देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

आज तमु ल्होसार पर्व

देशान्तर

गुरुङ समुदायले नयाँ वर्षको रुपमा मनाउने तमु ल्होसार पर्व आज मनाइँदै छ । तमु ल्होसारका अवसरमा सरकारले सार्वजनिक बिदा दिएको छ ।

गुरुङ बाहुल्य जिल्लाहरुमा तमु ल्होसार साँस्कृतिक झाँकीसहित भव्यताका साथ मनाउने गरिन्छ । काठमाडौं उपत्यकामा बसोबास गर्ने गुरुङ समुदायले पनि आज टुँडिखेलमा भेला भएर यो पर्व मनाउँदैछन् । पर्वको अवसरमा साँस्कृतिक कार्यक्रमका साथै गुरुङ समुदायका परिकारको समेत प्रदर्शनी गरिंदै छ ।

तमु ल्होसारको अवसरमा राष्ट्रपति विद्यादेवी भण्डारी,उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड लगायतले देश विदेशमा बसोबास गर्ने सम्पूर्ण गुरुङ समुदायलाई शुभकामना दिनु भएको छ ।

राष्ट्रपति भण्डारीले आज जारी गरेको शुभकामना सन्देशमा तमुल्होसार पर्वले आपसी विश्वास र एकताको भावनालाई अभिवृद्धि गर्दै सभ्य, सुसंस्कृत र समुन्नत मुलुक निर्माण गर्न सबैलाई प्रेरणा प्रदान गरोस् भनी कामना गर्नु भएको छ।

तमुल्होसारका दिन गुरुङ समुदायका महिला शिरबन्दी, मखमली चोली, घलेक, पटुकी, छिटको गुन्यु र मजेत्रो तथा पुरुष टोपी, भोटोमाथि भाङ्ग्रा, कछाड अनि पटुकी बाँधेर सजिन्छन् । यस अवसरमा घाटु, सोरठी, कौडाजस्ता परम्परागत नृत्य गर्दै रमाइलो गर्ने गरिन्छ ।

नेपालको मौलिक सांस्कृतिक परम्पराको संरक्षण तथा संवर्द्धन गर्दै पर्यटन प्रवर्द्धनमार्फत आर्थिक र सामाजिकरूपमा समृद्ध मुलुक निर्माण गर्नसमेत गुरुङ समुदायले निर्वाह गर्दै आएको भूमिका प्रशंसनीय रहेको सन्देशमा उल्लेख छ।

यसैवीच प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले विविधताभित्र एकता र सामाजिक सद्भाव हाम्रा सांस्कृतिक अभ्यासका अनुशरणयोग्य उदाहरण रहेको बताउनु भएको छ ।नेपाली तमु र दुरा समुदायले पुरानो ल्हो (वर्ष) को बिदाइ र नयाँ ल्हो (वर्ष)को स्वागतका रुपमा मनाउने ल्होसार पर्वका अवसरमा आज एक शुभकामना सन्देश दिँदै प्रधानमन्त्री प्रचण्डले सद्भाव र एकतालाई प्रवर्द्धन गर्ने एक विशिष्ट पर्वका रुपमा ल्होसार स्थापित रहेको बताउनुभयो ।