देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

 नेपाली जनतासँग माफी माग्नुपर्छ

देशान्तर

नेपाली कांग्रेसका प्रभावशाली नेता अर्जुननरसिंह केसीले लोकतान्त्रिक गठबन्धनका नाममा आफूहरूले जनतालाई झुक्याएको बताउँदै जनतासँग माफी माग्नु पर्नेमा जोड दिएका छन् । चुनावअघि १०–१५ वर्ष गठबन्धन अघि बढ्छ भनेर भोट मागेको र अहिले गठबन्धन भत्किएकाले जनताले दिएको मतको कदरका लागि पनि माफी माग्नुपर्नेमा जोड दिए । माओवादी अध्यक्ष प्रचण्ड नेतृत्वको वर्तमान सरकारलाई कांग्रेसले गुण र दोषका आधारमा समर्थन र विरोध गर्ने प्रष्ट पार्दै अब कांग्रेस संसद्मा जिम्मेवार प्रतिपक्षमा बसेर जनजीविकाका सवालमा केन्द्रित हुनुपर्नेमा जोड दिए । यसैगरी नेपाली कांग्रेस संगठन सुदृढीकरणका लागि पनि विशेष कदम चाल्नु पर्नेबेला भएको बताए । पार्टीभित्र सामूहिक नेतृत्वको अवस्था नरहेको बताउँदै सीमित व्यक्तिको घेराबाट सभापति माथि उठ्न नसक्दा अहिलेको अवस्था उत्पन्न भएको बताए । देशान्तरकर्मी मुक्तिबाबु रेग्मीले नेता केसीसँग गरेको कुराकानीको सम्पादित अंश ।

 सरकारप्रति कांग्रेसको धारणा के हो ? केन्द्रीय कार्य समितिको बैठक बसेपछि मात्र स्पष्ट धारणा आउने हो ? 

सरकार निर्माण भएको छ । संसदीय पद्धतिमा गणितीय संख्या संवैधानिक आधारहरू सरकार निर्माणको आधारहरू गणितीय दृष्टिकोणले सरकार निर्माणका प्रक्रिया सुरु भएका छन् । जुन प्रक्रियाबाट अगाडि बढेको छ अब विश्वासको मतसम्म प्रतीक्षा गर्नुपर्ने आफ्नो ठाउँ छँदैछ । हामीहरू पूर्णरूपबाट एउटा जिम्मेवार प्रतिपक्ष, सशक्त प्रतिपक्ष र रचनात्मक प्रतिपक्ष खासगरी जनपक्षीय एउटा लोकतान्त्रिक मोडलको एउटा प्रतिपक्ष कस्तो हुन्छ त्यो भूमिकामै हामी केन्द्रित हुनुपर्छ । र हामी त्यही काममा केन्द्रित हुन्छौं ।

२०७४ सालको अवस्था पनि त्यस्तैत्यस्तै थियो, त्यतिबेला तपाईंहरू जिम्मेवार प्रतिपक्षभन्दा पनि निदाएको प्रतिपक्ष भन्ने हुनुहुन्थ्यो, अब अहिले चाहिँ त्यो अवस्था रहन्छ कि रहँदैन ?

२०७४ सालमा जुन प्रकारको प्रतिपक्षको सशक्त र जीवन्त भूमिका निर्वाह हुनुपथ्र्याे त्यो  नभएको पनि हो । त्यसमा केही कमजोरीहरू निश्चित नै थियो, त्यसलाई सुधार गर्दै अहिले हामीबाट जिम्मेवार प्रतिपक्षको सशक्त भूमिका निर्वाह गर्न हाम्रो सम्पूर्ण ध्यानहरू केन्द्रित गर्छौ ।

वर्तमान सरकारले विश्वासको मत २६ गते लिने भनेर भनिराखेको छ । नेपाली कांग्रेस पनि फेरि यतिबेला सभापति तथा संसदीय दलका नेता शेरबहादुर देउवा सक्रिय भएको खबरहरू आएका छन्, के यो सरकारले विश्वासको मत लिन सक्दैन, अर्को पाटोमा जान्छ भन्ने बुझाइ हो कांग्रेसको ? 

