प्राप्त गरेको थियो ।
समय सधैं एकनासले चल्दैन । राधिकाको जीवनमा पनि त्यही आइलाग्यो । पारिवारिक विखण्डनका कारण उनी संगीतमा सक्रिय हुन सकिनन् । भलै उनले संगीतलाई चट्क्कै भने छोडिनन् । तर गीत लेखनको र रेकर्डको गती भने मन्द भयो ।
उनले अघिल्लो वर्ष तारा अधिकारीको स्वरमा ‘न त तिमीले दिएको चोट देखाउन सके’ बोलको गीत बजारमा ल्याइन्। यो वर्ष राधिका तीजको गीत लिएर पुनः आफ्ना स्रोता माझ आएकी छिन्। ‘यो तीजको गीत मेरो गीत र संगीतमा दोस्रो इनिङ हो’, राधिका भन्छिन् ।
उनको तीज गीत ‘माइती देशको घाउ’मा काव्य आचार्य र मिना नेपालीको स्वर छ। दीपक शर्माको संगीत रहेको गीतमा राजेन्द्र बजागाईंले संगीत संयोजन गरेका छन्। गीतमा देश छोडेर परदेश पुगेका छोरी चेलीको पीडा ब्यक्त गरिएको छ। सुखको खोजिमा मानिस जहाँ पुगेपनि आफ्नो देश र आफ्नाप्रतिको मोह सुखले छोप्न नसक्दाको भाव गीतमा व्यक्त गरिएको छ।
प्रतिक्रिया