देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

आम निर्वाचन

‘गठबन्धन इमान्दार नबने भविष्य छैन’ 

देशान्तर

नेपाली कांग्रेस गण्डकी प्रदेशका सभापति शुक्रराज शर्माले गठबन्धनका दलहरू इमान्दार बनेमा मंसिर ४ को चुनावमा सहजै जित हात पार्न सकिने प्रष्ट पारेका छन् । चुनावको टिकट वितरणका बेला गठबन्धनका बीचमा समस्या देखिए पनि किन गठबन्धन गर्नु परेको हो भन्ने कुरामा सबै दलहरू एकमत भएकाले चुनावी माहोल तात्दै गएको पनि शर्माले बताए । देशान्तरकर्मी मुक्तिबाबु रेग्मीसँग सभापति शर्माले पोखरामै रहेको नेपाली कांग्रेस प्रदेश कार्यालयमा कुराकानी गर्दै अब मुलुकको अवस्था क्रमशः दुईदलीय व्यवस्थातर्फ उन्मुख हुन लागेको पनि बताए । अब देशको आवश्यकता भनेको प्रजातन्त्रवादी शक्ति र गैरप्रजातन्त्रवादी शक्ति नै भएकाले नेपाली कांग्रेसले प्रजातन्त्रवादी शक्तिको नेतृत्व गर्ने पनि बताए । देशलाई स्थिरता र विकासमा अघि बढाउनका लागि पनि अहिलेको गठबन्धनले जित निकाल्नै पर्ने आवश्यकता रहेको र इमान्दार भएर गठबन्धनमा आबद्ध दलका नेता तथा कार्यकर्ताहरूले मत दिएमा जित टाढा पनि नभएको प्रष्ट पारे । शर्मासँग गरिएको कुराकानीको सम्पादित अंश :

गण्डकी प्रदेशमा गठबन्धनको चुनावी तयारी कस्तो छ ?

हामी गठबन्धन गरेर चुनावी प्रतिस्पर्धामा उत्रिएका छौं । चुनावको टिकट वितरण गर्नेबेला गठबन्धनमा रहेका सबै दलमा सानोतिनो मतभेद रहेको यथार्थ हो । त्यतिबेला हामीले टिकट वितरणको बारेमा कुरा बुझाउन अलि सकेनौं । तर अहिले हामीले सबै कुरा ‘क्लियर’ गरेर अघि बढेका छौं । टिकट वितरणमा कांग्रेसले मात्रै होइन कि अरु पार्टीहरूले पनि स्थानीय यथार्थलाई नबुझेर वितरण गरेको कुरा आभास धेरैलाई भएकाले गठबन्धनका बारेमा टीकाटिप्पणी उठेको हो । अहिले कुन कारणले गठबन्धन गरेर चुनावमा जानु परेको हो भन्ने कुराहरू बुझाउन हामी सफल भएकाले अहिले माहोल राम्रो बन्दै गएको छ ।