यो अस्थिरताको विषयलाई लिएर कसैलाई पनि फाइदा छैन, अब विकल्पहरू जे छ, निकास खोज्नुको निम्ति प्रयत्न गर्नु लोकतान्त्रिक पद्धतिमा स्वाभाविक कुरा पनि हैन तर, त्यसो भन्दैमा यसलाई सही ढंगले समयमा विश्लेषण, समीक्षा गरेर एउटा निश्चित टुंगोमा पुर्‍याउनुपर्ने जुन दायित्व छ केन्द्रीय कार्य सम्पादन समिति नेपाली कांग्रेस सभापतिलाई सुम्पिनु थियो, त्यो सुम्पिँदा खेरि देखापरेका व्यवस्थाहरूमध्ये फेरि उहाँले केन्द्रीय कार्य सम्पादन समितिसँग अथवा पार्टीसँग हुन्छ छलफल परामर्श गर्ने प्रक्रिया सुरु गर्नु भएन । अहिले उहाँले के गरिराख्नु भएको छ त्यो सम्बन्धमा मलाई पनि जानकारी छैन ।

संसदीय दलका नेता शेरबहादुर देउवाले माधव नेपालसँग भेटिराख्नु भएको छ, उपेन्द्र यादवसँग भेटिराख्नु भएको छ यसलाई अर्थपूर्ण रूपमा तपाईहरूले पनि त हेर्नु पर्छ होला नि हैन ?

संसदीय दलको नेताले अर्को संसदीय दलको नेता या अध्यक्षसँग भेटघाट गरे सामान्य रूपमा लिनुपर्छ । अब त्यसबाट निस्किने परिणाम र परिणाममुखी कति हुन सक्छ भन्ने कुरामा आफ्नै हातमा आइसकेको, मुखमा आएको गुमाएर अहिले जुन परिस्थिति निर्माण भएको छ अहिले कति उपलब्धिपूर्ण भएको छ यसले गर्दा पनि उहाँप्रति धेरै भरोसा छैन, हेरौँ अब के भइरहेको छ ।

भनेको, अहिले भुईंको टिप्न खोज्दा गोजीको पनि पोखियो हैन त ? 

पहिला नै यति ठूलो गठबन्धन गरेर हामी पाँचै दलले जुन किसिमका प्रतिबद्धता जनतालाई दियौं, त्यसको नेतृत्व हाम्रै सभापतिज्यूले गर्नुभयो, त्यसलाई हामीले टिकाउन सकेनौं ।

कांग्रेसले टिकाउन नसकेको कि माओवादीले धोका दियो ? 

जनतालाई धोका त हामी सबैले पाँचै दलले दिएको हो । यो सन्तुलन हो राजनीति भनेको जहिले पनि पर्ख हेर सन्तुलन, समन्वय र संयोजन गरेर राजनीतिक प्रक्रिया अगाडि बढ्छ, त्यसैले उहाँ सत्तालिप्सामा केन्द्रित हुँदा हामी सबै खाली भयौँ, माओवादी केन्द्र पनि सत्तालिप्सामै केन्द्रित भएर यो परिस्थिति निर्माण भाको हो । सबैमा सत्ता मोहकै कारण यो परिस्थितिको निर्माण भाको हो ।

तपाईँहरू चुनावमा जाँदा कांग्रेसभित्रै पनि गठबन्धन गर्ने कि नगर्ने भन्नेमा दुई थरी मत थियो तर केन्द्रीय कार्य समितिले गठबन्धन गर्‍यो ? 

मैले स्थानीय निर्वाचनको नोमिनेसन गर्ने दिन ६ बुँदे फरक मत लिखित रूपमा प्रस्तुत गरेको छु । यसमा फरक मत राख्ने म एक जना मात्रै हो । नेपाली कांग्रेसले अहिलेको स्थितिमा कुनै पनि किसिमको बैसाखीको सहारा लिनुपर्ने आवश्यकता छैन नेपाली कांग्रेसले स्वच्छ प्रतिस्पर्धामा, मित्रवत् प्रतिस्पर्धामा सबै ठाउँमा जहाँ आवश्यक छ त्यहाँ सबैसँग सल्लाह गर्दै निर्वाचनमा जानु भनेर लिखित रूपबाटै मैले प्रस्तुत गरेको हुँ र सबै साथीहरूले धेरै साथीहरूले राख्नु भयो तर, त्यो कुरालाई त्यो बेला पटकै सुनिएन, बहुमतको आधारमा निर्णय भयो त्यसपछि हामीले पार्टीको केन्द्रीय कार्यसमितिको निर्णयलाई शिरोधार्य गरेर आफ्नो मन वचन लगाएर गठबन्धनलाई जिताउनको निम्ति प्रयत्न गरियो तर, त्यो गठबन्धन निर्माणको निम्ति त्यत्रो प्रयत्न र शक्ति लगाउने पक्षले गठबन्धनलाई जोगाउनको निम्ति के के गर्नु पर्छ त्यस्तो केही भएन ।

