विशेषगरी वर्षायाममा मात्र लामखुट्टेको टोकाइबाट लाग्ने डेंगी रोगले यसपालि वर्षैभरि नै लागी महामारीको रूप लिएको छ । संघीय राजधानी काठमाडौं उपत्यकासहित देशका ७० भन्दा बढी जिल्लामा डेंगीको संक्रमण फैलिइसकेको छ भने यसैका कारण हालसम्म ८ जनाको मृत्यु भइसकेको छ भने, झन्डै दुई दर्जनभन्दा बढी सिकिस्त अवस्थामा रहेको बताइएको छ । स्वास्थ्य मन्त्रालयको पछिल्लो तथ्यांकअनुसार अहिले देशभरका अस्पतालमा तीन हजारभन्दा बढी डेंगी संक्रमितको उपचार भइरहेको छ । २१ सय संक्रमित त सुनसरीमा मात्रै छन् ।
तर, सरकारले यसलाई महामारीको रूपमा नलिई ठूलो गल्ती गरिरहेको छ । लामखुट्टेको टोकाइबाट बचौं घर वरिपरि फोहोर र पानी जम्न नदिऔं भन्ने सार्वजनिक सन्देश प्रसारण गर्ने बाहेक गतिलो कदम चालेको देखिएको छैन । त्यसै भएर आफैं सचेत भई डेंगीबाट बच्नुपर्ने अवस्था जनतामा छ ।
डेंगी एक प्रकारको ज्वरो हो, जुन लामखुट्टेको टोकाइबाट सर्ने संक्रामक रोग हो । डेंगीको भाइरसबाट संक्रमित एडिस एजिप्टाई जातको पोथी लामखुट्टेले यो रोग सार्छ । यस्ता लामखुट्टे ग्रामीणभन्दा भन्दा सहरी क्षेत्रमा बढी हुन्छन् ।
खासगरी टिनका डब्बा, थोत्रा टायर, अलकत्रा वा मट्टीतेलका खाली ड्रम, गमला, पानी ट्यांकी आदिमा यसले फूल पार्छ । सहरी क्षेत्रमा यस्ता भाडा÷वस्तु पर्याप्त मात्रामा हुने भएकाले पनि यो जातका लामखुट्टे सहरमा बढी देखिने गरेका हुन् । एडिस एजिप्टाई र एडिस एल्बोपेक्टस नामका लामखुट्टेले टोकेर हुने तीव्र भाइरल संक्रमण हो– डेंगी ।
चिकित्सकहरूका अनुसार डेंगी रोग क्लासिक डेंगी, हेमोरहेजिक र सोके सिन्ड्रोम गरी तीन प्रकारका छन् । डेंगीको संक्रमणले उच्च ज्वरो आउने, जीउ दुख्ने र कतिपय बिरामीमा रक्तस्राव हुन्छ । उच्च ज्वरो र रक्तस्रावका कारण मृत्युसमेत हुन सक्छ ।
सामान्यतया डेंगी भाइरसको संक्रमण भएका करिब ८० प्रतिशत मानिसमा कुनै लक्षण देखि“दैन वा देखिए पनि हल्का ज्वरोजस्ता सामान्य लक्षण मात्र देखिन्छन् । संक्रमितमध्ये ५ प्रतिशत मानिसमा गम्भीर प्रकारको डेंगी लाग्ने गर्छ भने तीमध्ये निकै कमको मात्र मृत्यु हुने गर्छ । यो रोग छिप्पन ३ देखि १४ दिनसम्म लाग्ने भए पनि धेरैजसो बिरामीमा यो रोगले ४ देखि ७ दिनसम्ममा पूर्णता पाउ“छ ।
डेंगीबाट बच्ने पहिलो उपाय नै लामखुट्टेको टोकाइबाट बच्ने हो । तर, यत्रतत्र फैलिएका लामखुट्टेबाट जोगिन भने चुनौतीपूर्ण हुन्छ । डेंगी संक्रमित व्यक्तिलाई टोकेको अन्य जातको लामखुट्टेले पनि अर्को व्यक्तिलाई टोक्दासमेत यो रोग सर्ने जोखिम उत्तिकै हुन्छ । एसिड नामको लामखुट्टेसँगै अन्य जातका लामखुट्टेको समेत टोकाइबाट बच्न सकेमात्र यो संक्रमण हुनबाट जोगिन सकिन्छ । यसको छुट्टै उपचार, औषधि र विधि नभएकाले पनि डेंगी संक्रमणलाई जटिल मानिएको हो ।
पछिल्ला केही वर्षयता हरेक वर्षायामदेखि असोज कात्तिकसम्म डेंगीले नेपालमा महामारीको रूप लिने गरेको छ । बर्सेनि महामारीका रूपमा फैलिने डेंगीको रोकथामका लागि भने सरकारले खासै चासो देखाएको छैन । केही मन्त्री र सरकारी अधिकारीले भाषण गर्ने बाहेक ठोस कदम चालिएको छैन । एडिस जातको लामखुट्टे र त्यसको लार्भा नष्ट गर्नुपर्ने पनि यसप्रति ध्यान पुगेकै छैन ।
देशमा तीन तहका सरकार छन् । नागरिकको स्वास्थ्य सरकारको पहिलो दायित्व हो । स्वास्थ्य क्षेत्रमा अर्बौं बजेट पनि छ । तर, त्यसको सदुपयोग हुन सकेको छैन । सरकारका मन्त्री र राजनीतिक दलका नेता भाषणमा मात्रै रमाउने तर, जनचेतना जगाउने र लामखुट्टे निर्मूल पार्ने अभियान नचलाउने प्रवृत्तिले पनि जनताले ज्यान गुमाउनुपर्ने अवस्था आएको छ ।
प्रायः स्थानीय तहमा स्वास्थ्य संस्था छन् । ती स्वास्थ्य संस्थामार्फत सचेतना र लामखुट्टे निर्मूल पार्ने अभियान मात्रै सञ्चालन गर्ने हो भने पनि जनतालाई यो महामारीबाट बचाउन सकिन्छ । वर्षायाममा एकातिर बाढी र पहिरोको भय त छ“दै छ, अर्कोतिर डेंगीको त्रासमा बा“च्नपर्ने अवस्थाबाट मुक्ति दिलाउन सरकार जिम्मेवार बन्नैपर्छ ।
डेंगीको महामारी अहिले त सुरु भएको मात्रै हो । यो उत्कर्षमा पुग्नै बाँकी छ । गत वर्ष असोजको पहिलो साता डेंगीको महामारी उत्कर्षमा पुगेको थियो । अस्पतालमा उपचार गर्ने ठाउँकै अभाव भएको थियो । यो वर्ष पनि त्यस्तै समस्या नआउला भन्न सकिन्न । त्यसैले महामारीको आरम्भमा नै सरकारले महामारी रोकथामका लागि र बिरामीको उपचारका लागि विशेष योजना बनाउनुपर्छ । त्यसका लागि ढिलो भइसकेको छ ।
प्रतिक्रिया