गठबन्धन गर्नुको कारण बुझाइयो भन्ने कि, आफू एडजस्ट भइयो त्यसकारण विवाद मत्थर भयो भन्ने ?
आफू एडजस्ट भएर होइन ।  प्रजातन्त्रलाई बलियो बनाएर देशको विकासको गति अघि बढाउने राष्ट्रको आवश्यकता हो । राष्ट्रको आवश्यकतालाई हेरेर पार्टीहरूले त्यही नीति बनाउने हो । हामीले प्रजातन्त्र ल्याएको धेरै वर्ष भइसक्दा पनि प्रजातन्त्रको आधार बनाएर विकासको गति अघि बढाउन सकेनौं । यस पटकको निर्वाचन (मंसिर ४) पछि देशलाई विकासको गतिमा बदल्न सकेनौं भने प्रजातन्त्रलाई पनि बचाउन सकिँदैन भन्ने सबैलाई बोध पनि भएको छ । त्यसकारण प्रजातन्त्रको आधार बनाउनका लागि कांग्रेसको अगुवाइमा सरकार बन्नुपर्ने हामी सबै गठबन्धनमा आबद्ध दलहरूलाई भयो । अहिले पनि उहाँहरूले आफूलाई कम्युनिस्ट भने पनि उहाँहरू कांग्रेसको प्रजातान्त्रिक धारमा आइसकेको हुनाले उहाँहरू ढिलोचाँडो सुधारिनु पर्छ । अब देशमा दुई पार्टी सिस्टम आवश्यक जस्तो देखिएको छ । एउटा प्रजातान्त्रिक शक्ति अर्को गैरप्रजातान्त्रिक शक्ति ।  त्यसैले अहिलेको हाम्रो गठबन्धन त्यसैको पहिलो लक्ष्यको रूपमा रहेको मैले बुझेको छु । नेपाली कांग्रेस प्रजातन्त्रवादी शक्ति भएको हुनाले हाम्रो अगुवाइमा गठबन्धनमा सामेल दलहरू भोलि प्रजातन्त्रवादी बन्न तयार हुनुपर्छ ।

गठबन्धनभित्रको मतभेद सकिएको हो ?
हामी प्रजातन्त्रमा विश्वास गर्ने शक्ति भएकाले प्रजातन्त्रमा मतभेदहरू त सधैं रहिरहन्छ नि । ती मतभेदको अपार सम्भावना पनि प्रजातन्त्रभित्रै हुन्छ  । एउटै पार्टी भए पनि मतभेद त रहिरहन्छ, अझ गठबन्धन भनेपछि त सकिने कुरा भएन । जति मतभेद हुन्छ त्यति धेरै नयाँनयाँ विचारहरू आउँछन् ।  त्यसैले मतभेदलाई समाधान गरेर अघि बढ्ने शक्ति पनि प्रजातन्त्रमै हुन्छ । मतभेद सकिएको नभई त्यसलाई सकारात्मक रूपमा प्रयोग गरेर अघि बढ्ने वातावरण बनेको हो ।

हचुवाका भरमा सिट बाँटफाँट भयो, निष्कर्ष यही हो ?
तपाईंमार्फत म प्रष्ट पार्न चाहन्छु । संगठनको स्थानीय आधारलाई हेरेर त्यहाँको यथार्थतालाई बुझेर कुन पार्टीका तर्फबाट कसलाई उम्मेदवार बनाउँदा हाम्रो पक्षमा परिणाम ल्याउन सकिन्छ भन्ने बारेमा अलिकति अध्ययन गरेर टिकट वितरण गर्ने वातावरण बनेको भए, अहिले आइरहेको गुनासो धेरै कम हुने थियो । आउँदै आउने थिएन भन्ने चाहिँ होइन ।

तर, गठबन्धन कति इमान्दार बन्छ भन्ने प्रश्न हो नि अहिले ?
गठबन्धन इमान्दार भएन भने कसैको भविष्य छैन ।

स्थानीय तहमा देख्यौं त हामीले ?
तपाईंले ठीक कुरा उठाउनुभयो । स्थानीय तहको गठबन्धन केन्द्रबाट गरियो । तर कार्यान्वयन गर्ने त्यस्तो किसिमको संरचना नै तयार भएन । सिद्धान्ततः गठबन्धन त गरियो, कार्यान्वयन गर्ने कुरामा हामीले ध्यान दिन सकेनौं । त्यसको मार हामीले कास्की (पोखरा महानगरपालिका)मा पनि व्यहो¥यौं । हामीले एउटा उपाध्यक्ष वा वडाध्यक्ष दिन सकेको भए हामीले कास्कीमा समन्वय समिति बनाउन सक्थ्यौं । हामीले २४ वटा वडा जित्दाखेरि नगरपालिकामा अल्पमतमा छौं । अहिले उम्मेदवार हुनु भएका जिल्ला सभापतिले पटकपटक विज्ञप्ति जारी गरेर गठबन्धनका विपक्षमा कुराहरू राख्नुभयो त्यसले पनि अप्ठेरो प¥यो । अहिले उहाँ गठबन्धनको उम्मेदवार बनेपछि उहाँ गठबन्धनको पक्षमा लाग्नु भएको छ ।