अहिलेको अवस्था तपाईंहरू जतिबेला गठबन्धनमा जाँदै गर्दा, संघको चुनाव लड्दै गर्दा यो गठबन्धनले स्थिर सरकार दिन्छ, सबै कुरा गर्छौं हामी मिलेर जान्छौं त भन्नु भाको हो तर । कहाँ कुरा बिग्रियो ? 

केही समूह र साथीहरू नै बसेर यसको अन्तिमसम्म बसेर टुंगो लगाएका हुन् । परिस्थिति निर्माण गर्न सभापतिज्यूलाई सल्लाह त कस्ले कस्तो ढंगले दियो भन्ने जायर कुरा छ । यो राजनीति भनेको फरक शक्ति, सन्तुलन समन्वय र शक्ति बाँडफाँटको खेल हो । यसलाई वैज्ञानिक ढंगले परिस्थिति निर्माण गर्नुपथ्र्यो त्यो सफलता प्राप्त गर्न सकेनन् ।

तपाईंहरूको पनि त केही दोष त होला नि ?

सभापतिले सल्लाह खोजे न सल्लाह दिनु, मेरो त कुरा छोडिदिनुस् न पार्टीका निर्वाचित पदाधिकारी दुई जना महामन्त्री, सहमहामन्त्रीसँग कोठामा बसेर सल्लाह गर्ने अरू कसैको सल्लाह लिन नखोज्ने अनि कसरी सल्लाह दिने, त्यो पनि सभापतिको अन्य पार्टीहरूसँग भएको छलफल त हैन नि प्रधानमन्त्री पदमा भएको हो ।

अब करेक्सन गर्ने ठाउँ छ ?

अहिले पनि म के भन्छु भने ‘सप्रे खोसाखोस बिग्रे दोषादोष’ भन्ने नेपाली भनाइ छ । अहिले जे भयो भइसक्यो । बिग्रिएपछि सबैले एकअर्कालाई दोष लगाएर, एकले अर्कामाथि वैमनश्य राखेर फेरि पनि पार्टीलाई सशक्त र जीवन्त बनाउन सकिँदैन । त्यसकारण जे भयो त्यसको वस्तुस्थिति घटनाक्रमहरू र यसमा जो संलग्न छन् उनीहरूले आत्मआलोचना गर्दै कमजोरी र त्रुटिहरूलाई स्वीकार गर्दै नयाँ बाटो तय गर्नुपर्छ । अहिले कुनै पनि भ्रातृ संस्थाहरूले पूर्णता पाएका छैनन् । त्यहाँ केही पदहरू मात्र मनोनीतको भरमा चलाइएको छ ।

पार्टीभित्र त्यस्तै किसिमका अन्योलता छ । हरेक जिल्लामा कांग्रेसको एक पक्षले अर्को पक्षलाई असहयोग गरेका प्रशस्त घटनाहरू छन् ।  गठबन्धनको विरोध गर्दा केही साथीहरूले पार्टी नै छाडेर जान धम्कीपूर्ण भाषण नै गर्नुभयो । गठबन्धन अहिले आफैं टुटेर गयो । यी सम्पूर्ण कुराको विश्लेषण गरौं । यहाँ कहाँबाट कमजोरी भयो त्यो कुरा पत्ता लगाउन जरुरी छ । अब कसरी अगाडि बढ्ने भन्ने विषयमा खुला रूपमा छलफल गरेर  फेरि पनि पार्टीभित्र सामूहिक नेतृत्वको पद्धति नै अंगीकार गर्नुपर्छ । हामीले सामूहिक नेतृत्वमा पार्टी चल्नुपर्छ भनेर निरन्तर संघर्ष गरेका हौं । म गिरिजाबाबुको पालादेखि नै निरन्तर आवाज उठाउँदै आएको मान्छे हुँ । पार्टीमा अहिले पनि सामूहिक नेतृत्व प्रणालीकै विकास हुन सकेन । महाधिवेशनबाट निर्वाचित उपसभापति, महामन्त्री, सहमहामन्त्रीहरूसँग छलफल नै हुँदैन भने यसलाई कुन नेतृत्व प्रणाली भन्नुहुन्छ पाठकहरूलाई नै भन्न दिउँ ।

अहिले पार्टीमा विशेष महाधिवेशन, नीति महाधिवेशन, महासमिति बैठक माग गरेका छन्, के त्यो सान्दर्भिक छ ?

