देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

‘चुपचाप मन पराएँ’ लोकार्पण

देशान्तर


काठमाडौं । गीतकार प्रमोद भट्टराई ‘प्रतीक’द्वारा रचना गरिएका आधुनिक गीतहरूको पहिलो गीति संग्रह ‘चुपचाप मन पराएँ’ लोकार्पण गरिएको छ ।
गत साता गीतकार संघ नेपालको आयोजनामा राष्ट्रिय नाचघरमा भएको एक कार्यक्रममा प्रमुख अतिथि वरिष्ठ कलाकार मदनकृष्ण श्रेष्ठ, सभापति गीतकार संघ नेपालका अध्यक्ष वसन्त वित्यासी थापा तथा विशेष अतिथिहरू संघका निवर्तमान अध्यक्ष चूडामणि देवकोटा, साहित्यकार डा. नवराज लम्साल, गीतकार विश्व वल्लभ, गीतकार चिन्तामणि शिवाकोटी तथा गीतकार प्रतीकले संयुक्त रूपमा उक्त संग्रह लोकार्पण गरेका हुन् ।
गीति संग्रह ‘चुपचाप मन पराएँ’ मा लोकप्रिय गायक–गायिकाको स्वरमा रेकर्ड भएका सात वटा गीतहरू समावेश गरिएका छन् । एल्बममा समावेश गीतहरूमा राजेश पायल राई, प्रमोद खरेल, शिव परियार, प्रवीण बेडुवाल, निशान भट्टराई, मेलिना राई तथा रचना रिमालजस्ता लोकप्रिय गायक–गायिकाहरूको स्वर रहेको छ ।
यी गीतहरूमा संगीतकार कीर्ति न्यौपाने (दिवाकर शर्मा)द्वारा संगीतबद्ध ६ वटा गीतहरू समावेश गरिएका छन् भने एउटा गीतमा सरोज कोइरालाको संगीत रहेको छ । एल्बममा समावेश गीतका म्युजिक भिडियोहरू पनि तयार पारिएका छन् । ती भिडियोहरूलाई नबल नेपाल, कृष्णदेव रूपाखेती, हेमप्रभास अधिकारी, विनोद बम, ओमप्रकाश अवस्थीले निर्देशन गरेका छन् ।
एल्बममा समावेश मदनकृष्ण श्रेष्ठको स्वरको ‘मायाँ रोपे माया फल्छ’ बोलको गीतको म्युजिक भिडियोमा मदनकृष्ण आफैँले अभिनय गरेका छन् । विमोचन समारोहमा गीतकार प्रतीकलाई शुभकामना दिँदै प्रमुख अतिथि मदनकृष्ण श्रेष्ठले आफूलाई पनि विगतमा गीत रचनामा निकै रहर लाग्ने गरेको बताए । आफैंले रचना गरेर गाएको ‘अर्बौँ मान्छेको भीडमा’ गीत श्रोेताको मनमा बस्न अर्थात् लोकप्रिय हुन ३२ वर्ष लागेको स्मरण गर्दै अहिले सांगीतिक क्षेत्रमा सबैभन्दा अन्यायमा पर्ने पक्ष नै गीतकार भएको बताए ।
साहित्यकार डा.नवराज लम्सालले गीतकार प्रतीकद्वारा रचना गरिएका गीतहरूको प्रशंसा गर्दै यी गीतहरू कालजयी बन्ने सम्भावना बोकेको धारणा व्यक्त गरे । गीतकार संघ नेपालका अध्यक्ष वसन्त वित्यासी थापाले नेपाली गीतका सबै गीतकारहरू एकजुट भएर नेपाली सांगीतिक क्षेत्रलाई उचाइमा पु¥याउनु पर्ने धारणा व्यक्त गरे । गीतकार संघका निवर्तमान अध्यक्ष चूडामणि देवकोटाले गीतकारहरूलाई प्रोत्साहनको खाँचो रहेको औंल्याए ।