काठमाडौं – टिपरको ठक्करबाट एक बालिकाको मृत्यु भएपछि सप्तरीको रुपनी गाउँपालिकास्थित रुपनी चोक तनावग्रस्त बनेको छ । टिपरका ठक्करबाट सामान्य घाइते भएकी बालिकालाई टिपर चालकले टिपर ब्याक गरेर हत्या गरेको भन्दै आक्रोशित स्थानीयले प्रहरी कार्यालयमा तोडफोड गरेका छन् ।
रुपनी गाउँपालिका १ राजविराज–रुपनी सडक खण्डमा ना १ क ८५४२ नं को टिपरको ठक्करबाट विद्यालय जाँदै गरेकी स्थानीय १२ वर्षीया बालिका रीताकुमारी यादवको आज बिहान मृत्यु भएको थियो ।
तोडफोडबाट प्रहरी कार्यालयमा ढोकासहितका फर्निचर सामग्रीमा क्षति पुगेको प्रहरीले जनाएको छ । स्थानीय बासिन्दासहितको आक्रोशित भीडले पूर्व–पश्चिम सडकको रुपनी खण्डमा टायर बालेर प्रदर्शन गरिरहेको छ । प्रहरी कार्यालयमा भएको तोडफोड नियन्त्रण गर्न प्रहरीले आठ राउन्ड अश्रुग्यास र १० राउन्ड हवाई फायर गरेको छ ।
यता घटनालाई नियन्त्रणमा लिन र स्थिति साम्य बनाउन सदरमुकाम राजविराजस्थित जिल्ला प्रहरी कार्यालयबाट प्रहरी नायब उपरीक्षक नरेशकुमार सिंह नेतृत्वको टोली घटनास्थलमा परिचालन भएको सप्तरीका प्रमुख जिल्ला अधिकारी भुपेन्द्र थापाले जानकारी दिए । बालिकाको ज्यान लिने टिपर चालकमाथि कारबाही तथा क्षतिपूर्तिको माग राख्दै प्रदर्शन जारी राखेका छन् ।
प्रतिक्रिया