 नीति महाधिवेशन सान्दर्भिकमात्र होइन, पार्टीले निर्णय नै गरेको विषय हो ।  १४औं महाधिवेशनमा हामी नेता व्यवस्थापनमा मात्रै केन्द्रित भयौं । नीति निर्माणको प्रक्रियामा ‘न’ पनि उच्चारण गरेनौं । त्यसकारणले  चाँडै नीति अधिवेशन गरेर अहिलेको राष्ट्रिय परिस्थिति अनुकूल कांग्रेसले नीति बनाउने भनेर त पहिलादेखि नै निर्णय गरेको हो ।  नीति अधिवेशन स्वतः हुनुपर्छ, खाली समयको मात्र कुरा हो । अहिले देखिएका समस्याहरूका विषयमा नीति अधिवेशन चाँडो बोलाएर त्यहाँ छलफल गरौं, सबैले जहाँ जहाँ गल्ती भएको छ, गल्तीहरूलाई स्वीकार गर्दै सुधारको बाटोमा अघि बढौं ।

अहिले फेरि सभापतिको पनि राजीनामा माग गरिएको छ त ?

सभापतिको राजीनामा माग गरेको भन्दै ठूलाठूला अनुशासनका कुरा गर्ने मान्छेहरू पनि होलान् । संसारको लोकतान्त्रिक पद्धतिमा  अमेरिकन संसद् भवन अगाडि एक जनाले मात्रै प्लेकार्ड बोकेर राष्ट्रपतिको पनि राजीनामा माग गर्न सक्छन् । लोकतन्त्र भनेकै यही हो । त्यसैगरी नेपालमा पनि लोकतान्त्रिक व्यवस्था भएकाले सभापति होस् या प्रधानमन्त्री कुनै पनि कार्यकर्ता वा जनताले राजीनामा माग गर्न सक्छन् र माग गर्न पाउँछन् । तर, अहिलेको अवस्थामा सभापति एवं संसदीय दलका नेता शेरबहादुर देउवाले राजीनामा दिनु भनेको समस्याको समाधान होइन । राजीनामा र नैतिकता भनेको कुरा ‘निजात्मक’ हो । निजी ढंगले सोचेर सुधारका लागि यसरी अगाडि बढ्छु भनेर आफूलाई ‘एक्जिट’ गर्न खोज्नेले राजीनामा गर्छन् ।  अहिलेका अवस्थामा राजीनामा मागेर आउनेवाला पनि छैन, राजीनामा दिएर समस्या समाधान पनि हुनेवाला छैन ।  त्यसैले म राजीनामा पनि माग्दिनँ । अर्को कुरा लोकतन्त्र भनेको खाली पद्धतिको नाम मात्रै हो । यो भनेको प्रक्रिया हो ।

