काठमाडौँ – बागमती प्रदेशमा पनि नयाँ सरकार गठनको प्रक्रिया तत्काल सुरू नहुने भएको छ ।
संघमा नयाँ सरकार गठनको स्पष्ट समीकरण बनेपछि मात्र बागमती प्रदेश सरकारको गठन प्रक्रिया सुरू हुने भएको हो । राष्ट्रपति विद्यादेवी भण्डारीले यहि पुस १० गतेभित्र संघीय सरकार गठनका लागि आह्वान गरेसँगै प्रदेश प्रमुख कार्यालय बागमती प्रदेशले त्यसपछि मात्र सरकार गठनको प्रक्रिया सुरू गर्ने तयारी गरेको हो ।
निर्वाचन आयोगले प्रदेश सभा निर्वाचनको अन्तिम परिणामसहितको प्रतिवेदन प्रदेश प्रमुख यादवचन्द्र शर्मालाई बुझाई सकेको छ । बागमती प्रदेशमा नयाँ सरकार गठनको बाटो खुल्ला भएपनि त्यसको प्रक्रिया भने एक साता पछिमात्र सुरू गरिने भएको छ । प्रदेश प्रमुख शर्माले सबैसँग परामर्शपछि मात्र सरकार गठनका लागि आह्वान गर्ने बताएका छन् ।
आयोगले प्रतिवेदन पेश गरेको ३५ दिनभित्र प्रदेश सरकार गठन गरिसक्नुपर्ने संवैधानिक व्यवस्था रहेको छ । उनले पहिलो संसद बैठकपछि सरकार गठनको प्रक्रियाले तीव्रता पाउने पनि बताए । सांसदहरुको शपथपछि मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले संसद आह्वानका लागि प्रदेश प्रमुखको कार्यालयमा पत्राचार गर्ने छ ।
त्यसपछि मत्र प्रदेशमा सरकार गठनको प्रक्रियाले तीव्रता पाउने भएको छ ।
प्रतिक्रिया