काठमाडौं – सन्दीप लामिछानेले आफूलाई थुनामा पठाउने आदेशविरुद्ध उच्च अदालत पाटनमा दिएको पुनरावेदनको बिहीबारको सुनुवाइ हेर्न नभ्याइनेमा परेको छ । जिल्ला अदालत काठमाडौंको पुर्पक्षका लागि थुनामा पठाउन आदेशविरुद्ध लामिछानेले दिएको पुनरावेदनमाथि बिहीबार सुनुवाइका लागि पेसी तोकिएको थियो ।
उच्च अदालत पाटनका न्यायाधीशद्वय सुभाष पौडेल र किरणकुमार पोखरेलको संयुक्त इजलासमा पेसी तोकिएको थियो । तर, हेर्न नभ्याइनेमा परेको छ ।
नाबालिका बलात्कारको आरोपमा लामिछानेलाई जिल्ला अदालत, काठमाडौंले १८ कात्तिकमा पूर्पक्षका लागि थुनामा पठाएको थियो ।
लामिछानेविरुद्ध २१ भदैमा १७ वर्षीया किशोरीले जाहेरी दिएकी थिइन् । क्यारेबियन प्रिमियर लिग खेल्न जमैका पुगेका उनी एक महिनापछि २० असोजमा नेपाल फर्किएका थिए । विमानस्थलबाटै पक्राउ परेका उनी सुन्धारास्थित केन्द्रीय कारागारमा छन् ।
प्रतिक्रिया