 निर्वाचित सभापतिलाई हटाउने विषय पनि वैधानिक प्रक्रियाअनुसार मात्र हुन्छ । सडकमा राजीनामा माग्दैमा हुँदैन । अहिलेको वस्तुवादी दृष्टिकोणले विश्लेषण गरेर  ‘सप्रिए खोसाखोस बिग्रिए दोषादोष’को रूपमा नहेरौं । अहिले कांग्रेसकै सरकार बनेको भए अहिले सभापतिका वरपर बस्नेहरू सल्बलाएर सबै काम हामीले मात्रै गरेको भनेर प्रचार गर्थे । तर अहिले बिग्रिएकाले एकले अर्कालाई दोषारोपण गर्नमा केन्द्रित भएका छन् । बिग्रिएपछि उनीहरूले अरूलाई के हेरेर बसेको भन्दै टिप्पणी गर्ने, हामीले त के गर्ने ? हामीले सम्पर्क हुनेलाई अवस्था यस्तो छ है भनेर भन्यौं । अहिले केन्द्रीय कार्यसम्पादन समितिले गरेको निर्णयअनुसार चल्दा यस्तो भयो भन्ने कुरा पनि आइरहेको छ, केन्द्रीय कार्यसम्पादन समितिले निर्णय गरेको हो, निर्णय गरेअनुसार गठबन्धनको सबैभन्दा ठूलो दल भएको नाताले  नेपाली कांग्रेसले नेतृत्व दाबी गर्ने र त्यसको पहलकदमी सभापतिले लिने भन्ने निर्णय भएको हो । मैले नै त्यहाँ यस्तो विषय सभापतिलाई मात्र जिम्मा दिनुभन्दा ३–५ जनालाई जिम्मा दियौं भनेको थिएँ ।  यतिबेला सभापति, उपसभापति र महामन्त्री रहेको समिति बनाएर अघि बढौं भन्ने मान्छे पनि म नै हुँ । त्यतिबेला मेरो कुरा सुनिएन ।  त्यतिबेला बहुमतका आधारमा निर्णय भयो । यो कठिन परिस्थिति आएपछि  कार्यसम्पादन समितिको बैठक बोलाउन सकिन्थ्यो, नभए  पदाधिकारी बसेर बैठक गर्न सकिन्थ्यो । नभए संसदीय समिति बोलाउन सकिन्थ्यो । कुनै पनि कहीँ कतै सम्पर्क भएन । त्यतिबेला कांग्रेसकै सरकार बनेको भए सबै जश उहाँहरूले नै लिनुहुन्थ्यो, अहिले असफल भएकाले अरूलाई दोष थुपार्ने काम भएको छ ।   कांग्रेसले प्रधानमन्त्री र राष्ट्रपति दुवैमा दाबी गर्दा अहिले प्रतिपक्षमा पुग्यो पनि भन्छन् त ?

सबै पद मै लिन्छु भनेर त गठबन्धनमा सन्तुलन हुँदैन । घर परिवारमा त यसरी भागबन्डा गर्दा मिल्दैन भने दलहरूका बीचमा यो त नमिल्ने कुरा थियो ।  त्यसैले राजनीति भनेको सन्तुलन, समन्वय र संयोजन नै हो । हामीले निर्णय गर्दा नेतृत्वमा दाबी गर्ने त्यसको पहलकदमी सभापतिले गर्ने उल्लेख छ । दाबी गर्ने कुरा त स्वाभाविक नै हो । यो अहिले पनि ठीक कुरा हो । तर, भागबन्डा कसरी मिलाउने भन्ने कुराको निर्णय नेतृत्वले गर्ने हो । राजनीति भनेको विकल्पको खेल पनि हो ।

अहिलेको अवस्थामा यो सरकारको भविष्य कस्तो देख्दै हुनुहुन्छ ?

म भविष्यको लख काट्दिनँ । किनभने  परीक्षा दिन परीक्षार्थी कापी कलम लिएर भर्खर कोठाभित्र पस्दाखेरि मूल्यांकन गर्ने म परीक्षक होइन । अहिले सरकारमा भएका सबै साथीहरूलाई शुभकामनासहित भन्न चाहन्छु । खाली निर्देशनमात्रै नहोस्, काम पनि होस् । हल्ला मात्रै गरेर हुँदैन । अहिले सबैभन्दा ठूलो कुरा गृहमन्त्री रवि लामिछानेजीले भ्रष्टाचारविरुद्धको प्रतिबद्धतामा उच्चस्तरीय कमिटी बनाउने विषय सरकारको न्यूनतम साझा कार्यक्रममा समावेश भएको कुरा सुनेको छु । मैले मेरै प्रधानमन्त्री मेरै पार्टी सभापतिलाई लिखितरूपबाट प्रस्तुत गरेको एउटा प्रस्ताव ‘वाइडवडी’देखि बालुवाटार प्रकरणसहित ओम्नी, यतीसहित सेक्युरिटी प्रिन्टिङ प्रेससम्मका जुन कुराहरू ओली सरकारको पालामा हामीले गाउँगाउँ गएर भाषण ग¥र्यौं । त्यसको छानबिन गर्न उच्चस्तरीय छानबिन समिति बनाउने र त्यसको नेतृत्व सर्वोच्च अदालतको पूर्वन्यायाधीशमध्येबाट बनाउनुपर्छ भनेको थिएँ ।  अहिलेका गृहमन्त्रीको मुखबाट मैले त्यो कुरा सुनेको छु र व्यवहारमा के कस्तो हुन्छ त्यसको प्रतीक्षामा छु । हामी गुण र दोषको आधारमा समर्थन र विरोध गर्छौं ।  संसदीय दलमा पनि गुटगत धारणा त आउने होला नि ?