अहिलेको गठबन्धन पनि त केन्द्रमै बनेको हो नि ?
हो, अहिलेको गठबन्धन पनि केन्द्रबाट बनेको हो । हामीले गण्डकी प्रदेशबाट पार्टी चलाइरहेका छौं, यहाँ कुन ठाउँमा के आवश्यक हो भन्ने कुरा राम्रोसँग थाहा छ ।  हाम्रो परामर्श लिएर गठबन्धन गरिदिएको भए धेरै हदसम्म अहिलेको भन्दा राम्रोसँग वातावरण बन्ने थियो । अब गठबन्धन यस्तो उस्तो भन्नु भन्दा पनि सबै साथीहरू गठबन्धनको पक्षमा हुनुहुन्छ, चुनावी तयारी अघि बढी सकेको छ । प्रचारप्रसारका लागि चुनावी कार्यालयहरू खुलिसकेका छन् । हामी इमान्दार भएर गठबन्धनका उम्मेदवारलाई जिताउन लागि पर्छौं । प्रजातन्त्रको संस्थागत विकास गर्ने र विकासमार्फत जनताको जीवनस्तर माथि उठाउने हाम्रो अभियान र लक्ष्य हो । हामी हाम्रो लक्ष्यमा स्पष्ट भएर लागिसकेका छौं ।

स्थानीय तह र अहिलेकोमा के फरक छ ?
धेरै फरक छ । स्थानीय तहको निर्वाचनमा पनि हामीले गठबन्धन गरेका थियौं । गठबन्धन गरेर उम्मेदवारी दिँदा पनि त्यतिबेला उम्मेदवार नभएका पार्टीहरूको पनि चुनाव चिह्न थियो, त्यसले गर्दा मत धेरै नै बदर भयो । तर अहिले उम्मेदवार नभएको ठाउँमा चुनाव चिह्न पनि नहुँदा विगतको भन्दा राम्रो नतिजा आउँछ ।

अनि बागी विद्रोहीलाई के गर्ने ?
हाम्रो गण्डकी प्रदेशमा नेपाली कांग्रेसबाट धेरै साथीहरूले विद्रोही उम्मेदवारी दर्ता गर्नुभएको थियो । धेरैले फिर्ता पनि गरिसक्नु भएको छ । यो संख्या अहिले एकदमै कम छ । थोरै बचेका साथीहरूलाई पनि पार्टीले पहल गरिरहेकाले उहाँहरूले आफ्नो उम्मेदवारी निष्क्रिय पार्नुहुन्छ भन्ने विश्वास हामीले लिएका छौं । कसैले पनि आफ्नो इतिहास समाप्त पार्न चाहँदैन । विद्रोही उम्मेदवारी दर्ता गर्ने साथीहरूले पब्लिक र पार्टी दुवैको ध्यानाकर्षण गराउनुभयो । अब उहाँहरूले उम्मेदवारी कायमै रहँदा परिणामविपरीत आउने भएकाले परिणामविपरीत आउँदा कसैको पनि भविष्य नहुने भएकाले उहाँहरूले उम्मेदवारी फिर्ता लिएर सघाउनुहुन्छ भन्ने विश्वास हामीले लिएका छौं ।

