काठमाडौँं – सहरी क्षेत्रमा हुने मानव ओसारपसार र बेचबिखनजस्ता क्रियाकलाप निषेधप्रति महानगरपालिका संवेदनशील रहेको काठमाडौं महानगरकी उपमेयर सुनिता डंगोलले बताएकी छन् ।
शान्ति फाउन्डेसनसँगको सहकार्यमा महानगरले सञ्चालन गरेको हाम्रो सम्मान परियोजनाका आगामी कार्यक्रमका बारेमा धारणा राख्दै उनले भनिन्, ‘अब बैठकमा भन्दा फिल्डमा काम गर्नुपर्ने बेला भएको छ। अहिले सहरमा मानव ओसारपसार र बेचबिखनको शैली फेरिएको छ। हामीले परिवर्तित शैलीमाथि निगरानी गर्नुपर्छ। यसका लागि हाम्रा विगत अनुभव, ज्ञान र सीपलाई उपयोग गर्दै सहकार्य गरौँ।’
सरकारले २०६४ सालमा मानव बेचविखन विरुद्धको ऐन, २०६५ सालमा नियमावली र ०७० सालमा कार्यविधि जारी गरिसकेको छ। काठमाडौं महानगरपालिकाले २०७८ साउन १९ गते बसेको कार्यपालिकाको बैठकले लैङ्गिक हिंसा निवारण कोष सञ्चालन कार्यविधि र मानव बेचविखन तथा ओसारपसार नियन्त्रण कार्यविधि २०७८ स्वीकृत गरेको छ।
यस्तै २०७९ भदौ १२ गतेको कार्यपालिकाको निर्णयबाट वडा महिला सञ्जाल सञ्चालन कार्यविधि २०७९ स्वीकृत गरेको छ। यी तीनवटै कार्यविधि जारी भएर कार्यान्वयनमा आइसकेका छन्।
संघ र स्थानीय तहसम्मको संयन्त्र हेर्दा, सचिवस्तरीय नेतृत्वमा संघमा, प्रमुख जिल्ला अधिकारीको नेतृत्वमा जिल्लामा समिति छ। नगरस्तरीय समस्या समाधानका लागि नगर प्रमुखको नेतृत्वमा नगरमा समितिको व्यवस्था गरिएको छ। यसबाट बेचविखन नियमन तथा नियन्त्रणका काम हुने गरेको महानगरले जनाएको छ ।
महानगरले २६ वटा वडामा ओसारपसार तथा बेचबिखनविरुद्ध काम गर्ने समिति गठन गरिसकेको छ। छलफलमा प्रशासन विभागका प्रमुख दीपक अधिकारीले भने, ‘वडामा सक्रिय संघसंस्थाको सहभागितामा समिति गठन गरिएको हो।’ टोलका समस्या समाधान गर्न सहभागिता र सचेतना चाहिएको छ। छलफल यस विषयमा केन्द्रित थियो।
प्रतिक्रिया