संसदीय दल भन्नुस् वा संसद्मा भन्नुस् नेपाली कांग्रेस एक भएर अघि बढ्छ । गुट, उपगुट यहाँ हुँदैन । तर, यसमा संसदीय दलको नेताको भूमिकाले पनि निर्भर गर्छ । नेताले संसद्भित्र रहेका पात्रहरूलाई कसरी प्रयोग गर्ने र सबैलाई लिएर अघि बढ्नु हुन्छ त्यसले निर्धारण गर्छ । संसदीय दलको नेतालाई त थाहा होला, संसद्मा सशक्त र जीवन्त भूमिका निर्वाह गर्ने को को साथीहरू छन् भन्ने कुरा । संसदीय दलको नेताले पात्र र भूमिका कसरी निर्धारण गर्नुहुन्छ त्यसका आधारमा पनि केही कुराहरू प्रष्ट हुन्छन् । होइन, संसदीय दलको नेतालाई अहिले नै भएका सीमित व्यक्तिको मात्र साथ चाहिने हो त्यसमा उहाँ नै प्रष्ट हुन जरुरी छ ।

२८ गते तपाईंहरूको केन्द्रीय कार्यसमितिको बैठक बस्दैछ, कसरी प्रस्तुत हुनुहुन्छ ?

अहिले हाम्राबीचमा अन्तरिक छलफल भइरहेको छ र भोलिका दिनमा पनि भइनै रहन्छ । तर, संयोजन गरेर सहमति पूर्ण निकास निकाल्नु पर्छ । पार्टीमात्रै होइन, राष्ट्रिय राजनीतिमा देखिका घटनाक्रमहरू त्यति सजिला छैनन् । नेपाल झन्झन् गहिरिएर  अन्तर्राष्ट्रिय  द्वन्द्वको चपेटामा पर्छ कि भन्ने चिन्ताको विषय पनि छ ।  त्यसलाई अत्यन्त परिपक्व कूटनैतिक आधारले हामीले छिमेकीहरूसँग र विश्वशक्तिसँग समन्वय गर्नुपर्ने  आवश्यकता छ, जसको निम्ति  मेरो त आग्रह हो, राष्ट्रिय सुरक्षा नीति र परराष्ट्र नीतिमा हामी कमसेकम राष्ट्रिय सहमतिको स्थिति निर्माण गर्न सकौं । अर्को कुरा स्वदेशी विदेशी ऋणको भारी र भ्रष्टाचारको महामारी अर्कोतिर गम्भीर राष्ट्रिय समस्याको रूपमा देखा प¥या छ । आर्थिक परिस्थितिको जटिलता अहिले भर्खर आईएमएफको रिपोर्टमा पनि  अब आउने वर्षहरू आर्थिक मन्दी  गम्भीर रूपले देखिन सक्छ भनिरहेको छ । रुस–युक्रेन युद्धको परिवेश हाम्रो अहिलेको अवस्था  सबैलाई हेरेर सुधारमा दृढतापूर्वक अनुशासित रूपबाट अगाडि बढ्नुपर्ने राष्ट्रिय परिस्थितिमा हामीले पार्टीभित्रबाट संसद्मा खेल्नुपर्ने भूमिकाका बारेमा छलफल गरेका छौं । हामी जिम्मेवार प्रतिपक्ष भएर पनि संसद्मा प्रस्तुत हुन्छौं ।

पछिल्लो समय तपाईं र सभापतिको बीचमा छलफल भएको छ ? 

म र सभापतिको बीचमा पछिल्लो समय कुनै पनि विषयमा छलफल नै भएको छैन । उहाँले खोज्नु पनि भएको छैन ।  मैले चुनाव जितेर आएपछि  सबै गठबन्धनमा रहेका नेताहरूसँग भेटेर उहाँसँग भेटेको हुँ । त्यतिबेला राम्रै कुरा पनि भएको थियो । त्यो भेटमा वस्तुस्थितिका बारेमा जानकारी पनि गराएको हुँ ।