गण्डकी प्रदेशमा गठबन्धनको अवस्था के हो ?
हामी अहिले कास्कीमा बसेर कुरा गरिरहेका छौं । यहाँबाट हेर्दा गठबन्धनको अवस्था तथ्यभन्दा टाढा छ । गोर्खा, बागलुङमा धेरै राम्रो अवस्था छ । म्याग्दीमा हाम्रो बिग्रिएको छ ।  त्यहाँको तथ्यलाई नबुझ्दा कमजोर बनेको हो । पर्वतमा संघ राम्रो अवस्थामा छ । तर प्रदेश बाँडफाँटमा अहिले नमिलेको अनुभव भएको छ । प्रदेश क हाम्रो राम्रो क्षेत्र भए पनि माओवादीले पाएको छ । स्याङ्जामा पनि राम्रो छ । २ संघ र ३ वटा प्रदेश हाम्रा छन् । तनहुँमा २ वटा प्रदेश माओवादीलाई छ । तर समाजवादीवालाहरूले सबै ठाउँमा उम्मेदवारी दिएर अलि अप्ठेरो परेको छ । लमजुङमा संघ माओवादी र प्रदेश दुवै कांग्रेसलाई परेको छ । त्यहाँ पनि गठबन्धनको अवस्था राम्रो छ । परासीमा थोरै समस्या छ ।  कास्कीमा कांग्रेस, माओवादी र एकीकृत समाजवादीलाई बराबर गर्ने अवस्था थिएन । ३ मध्ये २ वटा संघमा कांग्रेसले उम्मेदवारी दिनुपर्ने थियो । हामीले अन्तिम समयसम्म दावी ग¥यौं । क्षेत्र नम्बर १ र ३ मा कांग्रेसको अन्तिम समयसम्म दाबी रह्यो । संघ हामीले लिँदा प्रदेश व्यवस्थापन गर्नुपर्छ भनेका थियौं । एउटा संघ गठबन्धनलाई दिनुपर्छ र यसले गठबन्धनको सम्मान पनि हुन्छ भनेका थियौं । संघ र प्रदेश दुवै माओवादीलाई दिँदा  हामीलाई यहाँ अप्ठेरो परिरहेको छ । त्यहाँ संघ माओवादी र प्रदेश समाजवादीलाई दिँदा त्यो क्षेत्रमा हाम्रो उम्मेदवार नै छैन । त्यसले गर्दा नेपाली कांग्रेसका मतदातालाई समाजवादीको चुनाव चिह्नमा मत हाल्न लगाउन धेरै मेहनत गर्नुपर्ने अवस्था छ ।

गण्डकी प्रदेशमा गठबन्धनले कति सिट जित्छ भन्ने आकलन गर्नुभएको छ ?
गण्डकीमा गठबन्धनको प्रष्ट बहुमत आउँछ ।

तर कांग्रेसीहरू नै इमान्दार हुँदैनन् भन्ने पनि छ ?
कांग्रेसीहरू इमान्दार बन्दैनन् भन्ने कुरा कता कति त हो । तर अहिलेको अवस्था हेरेर सवै इमान्दार भएर अघि बढ्छन् भन्नेमा हामी विश्वस्त छौं । हामीले उम्मेदवारी दिएका अधिकांश ठाउँमा जित हात पार्छौं ।

सँगसँगै कांग्रेसमा गुटको फ्याक्टर पनि त छ ? 
नेपाली कांग्रेसमा गुट, उपगुट भन्ने कुरा सार्वजनिक भइसकेको कुरा हो । गण्डकीमा हामीले गुट, उपगुटको प्रभावभन्दा पनि जसको जहाँ आवश्यकता हो त्यसलाई प्रस्तुत गर्ने प्रयास हामीले गरेका छौं । कांग्रेसको मान्छेलाई जसको जहाँ प्रभाव र आवश्यकता छ, जसले चुनाव जित्न सक्ने अवस्था छ, त्यसका आधारमा हामीले त्यसलाई टिकट दिएका छौं । गुटको प्रभावभन्दा पनि जित्ने उम्मेदवारलाई टिकट दिइएकाले त्यस्तो असर गर्दैन । म कांग्रेस हुँ मेरो कुनै गुट छैन ।


