सरकारलाई समर्थन गरेका ७ दलका नेताहरू आज बालुवाटारमा छलफलमा जुट्ने भएका छन् । प्रधानमन्त्रीसमेत रहेका नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सत्ता गठबन्धन बैठक आज दिउँसो बस्ने गरी बोलाउनु भएको छ ।यसअघि हिजो प्रचण्ड निवास खुमलटारमा सत्ता साझेदार दल, नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग प्रधानमन्त्री प्रचण्डले कुराकानी गर्नु भएको थियो ।
गत पुस १० गते ७ दलको समर्थन जुटाएर प्रचण्ड प्रधानमन्त्रीमा नियुक्त हुनु भएको थियो । पुस ११ मा प्रधानमन्त्री प्रचण्ड र ८ जना मन्त्रीले शपथ लिएका छन्। तीमध्ये ४ जना मन्त्रीलाई मन्त्रालयको जिम्मेवारीसमेत दिइएको छैन ।
माओवादी केन्द्र, एमाले, राष्ट्रिय स्वतन्त्र पार्टी, राप्रपा, जसपा, जनमत पार्टी, नागरिक उन्मुक्ति पार्टीले प्रचण्डलाई प्रधानमन्त्री बनाउन समर्थन गरेका थिए। यी दलहरूका शीर्ष नेता सहभागी हुने गरी आज गठबन्धन बैठक बस्दैछ।बैठकमा राष्ट्रपति, उपराष्ट्रपति, सभामुख, उपसभामुख, प्रदेश प्रमुखहरू, मुख्यमन्त्रीहरू, मन्त्रालयहरू कुन दलले के लिने र कति लिने भन्नेबारे छलफल गरेर भागबन्डा गर्ने तयारी छ । प्रदेशमा एमाले, माओवादी, जसपा, जनमत, नागरिक उन्मुक्ति पार्टीले मुख्यमन्त्रीमा दाबी गरिरहेका छन् ।
राष्ट्रपति र सभामुख नेकपा एमालेले लिने मौखिक सहमति भएको बताइएको छ। तर अन्य पद कुन दलले लिने भन्नेबारे छलफल भएका छैनन् । साथै प्रधानमन्त्री प्रचण्डले विश्वासको मत लिएपछि मात्रै मन्त्रिमण्डल विस्तारको तयारी गरेको प्रचण्ड निकट एक नेताले दाबी गर्नु भयो ।सरकारका न्युनतम साझा कार्यक्रम तय गरेर जाने विषयमा पनि आज गठबन्धन बैठकमा छलफल गरिने भएको छ । राप्रपालगायत दलहरूले सरकारले न्युनतम साझा कार्यक्रम ल्याउनुपर्ने र त्यहाँ आफूहरूका सर्त समावेश गरिनुपर्ने अडान राखिरहेका छन् ।
यसैबिच प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सरकारलाई समर्थन गर्न नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाललाई प्रस्ताव गर्नु भएको छ ।प्रधानमन्त्री प्रचण्डले अध्यक्ष नेपालसँग भेट गर्दै सरकारलाई समर्थन गर्न आग्रह गर्नु भएको हो ।
भेटमा प्रचण्डले गत पुस १० गते बालुवाटारबाट बाहिरिने क्रममा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको बालकोटस्थित निवासको छलफलमा माधव नेपाललाई नलैजानु आफ्नो गल्ती भएको समेत बताउनु भएको छ ।भेटमा पनि अध्यक्ष नेपालले बालकोट जाँदा आफूसँग छलफल नगरिएकोमा गुनासो गर्नु भएको छ ।
नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पहिलो कार्यकाल प्रधानमन्त्री दिन अस्वीकार गरेपछि नयाँ विकल्पका लागि एमाले अध्यक्ष ओलीसँग दुई जनाले सँगै छलफल गर्नुपर्ने प्रस्ताव प्रचण्ड आफैँले नेपाललाई गर्नु भएको थियो ।तर अन्तीम समयमा अध्यक्ष नेपाललाई नलगि प्रचण्डले एक्लै एमाले संग सहकार्य गरेकोमा उहाँले आपत्ति समेत जनाउनु भएको छ ।
उता एमालेका दोस्रो तहका नेताहरुले पनि निरन्तर पार्टि एकता र सरकारमा सहभागिताको बिषयमा अध्यक्ष नेपालसँग छलफल सुरु गरेका छन् ।नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालसँग पार्टी एकता गरी संसदमा सबैभन्दा ठूलो दल वनाउने एमाले अध्यक्ष केपि ओलिको भित्रि रणनीति देखिएको छ ।
प्रतिक्रिया