तपाईं गण्डकी प्रदेशको भावी मुख्यमन्त्री हो ?
सुन्नुहोस् न । प्रक्रियागतरूपमा नेपाली कांग्रेसको भागमा आएको खण्डमा मुख्यमन्त्री पद इन्कार गर्ने कुरै आएन । म त्यसलाई सहर्ष स्वीकार गर्छु । म अहिले नै भावी मुख्यमन्त्रीको हिसाबले काम गरेको छैन । म अहिले आगामी दिनमा पनि नेपाली कांग्रेसको सरकार बनाउने गरी पहल गरिरहेको छु । त्यो भनेको मेरो अहिलेको मुख्य ध्यान कसरी गण्डकी प्रदेशमा गठबन्धनलाई धेरै भन्दा धेरै ठाउँमा जिताउने र त्यसपछि गण्डकीमा सरकार बनाउने कुरा नै हो । म गण्डकी प्रदेशको पार्टी सभापति हुँ । बहुमत दिलाएर कांग्रेसको सरकार बनाउने नै अहिलेको मुख्य लक्ष्य हो ।

तपाईं सेफ हुनलाई समानुपातिकमा बस्नु भयो, प्रत्यक्ष चुनाव लड्न डराउनु भयो ?

यस्तो होइन ।  मैले संसदीय चुनाव जितेको छैन । यो सत्य हो । तर म २०४८ सालदेखि पार्टीको राजनीतिमा सधैं क्रियाशील रहेको छु । नेपाली कांग्रेसबाट सबैभन्दा बलियो उम्मेदवार नै म हुँ । म चुनाव लड्दा लोकप्रिय नभएर होइन कि पार्टीकै साथीहरूको असहयोगका कारण चुनाव हारेको छु ।  शुक्रराजले चुनाव जितेर गयो भने आगामी दिनमा यससँग प्रतिस्पर्धा गर्न सकिन्न भन्नेहरूले नै असहयोग गरेका हुन् । त्यसैले मैले प्रदेश कार्यालय स्थापना हुँदाको बखत चुनाव लड्दिन भनेर घोषणा नै गरेको हुँ । किनभने म चुनाव लड्न जाँदा मलाई हराउनका लागि साथीहरूले धेरै नै मेहनत गर्नुहुन्छ । अब म नै उम्मेदवार नभएपछि साथीहरूले पनि मलाई हराउन मेहनत गर्नु पर्दैन र त्यो मेहनत पार्टीका अरू साथीहरूलाई जिताउन गर्नुभयो भने त्यसले कांग्रेसलाई नै फाइदा पुग्छ ।   समानुपातिकमा मैलेभन्दा पनि मेरा साथीहरूले मलाई सम्मान गरेर पठाउनु भएको हो ।

जसरी तल्लो तहबाट नाम आयो त्यसैगरी मैले केन्द्रमा पठाएको हुँ । केन्द्रमा पठाएपछि के भयो भने, मेरो नाम दोस्रो या तेस्रोमा राख्ने भनेर जालझेल भयो । त्यो विषयमा मैले केन्द्रीय सभापति शेरबहादुर देउवासँग भेटेर कुरा गरेको हुँ । त्यहाँ मैले देउवालाई भने केन्द्रमा सभापति तपाईं हो, त्योभन्दा माथि कोही छैन । प्रदेशमा चुनाव लड्दा सभापतिको नाताले मभन्दा माथि कोही छैन भनेर भनेको हुँ । मलाई दोस्रो तेस्रोमा राख्ने षड्यन्त्र भएकाले भन्न आएको भन्दा देउवाले त्यस्तो हुँदैन र तपाईं नै पहिलो नम्बरमा भनेर भन्नुभयो र त्यसैअनुसार समानुपातिकको लिस्ट पनि निर्वाचन आयोगमा बुझाइएको छ ।